प्लुस टु सकिएपछि जिन्दगीको नयाँ संक्रमणकाल सुरु भएको थियो । साइन्स फ्याकल्टीका मजस्तालाई उच्च शिक्षा अध्ययनका लागि अनगिन्ती रोजाइहरू हुन्थे, अहिले पनि छन् । धेरैको पहिलो रोजाई MBBS वा Engineering नै हुन्छ । आमाको चाहना पनि छोराले सेतो कोट लगाएर स्थेतेस्कोप भिरेको हेर्ने नै थियो । तर धेरै रोजाइ हुने चिजमा मेरो चैँ खासै मन नजाने । त्यसैले मेरा समकालीन सबै साथीहरू NAME तिर MBBS को तयारी कक्षाहरू लिइरहँदा म चाहिँ घरमै ‘भ्याकेसन’ मनाइरहेको थिएँ ।
उच्च शिक्षा अध्ययन गर्न विकल्पहरूको खोजी गर्दा पोखराको ‘वन क्याम्पस’मा B.Sc. Forestry भेटियो । पोखरा घुम्न नि पाइने, नाम निस्किए सुन्दर नगरीमा पढ्न नि पाइने । धेरै केही नसोची फारम भरियो । तर ५० जनाको सिटमा म जस्ता प्लस् टु साइन्स पढेकालाई १० जनाको मात्रै कोटा थियो । बाँकी ४० वटा कोटा I.Sc. Forestry पढेकाको लागि सुरक्षित गरिँदो रहेछ । त्यो १० जनाको सिटमा पनि नानाथरी कोटा कटाउँदा म बाहुन केटो ३ जनाभित्र पर्नुपर्ने । NAME मा तयारी कक्षा नलिएको ‘गल्ती’को सजाय पोखरामा भोग्नुपर्यो । नाम निस्किएन ।
प्लस टु सकिएपछिको संक्रमणकालको पहिलो हार भोगेपछि अर्को ‘युद्ध’ कहाँ लड्ने भन्ने प्रश्नचिह्न मेरो अगाडि खडा भयो । वन क्याम्पसकै एक जना दाजुले प्राविधिक शिक्षा नै पढ्ने रहर भए चितवनको रामपुरमा B.Sc. Agriculture को पढाइ हुने जानकारी दिए । त्यो मेरो लागि राम्रो विकल्प थियो । तर प्रवेश परीक्षामा आउने प्रश्नहरू प्लस टु साइन्सकै पाठ्यक्रममा आधारित भनिएता पनि त्यसलाई हल गर्न NAME को अनुभव अपरिहार्य रहेको ‘दिव्य ज्ञान’ पोखरामा नै प्राप्त भएको थियो । मैले NAME मा तयारी कक्षा नलिएता पनि त्यहाँ पढेका साथीहरूसँग ‘कम्बाइन स्टडी’ गरेँ भने यो पाली असफल हुन नपर्ला भन्ने मलाई लागेको थियो । त्यहि सोचेर प्रवेश परीक्षा हुनुभन्दा एक महिना अगाडि नै रामपुर गएँ ।
त्यसअघि मैले रामपुरमा चिनेजानेको कोहि पनि थिएन । तर रामपुरको माहोल यस्तो थियो कि नयाँ सम्भावित विद्यार्थीहरूलाई आफुतिर तान्न विद्यार्थी संगठनहरूबिच तिब्र ‘प्रतिस्पर्धा’ हुँदा कोहि नयाँ मान्छेले अपरिचित र एक्लो महसुस गर्नुपर्दैन रामपुर क्याम्पसमा । अहिले त विश्वविद्यालय नै भईसक्दा पनि त्यो ‘संस्कार’ अहिले पनि कायमै हुनुपर्छ सायद ।
