राशिफल

4 years ago
गफाडी गाइड

आज विहान उठ्दा आकाशमा केही बादल लागेको भएतापनि चङ्गा नै थियो । दिउँसो पानी पर्ला तर सबेरै परिहाल्ला जस्तो लागेको थिएन । त्यसैले रेनकोट बोक्ने झन्झट गरिएन । घरकै पसलमा खत्र्याक् खुत्रुक सामान ल्याउनु थियो । रेनकोट नबोकी कालीमाटी तिर लागियो ।

कालिमाटीमा सामान स्कुटरमा लोड गर्न झ्याप्प उठाउन मात्रै के खोजेको थिएँ, ढाड सट्याक्क सड्कियो । सामान जसोतसो लोड गरेर अघि बढियो । केही पर पुगेसी ह्वारारा पानी पर्यो । त्यतिसम्म त सहिन्थ्यो नै होला । तर नियतिलाई मदेखि अझै चित्त बुझेको थिएन रहेछ। एकछिन पछि स्कुटरको पछाडिको ट्युबलेस पाङ्ग्रा नि घच्याक्क बस्यो । बिहानको त्यस्तै ६ बज्दै थियो ।

सामानलाई अर्को गाडीमा हालेर घर पठाउने व्यवस्था त गरियो तर वर्षा, सड्केको ढाड र स्कुटरको समस्या जिउँकात्युइँ थियो । त्यहि बेला पिसाब च्यापेर फुट्ला जस्तो भा’को थियो । ए आपत! …

कालिमाटी तरकारी बजारको गनाउने ट्वाइलेटमा सु गरेको १० रुप्पे तिरेर वर्षामा रुज्दै एउटा हातले ढाड र अर्को हातले स्कुटरको ह्यान्डल समात्दै वर्कसपको खोजी गरियो । बल्लतल्ल टंकेश्वरमा एउटा वर्कसप खुलेकोरैछ । वर्कसपमा पुगेर हावा हाल्देउन भाइ भनेँ ।

यसो हेरेर मेकानिक भाइले ट्युबलेस टाएरको ल्युब सबै सकिएकोले हावा हाल्न नमिल्ने बरु टायर नै फेर्नु पर्ने बतायो । यताउति गरेर ३००० रुप्पेको इस्टिमेट आयो । गोजीमा चानचुन पैसा सबै जोड्दा पाँच-छ सय रुप्पे रैछ । “लु न त बनाईराख न त” भनेर स्कुटी छोडेर एटीएमबाट पैसो झिक्न कालिमाटी तिर फेरि लागियो । झरिमा रुझ्दै र एउटो हातले ढाड समाउँद‌ै ।

पैसो झिकेर आउँदा मेकानिक भाइले पाङ्ग्रा फेर्दै होला भनेको त रेन्ची हरायो भनेर दुखेसो गर्दै पो थियो । बिहान देखि यत्तिकै अलक्षिन लाग्या बेला उल्टै उसको दुःखपिडाको कहानी सुन्न परो ।

राशिफलमा खासै विश्वास त लाग्दैन थियो तर स्कुटर बनेपछि घर आएर एक राउन्ड आजको राशि चेक गर्न मन लाग्यो । हाम्रो पात्रोको राशिमा यस्तो लेखेको थियो –

“आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । … “

कथा राशिफल