“सिस्टर, यो कहाँ देखाउने हो?”

2 years ago
गफाडी गाइड

आरसिटी गरेको दाँतमा क्राउन राख्न रेगुलर फलोअपमा म वीर अस्पताल गएको थिएँ । पढ्दै, सिक्दै, काम गर्दै गरेकी भर्खरकी महिला डाक्टरको सुरुदेखि नै म पेसेन्ट थिएँ । अक्सर सरकारी अस्पतालका डाक्टरहरू रुखा हुन्छन् भन्ने मान्यतालाई चुनौती दिँदै उनी निकै फरासिली र हँसिली लाग्थ्यो मलाई ।

मेरो दाँतको लेबल मिलाउँदै गरेको अवस्थामा एउटा महिला पेसेन्ट अकस्मात् आएर उनको अगाडी कागज तेर्स्याउँदै सोधिन्, “सिस्टर, यो कहाँ देखाउने हो?”

उनको चन्द्रमा जस्तो त्यो हँसिलो स्वभावमा एकछिन ग्रहण लागेको जस्तो भयो । झर्केको जस्तो गरेर अर्को वार्डतिर इसारा गरिन् । मैले सोचेँ, सायद मेरो दाँतबाट ध्यान भंग गरेकीले त्यस्ती फरासिली डाक्टर पनि तिनीसँग रुखो भएकी हुन् कि भन्ने लाग्यो । तर होइन रहेछ ।

मेरो दाँततिरै डेन्टल इक्वीप्मेन्ट चलाउँदै उनी गन्गनाउन थालिन्, “खै ! कति पटक भन्नु यि पेसेन्टहरूलाई नि, म ‘सिस्टर’ हैन भनेर…।” कुरो गम्भीर रहेछ । उनले थप्दै गइन्, “केटा मान्छेलाई चाहीँ सामान्य टेक्निसियन मात्रै भए पनि ‘डाक्टरसाब’ भन्छन् । हामी महिला डाक्टरले चाहीँ नर्सलाई जस्तो ‘सिस्टर’ भनेको सुन्नुपर्छ …।”

विभेद सबैतिर छ । यो पनि मानसिकताको लेबलमा थाहै नपाई हुने विभेद हो । धन्न मैले चैँ सुरुदेखि नै ‘डक्टर’ भनेर सम्बोधन गरेछु । त्यसैले मुसुक्क हाँसिरहने मान्छेले नै राखिदिएको नयाँ दाँत टल्काउँदै घर आउन पाएँ ।

स्वास्थ्य डाक्टर अनुभव