महाप्रलय

4 years ago
गफाडी गाइड

पान्डोराले बाकस खोलेपछि पृथ्वीभरी महामारी, भोकमरी, युद्ध, धृणा, पाप लगायत सबै नराम्रा विगतिहरू निस्किएर पृथ्वीभरि अधर्म फैलिएकोले सबैतिर त्राहित्राही मच्चिएको थियो। देवताहरूलाई भोग लगाउने, पुजा गर्ने काम मनुष्यबाट हुन छोडिसकेको थियो । यो सबको कारक देवेन्द्र आफै थिए तर मनुष्यले गरेको कुकर्मको दण्ड दिएरै छोड्ने निश्चय उनले गरे। मानव सभ्यता पुरै स्खलित भएको निष्कर्श निकाल्दै स्वर्गका सबै देवताहरूसँग छलफल गरी सबै मानव जातीको अन्त्य गर्ने निधो गरे। सुरूमा उनी आफ्नो शक्तिशाली बज्र प्रहार गर्ने सोचमा थिए । तर बज्रबाट निस्किने चट्याङ्ले मानव जाती मात्रै हैन पृथ्वी नै ध्वस्त हुने सम्भावना थियो । तसर्थ, मानव जातीको विनास गर्न पृथ्वीमा बाढीको महाप्रलय ल्याउने टुङ्गोमा पुगे। यस कार्यमा सहयोग गर्न समुद्रदेव पनि राजी भए।

उता ककस पर्वतमा बन्दि भएका मातरिश्वनलाई पनि पृथ्वीमा देवेन्द्रले ल्याउन खोजेको महाप्रलयबारे थाह भयो। उनका पुत्र सत्यव्रत उनी जस्तै निश्चछल र न्यायप्रेमी थिए । पान्डोरा र अपिमथकी पुत्री श्रद्धासँग विवाह गरेर इमान्दारीको जीवन व्यतित गर्दथे । बन्दी पितालाई भेट्न गएका बेला मातरिश्वनले मनुष्यले आफ्नो कर्म बिर्सेका कारण देवताहरू रिसाएका र महाप्रलयले सबै मानव जातीलाई पखाल्न लागेको कुरा बताए । यसबाट बच्न एउटा ठूलो र बलियो डुङ्गा बनाउनु र प्रलयको लागि तयार हुनु भनि मातरिश्वनबाट सत्यव्रतलाई आज्ञा भयो ।

घर फर्केर सत्यव्रतले पत्नी श्रद्धालाई पिताले भनेका कुराहरू सुनाए । ढिलो नगरी दुवै मिलेर एउटा बलियो डुङ्गा बनाए । श्रद्धाले प्रशस्त अन्नको जोहो गरिन् अनि दुवै मिलेर प्रलय हुने दिनको प्रतिक्षामा बसे।

महाप्रलय हुने दिन सबैतिर मुर्दाशान्ति छाएको थियो । हावाको एक झोक्का पनि महसुस भएको थिएन । प्रलय हुने कुनै संकेत पनि थिएन । एक्कासी हावाहुरी चल्यो, मेघगर्जन सहित भारी वर्षा भयो । सत्यव्रत र श्रद्धा ढिलो नगरी डुङ्गामा बसे । समुद्रदेवले पनि आफ्नो सिमा नाघेर एकैछिनमा पृथ्वी जलमग्न भयो, किनार बिनाको समुद्र जस्तै । महाप्रलयले सबै चिज बगाउन र डुबाउन थाल्यो। मनुष्य मात्रै हैन जीवजन्तुहरूको पनि भागाभाग भयो । विशाल पर्वतहरू पनि पानीमुनि देखिन थालेपछि चराचुरुङ्गीहरू उड्दा उड्दा बस्ने ठाउँसम्म नपाएर पानीमै डुब्न थाले । यता सत्यव्रतको डुङ्गा भने पानीमा तैरिरहेको थियो।

देवेन्द्रले मानव जातीको अन्त्यका लागि मच्चाएको महाप्रलय चित्रकारः Johann Heinrich Schönfeld (1609 -1684)
देवेन्द्रले मानव जातीको अन्त्यका लागि मच्चाएको महाप्रलय
चित्रकारः Johann Heinrich Schönfeld (1609 -1684)
महाप्रलयबाट बचेका सत्यव्रत र श्रद्धा चित्रकारः Luigi Ademollo (1764 – 1849)
महाप्रलयबाट बचेका सत्यव्रत र श्रद्धा
चित्रकारः Luigi Ademollo (1764 – 1849)

