भनिन्छ, इन्द्रेणीमा सातवटा रंगहरू हुन्छन् । तर जीवनमा भने अनगिन्ती रंगहरू हुन्छन् । एउटै रंगका पनि विभिन्न भेदहरू हुन्छन् । ती भेदहरूलाई छुट्याउन सक्नेले नै जीवनको वास्तविक अर्थ बुझ्नसक्छ । जीवनलाई कति बुझ्न सकियो थाह छैन, तर जीवनका तीतामीठा भोगाईहरूलाई समेटेर ब्लग बनाउने जमर्को गरियो ।
सामाजिक सञ्जालमा सन् २००८ देखि सक्रिय छु । “हल्का रमाइलो”का लागि लेखिने सामाग्रीहरू साथीभाइहरूले औधि मन पराउन थालेपछि आफ्नै ब्लग सुरु गर्ने हौसला मिलेको हो । मैले दैनिक जीवनमा भोगेका अनुभवहरूलाई यस ब्लगमा रोचक अनि रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
धेरैजसो अनुभवहरू मेरै भएता पनि पाठकहरूले लेख पढ्दापढ्दै आफ्नै जीवनसँग पनि मेल खाएको महशुस गर्न सक्नुहोला । प्रत्येक व्यक्तिको जीवन फरक फरक हुन्छन् । तथापी, कुनै कुनै जीवनका रंगहरू एक व्यक्तिको अर्कोसँग मेल खान्छन् । संयोग मात्रै त हैन हो । आउनुस्, जीवनका विभिन्न रंगहरूलाई एक पटक नियालेर हेरौँ ।
