महाप्रलय पछि सत्यव्रत र श्रद्धाले पृथ्वीमा मानव सभ्यताको पुनर्स्थापना गरे । ढुङ्गाबाट सिर्जना भएका नयाँ मानवहरू ग्रीस र आसपासका विभिन्न स्थानहरूमा गएर बसोबास गर्न थाले । यसका अलावा श्रद्धाले दुई सुकुमार बालकहरूको जन्म दिइन् हेलन र प्रतिवेश । हेलनले ग्रीसको प्रसिद्ध हेलनस् वंशको विस्तार गरे भने प्रतिवेश कालान्तरमा एथेन्सका सम्राट भए ।
एथेन्स राज्यको नाम कसरी रहन गयो भन्ने विषयमा पनि एउटा मिथक रहेको छ। एथेन्स नाम रहनुभन्दा धेरै अघि त्यहाँ अर्ध-मानव-अर्ध-सर्पले राज्य गर्थे।धर्तीको त्यो सुन्दर टुक्रामा देवताहरूको पनि आँखा गड्यो । केहि देवताहरूले उक्त राज्यको संरक्षक हुने र आफ्नो नामबाट राज्यको नामाकरण गर्ने इच्छा प्रकट गरे । त्यसमध्ये देवेन्द्र पुत्री दुर्गा (ग्रीक नामः एथेना) र समुद्रदेव (ग्रीक नामः पोसेइडन)को टक्कर पर्यो । टक्करले विस्तारै तनावको रूप लिने देखेपछि देवेन्द्रले उपाय निकाले । दुवै जनाले त्यस शहरलाई एउटा-एउटा उपहार दिने र जुन उपहारलाई त्यहाँका जनताले बढी मन पराउँछन् त्यहि नै शहरको संरक्षक बन्ने कुरो तय भयो ।
सुरूमा उपहार दिने पालो समुद्रदेवको आयो । उनले आफ्नो शक्तिशाली त्रिशुलले चट्टानी भुइँमा छेडे जहाँबाट पानीको फोहोरा निस्कियो।उक्त पानीको फोहोरा नै त्यहाँको जनताका लागि उनको उपहार थियो ताकि त्यहाँ खडेरीको समयमा पानीको अभाव नहोस्। तर उक्त फोहोराको पानी समुद्रको जस्तै नुनिलो भएकाले जनताहरूले खासै मन पराएनन्।
त्यसपछि उपहार दिने पालो दुर्गाको आयो । उनले त्यहाँको माटो खनेर एउटा बीउ रोपिन् । बीउबाट जैतुनको सुन्दर रूख उम्रियो । जैतुनको रूखबाट फल, तेल र दाउरा प्रयोग गर्न मिल्ने भएकाले त्यहाँका जनताहरूले उक्त उपहारलाई औधी मन पराए । सबैले एकै स्वरमा दुर्गालाई संरक्षकको रूपमा स्वीकार गरे। दुर्गाको ग्रीक नाम एथेनाबाट शहरको नाम एथेन्स रहन गयो । आज एथेन्स ग्रीसको राजधानीको रूपमा र जैतुन (अलिभ)को लागि निकै प्रसिद्ध छ । तर समुद्रदेवको उपहार मन नपराएकाले होला आज पनि ग्रीष्मकालमा एथेन्समा खडेरी परिरहन्छ ।

एथेन्सका अलावा देवता एवं मनुष्यका विभिन्न वंशहरू ग्रीस र आसपासका क्षेत्रमा बसोबास गरी कोरिन्थ, स्पार्टा, थेबेस लगायतका शहरहरू निर्माण गरेर छुट्टाछुट्टै शासनसत्ता चलाउन थाले । कोरिन्थ राज्यका संस्थापक हेलनका एक नाति शिशुपाल थिए भने देवेन्द्रका अर्का नातिले पनि आफ्नी श्रीमतीको नामबाट स्पार्टा शहरको नामाकरण गरेका थिए । त्यसैगरी समुद्रदेवका नाति कादमसले पनि मध्ये ग्रीसमा थेबेस शहर बसाएका थिए । यि शहरहरूका आ-आफ्नै विशेषता थिए । केहि व्यापारिक केन्द्र थिए त केहि सैन्य शक्तिको केन्द्रविन्दु थिए । राज्य-राज्य र शहर-शहरवीच कसले धेरै प्रगति गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुँदा मानवसभ्यता उन्नतीको पथमा अघि बढ्न थाल्यो ।
मिथक पात्रहरूको परिचय
| ग्रीक नाम | नेपाली नाम | परिचय |
| Zeus | देवेन्द्र | कश्यप र अदितीका कान्छा पुत्र, स्वर्गको राजा |
| Poseidon | समुद्रदेव | देवेन्द्रका माहिला दाजु र समुद्रको राजा |
| Athena | दुर्गा | देवेन्द्रकी पुत्री, ज्ञान र रक्षाकी देवी |
| Deucalion | सत्यव्रत | मातरिश्वनका पुत्र, देवेन्द्रले धर्तीमा ल्याएको जलप्रलयमा बाँच्न सफल |
| Pyrrha | श्रद्धा | सत्यव्रतकी पत्नी, पान्डोरा र अपिमथकी पुत्री |
| Hellen | हेलन | सत्यव्रत र श्रद्धाका जेष्ठ पुत्र |
| Amphictyon | प्रतिवेश | सत्यव्रत र श्रद्धाका कान्छा पुत्र |