रामपुरको होस्टलमै आर.पि. दाइको कोठामा बसेर प्रवेश परीक्षाको तयारी सुरु भयो । परीक्षा नजिकिँदै जाँदा रुममा अलिअलि गर्दै नयाँ साथीहरू थपिनथाले । म बाहेक अरू सबै साथीहरू NAME पढेर आएकाले तयारी पुस्तकहरूको राम्रो संग्रह हाम्रै कोठामा उपलब्ध थियो । पालैपालो दिनभरी पढ्ने, बेलुकी मोडेल पेपरमा एकसाथ ‘मोक टेस्ट’ दिने हाम्रो दैनिकी नै बनेको थियो । तयारी यस्तो गरियो कि, परीक्षाको दिनसम्म आउँदा नाम निस्किने कुरामा मेरो मनभित्र पूरा आत्मविश्वास छाइसकेको थियो । भयो पनि त्यस्तै, आर.पि. दाइको कोठामा बसेका ७ जना मध्ये हामी ५ जनाको नाम निस्कियो । मेरो पनि छात्रवृत्तिमै नाम निस्किएको थियो । रामपुर क्याम्पसमा B.Sc.Ag मा भर्ना भएर जीवनको पहिलो संक्रमणकालको अन्त्य गरियो ।
नाम निकाल्न जति गाह्रो, नाम निस्केपछि रामपुरको पढाइ त्यति नै सजिलो । हाँसखेलमै पहिलो र दोस्रो सत्रान्त सकियो । तेस्रो सत्रान्तबाट जेनेटिक्स, प्लान्ट ब्रिडिङ, प्याथोलोजी लगायतका विषयहरू आउन थालेपछि अलि मिहिनेत गर्न थालियो । सातौँ सत्रान्तसम्म पुग्दा कृषि विज्ञानका सबै पाटाहरूको ‘एक्सपोजर’ प्राप्त भइसकेको थियो । अहिले जस्तो मिनी थेसिस लेख्न UPA गर्ने चलन त्यतिखेर थिएन । त्यतिखेर सातौँ सत्रान्तबाट ‘इलेक्टिभ कोर्स’ लिने चलन थियो । धेरैको पहिलो रोजाइ अर्थशास्त्र हुनेगर्थ्यो । धेरैले रोज्ने चिज नअपनाउने मेरो पुरानै बानीले यहाँ पनि काम गर्यो । आधीभन्दा बढी साथीहरूले अर्थशास्त्र रोज्दा मलाई चैँ ‘भेडा’ हुने रहर लागेन । मैले Plant Pathology – बाली रोग विज्ञान रोजेँ । मेरी आमाले मलाई मान्छेको डाक्टर भएको देख्न नपाए तापनि बोट बिरुवाको डाक्टर त हुन्छु भन्ने सोचेर त्यो विकल्प रोजेको थिएँ । त्यहि चाखले हुनपर्छ, सरले दिनुभएको क्लास नोट पढ्दा सजिलै पास भइन्थ्यो तर GN Agrios को Plant Pathology भन्ने रंगिन पुस्तकलाई २५०० रुपैयाँ तिरेर किन्न कन्जुस्याइँ गरिएन ।
आठौँ सत्रान्तपछि रामपुरको चार वर्षे बसाइ पनि सकियो । अरु एक वर्ष जीवनको अर्को संक्रमणकाल विताएपछि धनकुटाबाट सरकारी जागिरमा नजानिँदो तरिकाले प्रवेश गरियो । त्यसपछि निकै नजिकबाट नेपालको ब्युरोक्रेसीलाई हेर्ने र अनुभव गर्ने मौका मिल्यो । रामपुरको कृषि शिक्षाबाट दिक्षित जनशक्तिले देशको कृषि क्षेत्र कसरी हाँकिरहेकाछन् भन्ने कुराको प्रत्यक्षदर्शी हुने अवसर प्राप्त भयो।
मानव सभ्यताको सुरुवातदेखि नै वर्ग व्यवस्था चल्दै आएको समाजशास्त्रीहरूको आ-आफैनै व्याख्यान् छ । एकै जात भित्र पनि गोत्र र वर्ण खोज्ने समाजका मानिस हौँ हामी । एउटै क्याम्पसमा कृषि पढेका जनशक्तिहरूलाई पनि सातौँ सत्रान्तमा कुन विषय इलेक्टिभ लियो भन्ने आधारमा विभिन्न वर्गमा विभाजन गरिँदो रहेछ । निजमती सेवामा त्यसलाई “सेवा समूह” भनेर institutionalize गरिन्छ । हरेक समाजमा एउटा शासक वर्ग र अर्को शासित वर्ग हुने समाजशास्त्रीहरूको तर्क छ । मैले देख्दा नेपालको कृषि सेवामा अर्थशास्त्रीहरू शासक वर्ग र अन्य सेवा समुहकाहरू शासित वर्ग जस्तो लाग्यो । कृषि अर्थ विज्ञहरूले नीति निर्माण गर्ने, अरु विज्ञहरूको काम फगत् त्यो नीतिको कार्यान्वयन गरेको जस्तो गर्ने । निर्णायक तहमा कृषि अर्थ विज्ञहरूलाई देखेपछि बल्ल सातौँ सत्रान्तमा म पनि ‘भेडा’ नबनेकोमा अलिकति पछुतो लाग्यो ।
