“माया, अब देखि मेरो तलब आएपछि सबै तिमीलाई दिन्छु । मलाई खटाइ खटाइ पकेटमनी दिने गर्नू!” विशुद्ध घरगृहिणीको रुपमा लामो समयदेखि व्यस्त मेरी श्रीमतीलाई मैले नयाँ प्रस्ताव राखेँ ।
दुई सन्तान कि आमा उनी हाम्रो विवाहअघि देखि नै स्वावलम्बी थिइन् । विवाहपछि पनि कहिले बट्टाई पालन त कहिले महको व्यापार गरेर सँधै केही न केही उद्यममा व्यस्त भइरहने उनी पछिल्लो समय भने दुई बच्चा कि आमा भएपछि उनको ‘आफ्नै’ आयआर्जनको बाटो तत्काललाई रोकिएको थियो । उनलाई त्यसको नकारात्मक असर नपरोस् भनेर उक्त प्रस्ताव मैले राखेको थिएँ । तर उनी बुढाको कमाइमा ‘ऐश’ गर्ने खालकी श्रीमती परिनन् । उनले मेरो प्रस्ताव ठाडै अस्वीकार गरिन् र भनिन्, “अरुको कमाई खानु परेको छैन । म आफै कमाउँछु।”
बाबु स्कुल जान थालेपछि उनको घरायसी व्यस्ततामा केही कमी आयो । घरमै बसेर आयआर्जन गर्ने उपाय उनी युट्युबमा खोजिरहन्थिन् । यसैबीच उनले काँचो नरिवलबाट घरमै तेल निकाल्ने सीप सिकिन् । आफ्नै बच्चाहरूलाई चिसो लाग्दा होस् वा मालिस गर्न होस्, नरिवलको तेलको महत्त्व बारे उनी आफैले अनुभव गरेर बुझ्दै गइन् ।
आफ्नै लागि बनाएर उभ्रिएको तेल इष्टमित्रहरूलाई नि बाढ्न भ्याइन् । काँचो नरिवलको तेलको महिमा बुझेकाहरूले पैसै दिएर अडर गर्न थाले । अनि आफ्नै लागि उत्पादन सुरु गरेको नरिवलको तेलले व्यवसायिक रुप लिने छाँट देखायो ।
काँचो नरिवललाई फुटाएर, भान्सामा उपलब्ध हुने कोरेसोले कोरेर, पिसेर अनि घाममा सुकाएर तेल निकाल्ने काम दुःखकै थियो । यस्तो दुःख नगर न म भन्थेँ । तर उनको कानमा बतास चलेन । उनको दुःख देख्न नसकेर मैले नि बेलाबेलामा नरिवल कोर्न सहयोग गर्न थालेँ । नरिवलको तेलको उत्पादन यति बढ्न थाल्यो कि अब इष्टमित्रले मात्रै किनेर उनको उत्पादन खपत नहुने अवस्थामा पुग्यो ।
त्यसपछि फेसबुकको Market Place मा Free को विज्ञापन राख्न मैले नै सहयोग गरेँ । नयाँ पुराना आमाहरूलाई विभिन्न कुराहरूमा आमाहरूले नै सहयोग गर्न फेसबुकमा Moms Supporting Moms भन्ने ग्रुप बनाइएको रहेछ । त्यसमा पनि उनले आफ्नो उत्पादनको बारेमा लेखिन् । नरिवलको तेलको अलावा चितवनबाट आफैले पिसेर ल्याएको, बच्चाहरूको लागि अति उपयोगी आलसको तेल पनि फेसबुकमा राखियो । त्यसको ब्रान्डिङ गर्न अङ्ग्रेजीमा Grihini Home-made coconut oil र Grihini Flaxseed Oil नामाकरण गरि उनको घरेलु उत्पादनलाई glamourous रुप दिएँ ।
केही दिन उनको मेसेज बक्स सम्भावित ग्राहकहरूको inquiry ले भरियो । तर नरिवल तेलको रु१२०० र Flaxseed Oil रू११०० प्रति ५०० ml मूल्य सुनेपछि अडरको कुरै गरेनन् । सबैलाई सस्तै चाहिने । यो बनाउने दुःख थाह पाउनेले सायद बार्गेनिङ गर्दैन थिए होलान् भन्ने लाग्यो ।
अन्ततः Moms Supporting Moms group मा उनको post हेरेर एकजना नवआमाले झापाबाट उनलाई आधी लिटर Flaxseed Oil अडर गरिन् । तेल चैँ शंखमूलमा उनको श्रीमानले receive गर्ने कुरा तय भयो । अनलाइनबाट आएको उनको त्यो पहिलो अडर थियो ।
अडर त बल्लबल्ल आयो । अब डेलिभरी कसरी गर्ने अर्को समस्या सुरु भयो । आफ्नै अफिसबाट तिरस्कृत भएर केही समयदेखि म घरमै थन्किरहेको थिएँ । श्रीमतीको पहिलो अडर डेलिभर गर्न म आफै तयार भएँ । अर्को दिन भनेकै समय र स्थानमा तेल डेलिभर गर्न बहिनीको स्कुटर लिई Delivery Boy को रुपमा म बल्खुबाट बागमती खोलाको किनारै किनार शंखमूल प्रस्थान गरेँ ।
तेल डेलिभर गर्न बागमतीको किनारै किनार बाटो लाग्दा केहि कुराहरू मेरो मनमा खेल्न थाले । नियतिको खेल देख्दा हामीहरू यस धर्तीमा ईश्वरको ईच्छाले इहलीला गर्न मात्रै आएका रहेछौँ भन्ने लाग्यो । हिजोसम्म एउटा कार्यालयको प्रमुखको रुपमा खटनपटन गर्थेँ । तर आज नियतिले मलाई सामान डेलिभरी गर्ने अवस्थामा पुरायो । तर यो सब आफ्नै श्रीमतीको लागि गरिरहेकाले मनमा अलिकति पनि हीनताबोध थिएन ।
नियतिको अर्को खेल देख्दा आफैलाई साह्रै हाँसो लाग्यो जब तेल रिसिभ गर्ने मान्छे कुनै अपरिचित मान्छे नभएर आफू स्कुल पढ्दा एउटै बेन्चीमा बस्ने साथी रोहन परेछन् । पहिलो ग्राहक नै आफ्नो अनन्य मित्र । अहो! कस्तो संयोग । उनलाई सामान दिएर निजिकैको एउटा कफी सपमा कफी पिउन पस्यौँ । त्यहीँबाट उनले तेल अडर गर्ने उनकी श्रीमतीलाई भिडियो कल गरे, “तेल त अडर गरिछौ । तर कसलाई गरेउ थाह छ?… मेरो स्कुलको साथीको श्रीमती हो नि उनी त ।… नेपाल सरकारको अधिकृत जस्तो मान्छेलाई सामान डेलिभर गर्न लाइछौ तिमीले त ।”
साथीले त्यसो भनिरहँदा मेरो मनमा हीन भावना हैन, झन् गर्वको अनुभूति भइरहेको थियो । कम्तिमा चोरेर ढाँटेर त खाइएको छैन । बरु हाम्रा आआफ्ना श्रीमतीले एकअर्कालाई नचिनिकन गरेको अनलाइन कारोबारका कारण झन्डै एक दसकपछि दुई पुराना साथीहरूलाई भेट गराएकोमा हामी दुवै उनीहरू प्रति कृतज्ञ भयौँ ।