 

लगातार नौ दिन नौ रातसम्म पानी पारेपछि देवेन्द्रले वर्षा रोके । समुद्रदेव पनि आफ्नो यथास्थानमा फर्केपछि जमिन देखिन थाल्यो । सत्यव्रतको डुङ्गा पारनस् पर्वतको शिखरमा पुगेर रोकियो । त्यहाँ उभिएर उनीहरूले पृथ्वीमा भएको प्रलयबाट उत्पन्न कारुणिक दृष्यहरू हेरिरहे । पृथ्वीमा अरू कोहि बाँचेका थिएनन्, सत्यव्रत र श्रद्धा मात्रै जीवित थिए । सबै मनुष्य हुँदा कोलाहल मच्चाएर बाँच्न कठिन थियो । अब कोहि नहुँदा एक्लै बाँच्न झन् कठिन हुने भयो । यस्तो जीवन पनि के बाँच्नु, बरू आफुहरू पनि मेरेकै ठीक थियो भनेर दुवैजना रून थाले । विश्मयकै बेला हो मनुष्यलाई ईश्वरको सम्झना आउने । दुवैले रूँदैरूँदै देवेन्द्रलाई आफुसँग भएको अन्नको भोग लगाई स्तुति गाउन थाले ।

भोग र स्तुतिबाट देवेन्द्र प्रशन्न भएपछि उनले आफ्नो दुत पठाई सत्यव्रत दम्पत्तीको के इच्छा छ भनि सोध्न लगाए । सत्यव्रतले मानव सभ्यता पुनर्स्थापना गरिदिन आग्रह गरे। त्यसका लागि आमाको हड्डी टाउको माथिबाट पछाडी फाल्नु भन्ने पहेली सुनाएर देवेन्द्रका दुत अन्तर्ध्यान भए । सत्यव्रतले पहेली सुल्झ्याउने प्रयत्न गरे । निकै बेर सोचे पछि सबैका आमा भनेका पृथ्वी नै हुन् र पक्कै चट्टान उनको हड्डि हुनुपर्छ भनेर एक टुक्रा ढुङ्गा टाउको माथिबाट पछाडी फाले। उनले फालेको ढुङ्गा तल खस्दा एउटा पुरूष बालकमा रूपान्तरण भयो। उनले पत्नी श्रद्धालाई पनि त्यसैगरी ढुङ्गा फाल्न लगाइन्। श्रद्धाले फालेको ढुङ्गा स्त्री बालिकामा रूपान्तरण भयो । दुवैजनाले त्यसरी नै ढुङ्गा फाल्न थाले जसबाट नयाँ मानव समाजको पुनर्स्थापना भयो।

प्रलयपछि सत्यव्रत र श्रद्धाले मानव सभ्यताको पुनःस्थापना गरे
प्रलयपछि सत्यव्रत र श्रद्धाले मानव सभ्यताको पुनःस्थापना गरे,
चित्रकारः Giolfino, Niccolò, 1476-1555

त्यसैगरी, पानी परेर सुकेको ओसिलो माटोमा सूर्यका किरणहरू परेपछि पृथ्वीले पनि नयाँ नयाँ जीवहरू गर्भधारण गरिन् । ती जीवहरू केहि आधिउधी पहिलेकै जस्ता थिए त केही भने नयाँ थिए । यसरी महाप्रलय पछि पृथ्वीमा जीवन फेरी फर्केर आयो ।

मिथक पात्रहरूको परिचय

ग्रीक नाम नेपाली नाम परिचय
Zeus देवेन्द्र स्वर्गको राजा
Poseidon समुद्रदेव देवेन्द्रका माहिला दाजु र समुद्रको राजा
Prometheus मातरिश्वन स्वर्गबाट अग्नी चोरेर मानवलाई दिएका देवता जसलाई देवेन्द्रले कठोर सजाय दिएका थिए ।
Epimethus अपिमथ मातरिश्वनका भाइ
Pandora पान्डोरा देवेन्द्रले सिर्जना गर्न लगाएकी पहिलो स्त्री मनुष्य, अपिमथकी पत्नी
Deucalion सत्यव्रत मातरिश्वनका पुत्र, देवेन्द्रले धर्तीमा ल्याएको जलप्रलयमा बाँच्न सफल मानव
Pyrrha श्रद्धा सत्यव्रतकी पत्नी, पान्डोरा र अपिमथकी पुत्री
Hermes देवेन्द्रका दुत देवेन्द्रको सन्देशवाहक

 

बाढी प्रलय इन्द्र