जागिरकै बिचमा काठमाडौं सरुवा भयो । उता रामपुर क्याम्पस विश्वविद्यालय भएपछि त्रिबिले किर्तिपुरमा M.Sc.Ag को कार्यक्रम सुरू गर्यो । घरबाटै अफिस धाउँदै डिग्री पढ्ने बाटो खुलेपछि M.Sc.को प्रवेश परीक्षा दिएँ । जागिरमा प्राप्त भएको ‘दिव्यज्ञान’ले गर्दा यसपटक मैले अर्थशास्त्रलाई पहिलो रोजाइमा राखेँ । दोश्रो र तेश्रो विकल्पको रुपमा राखेको एग्रोनोमी र हर्टिकल्चर रोजेको भए छात्रवृत्तिमा नै पढ्न पाउँथेँ । तर पुरै पैसा तिर्नुपर्ने योग्यताक्रममा नाम निस्किएको कृषि अर्थशास्त्रमा नै भर्ना हुने निर्णय गरेँ । यसरी म वालीरोग विज्ञबाट कृषि अर्थशास्त्री भएँ ।
यो लेखको आसय Plant Pathology वा यस्तै core technical विषयहरूभन्दा Agricultural Economics उच्चतम स्तरको हो भनेर साबित गर्न खोजिएको किमार्थ हैन । मेरो अनुभवमा अर्थशास्त्र धेरै दुःख नगरी ‘गफ गरेर खाने’ विषय हो । अंकहरूको आधारमा अर्थशास्त्रीहरूले गर्ने विश्लेषण तथ्यपरक त होला, तर त्यो सँधै यथार्थपरक भने हुँदैन । विभिन्न शुत्रहरूको प्रयोग गरेर निकालिएको निष्कर्ष कहिलेकाहीँ गलत सावित हुँदा पनि error term significant हुँदा त्यस्तो भएको हुनसक्छ भन्ने विश्लेषण अर्थशास्त्रमा सामान्य मानिन्छ । बेलायती अर्थशास्त्री Barbara Wotton को भनाई अनुसार “जहाँ छ जना अर्थशास्त्रीहरू हुन्छन्, त्यहाँ सातवटा रायहरू हुन्छन्” रे । धेरैजसो अवस्थामा अर्थशास्त्र बुद्धि बिलासको साधन बन्ने गरेको उदाहरणहरू प्रशस्त छन् ।
देशलाई अहिले धानको उत्पादकत्व वृद्धि गर्ने Agronomist चाहिएको छ । सिन्धुली र स्याङ्जाको जुनार र सुन्तलाको औँसा किराको प्रकोप नियन्त्रण गर्ने Entomologist चाहिएको छ । गुल्मीमा कफी रस्ट नियन्त्रण गर्ने Pathologist को आवश्यकता छ । उत्पादन लागत घटाउन नेपालको भुगोल सुहाउँदो यान्त्रिकिकरण गर्न Agriculture Engineer ले काम गर्नुपर्ने धेरै छ । माटोको घट्दो उर्बराशक्ति नियन्त्रण गर्न Soil Scientist ले कला देखाउनुपर्नेछ । तर हाम्रोमा गफै गर्ने अर्थशास्त्र विषयको क्रेज पढ्दो छ । जबसम्म अरु सेवा समुहका विज्ञहरूले आफुलाई शासित वर्गको रुपमा लिने वातावरण रहिरहन्छ, तबसम्म म जस्तै अर्थशास्त्रीहरूले खत्राखत्रा सिद्धान्त र शुत्रको प्रयोग गरी कृषि क्रान्तिको कत्राकत्रा गफ दिइरहनेछन् । अनि तपाईंहरू “वाह! क्या खत्रा कुरो” भनेर सुनिरहनुहुनेछ, पढिरहनुहुनेछ ।
