अस्मिता

4 years ago
गफाडी गाइड

विगतलाई फर्किएर हेर्दा मेरा संघर्षका दिनहरू रामपुर क्याम्पसबाटै सुरु भएको थियो । होस्टलको जीवन गुजारा गर्न आवश्यक रकम घरमा एक फोन गर्दा मागेजति तुरुन्तै उपलब्ध हुने अवस्था भएतापनि बुबाआमालाई अब चैँ आर्थिक भार सकेसम्म दिनुहुन्न है भन्ने “चेत” मेरो मनमा आईसकेको थियो । ६ महिनामा एकपटक सेमेस्टर शुल्कवापत २५०० रुपैयाँ क्याम्पसलाई बुझाएपछि होस्टेल चार्जको रुपमा थप केही बुझाउनु त पर्थेन । तर खानाको लागि छाकको २५-३० रुपैयाको दरले मासिक १५००-२००० रुपैयाँ क्यान्टिनमा बुझाउनुपर्थ्यो । त्यो रकम पनि खासै ठूलो त थिएन । तर घरबाट अब चैँ पैसा सकेसम्म लिनुहुन्न है भन्ने मेरो “चेत”का कारण त्यो रकम पनि ज्यादा लाग्न थालेको थियो ।

यसै क्रममा क्याम्पसबाट साइकलमा १० मिनेटको दुरीमा अवस्थित गोपालगन्ज गाउँको एक घरमा ट्युसन पढाउने मेसो Krishna Dhital दाइले मिलाइदिनुभयो । ट्युसनको “अग्रिमेन्ट” बडा गजबको थियो । बेलुकी २-३ घण्टा घरमा ट्युसन पढाएपछि ट्युसन फि बापत बिहान बेलुकी दुई छाक खाना खाने सहमति भएको थियो । यसो गर्दा क्यान्टिनमा तिर्नैपर्ने मासिक २००० जति रुपैयाँ खर्च हुनबाट जोगियो । यसरी मैले घरबाट प्राप्त गरेको सिर्फ १० हजार रुपैयाँले कुनै समय क्याम्पसको फि सहित पुरै एक वर्ष चलाएर minimum life जिउन सिकिसकेको थिएँ ।

आर्थिक कुरालाई यहीँ छोडेर केही भावनात्मक कुरा गरौँ । जुन घरमा मैले ट्युसन पढाउँथे, त्यो घरमा मेरो भावनात्मक सम्बन्ध गहिरिँदै गयो । ट्युसन फि बापत मैले भातको सट्टा पैसा लिएको भए त्यस्तो emotional attachment सायद हुँदैन थियो होला । त्यतिखेर दुई कक्षामा पढ्ने अस्मिता बास्तोलामा मैले वाल्यकालकी मेरी बहिनी गरिमाको प्रतिविम्ब देखेको थिएँ । त्यसैले मेरो परीक्षाको समयमा पनि आफ्नो कर्तव्य निर्वाह गर्न नभुली उनलाई पढाउन म हरेक साँझ जुनेली रात वा अँध्यारो औँसी केही नभनी साइकलमा ओहोरदोहोर गर्थेँ । घरमा आमालाई फुर्सद नभएको बेलामा ट्युसन पढाउँदै भान्सामा खाना पकाउन र अन्य काम सघाउन पनि म आफै तम्सिन्थेँ । यसरी रामपुर बसाईको चार वर्ष मध्येको करिब २ वर्ष बास्तोला परिवारको अभिन्न सदस्यको रुपमा रहने अवसर मलाई मिल्यो।

रामपुर क्याम्पसको पढाई पूरा भएपछि म काठमाडौंस्थित मेरो घर फर्किएँ । जिन्दगीको नयाँ transitional phase सुरु भइसकेको थियो । जागिर, GRE वा M.Sc मध्ये केलाई रोज्ने भन्ने विकल्पहरूमा रुमलिँदै गर्दा मैले अस्मिता र बास्तोला परिवारलाई भुल्न थालिसकेको पत्तै पाइनँ । अस्मिता नानीको सम्झना आउँदै नआएको त होइन । तर पनि करिअर बनाउने होडमा उनको याद र घरको खानाको स्वाद बिस्तारै धुमिलिँदै गएछ ।

आज करिब दस वर्षपछि, केही हप्ताअघि सुत्केरी भएकी मेरी श्रीमतीलाई माइत पुर्‍याउन चितवन आएको निहुँमा मेरो सानो छोरो काखमा च्याप्दै अस्मिताको घर खोज्न रामपुर गएँ । रामपुर क्याम्पसको नाम फेरिएर कृषि तथा वन विश्वविद्यालय भईसकेको थियो तर सबै चिज उस्तै थियो । उहि एग्रोनोमी फार्म, उहि नहर, उहि बाटो र उहि झाडिहरू…। तर गोपालगन्ज गाउँ भने केही फेरिएको थियो । बस्ती अलि बाक्लो भएकाले घर ठम्याउन अलि मुस्किल नै पर्यो । अस्मिताको घर यहि हैन भनेर सोध्दा छिमेकीले आश्चर्यचकित मुद्रामा हो भन्ने भाव व्यक्त गरे ।

भित्रबाट आमा निस्किनु भएपछि मैले मेरो मास्क तल सारेँ अनि “म गौरब ।…… चिन्नुभयो?” भनेर सोधेँ । एकछिन टोलाएर हेर्नुभयो अनि धेरै पछि घर फर्केको छोरोलाई देख्दा एउटी आमाको आँखामा जुन खुसि देखिन्छ त्यहि खुसि मिसिएको भावमा “चिनेँ …” भन्नुभयो । बाहिर कुर्सी निकालेर मलाई बस्न आग्रह गरेपछि मैले मेरो छोरो भनेर बाबुलाई पनि चिनाएँ । अनि त्यसपछि अस्मिता खोई त भनेर सोधेँ ।

मेरो मनमा २ कक्षामा पढ्ने त्यहि सानी अस्मिताको चित्र नमेटिने गरि कुँदिएको थियो । रबिन्द्रनाथ टेगोरको “काबुलीवाला” कथाको काबुलीवालाले जस्तै त्यहि सानी अस्मितालाई मेरा आँखाहरूले खोजिरहेका थिए । तर मेरो आफ्नै कपाल फूल्न थालिसकेको समेत पत्तो पाउन छोडेको मेरो “म”लाई उनी ठूली भइसकिन् भन्ने हेक्का समेत रहेनछ । आमाले आफ्नो मोबाइल खोलेर wallpaper मा save भएकी अस्मितालाई देखाइन् । मोबाइलको फुटेको स्क्रिनमा मैले दस वर्षपछि पहिलो पटक अस्मितालाई देखेँ । तर फोटोमा उनी एक्लै थिइनन् । उनको साथमा उनको श्रीमान् र मैलै दसवर्ष अघि देखेको उनी जस्तै सानी अस्मिता पनि थिइन् ।

IAAS memories Rampur Campus