मेरो मस्तिष्क र हृदयले
पारपाचुके गरेको
दस वर्ष भइसक्यो ।
निहुँ खासै केही थिएन,
मेरो जीवनको यो हाल हुनुमा
दोसी को?
मेरो मस्तिष्क र हृदय
एकले अर्कालाई दोसारोपण गर्छन् ।
समय बित्दै जाँदा
तिनीहरू एकै छतमुनि
बस्न नसक्ने भए ।
र आज उनीहरू
मेरो देहको खोलभित्र
छुट्टाछुट्टै बस्छन् ।
अनि म चाहिँ?
म चाहिँ एक हप्ता मस्तिष्कसँग हुन्छु
अनि अर्को हप्ता हृदयसँग बस्छु ।
उनीहरू एकअर्कासँग संवाद गर्दैनन्
बरु एउटा कागजको टुक्रामा
कुराकन्था लेखेर
हरेक हप्ता
मलाई हुलाकी बनाउँछन् ।
तिनीहरूले लेख्ने कुरो
सँधै उही हुन्छ ।
आरोप प्रत्यारोप उही
“यो सबै तैँले गर्दा भएको हो ।”
हरेक हप्ता
हृदयले गुनासो लेख्छिन् ।
विगतमा भएका सबै गल्तीमा
उनी मेरो मस्तिष्कलाई नै
दोसी ठहराउँछिन् ।
अनि अर्को हप्ता
मेरो मस्तिष्कले
लामो फेहरिस्ता तयार गर्छ
मेरो भविष्यमाथि खेलबाड गर्ने काम
हृदयले कतिपटक गरिन्
उसलाई कन्ठस्तै छ ।
मेरो जिन्दगीको
यो हाल हुनुमा
उनीहरु एकअर्कालाई
औँला तेर्स्याउँछन् ।
धेरै भयो
यो रुवाबसी अनि चिच्याहटहरू।
त्यसैले
आजकाल म
मेरो “आँट”सँग
समय बिताउन थालेको छु ।
यसले मेरो
थेरापिस्टको रुपमा
मलाई सान्त्वना दिनेगर्छ ।
आजकाल म
रातको समयमा
हृदयले थाहा नपाउने गरी
मेरो करङको सानो झ्यालबाट
बाहिर निस्किन्छु ।
अनि मेरुदण्डको भर्याङबाट
बिस्तारै तल झरेर
मूलाधार चक्रको आसनमा बिराजमान
मेरो “आँट”सँग म बिलय हुन्छु ।
जसको ढोका मेरो लागि
सँधै खुल्ला हुन्छ ।
अनि सुर्योदय नभएसम्म
म उसँग नै बसिरहन्छु, बसिरहन्छु ।
गए राती
मेरो आँटले मलाई प्रश्न गर्यो
“हृदय र मस्तिष्कको
युद्धको चेपुवामा पर्दा
गाह्रो भयो?”
मैले हो भन्ने संकेतमा
टाउको हल्लाएँ ।
मलाई थाहा छैन
यिनीहरू दुवैबिना
बाँच्न सक्ने उपाय
छ कि छैन होला?
“बिगतमा जे भयो
त्यसप्रति मेरी हृदय
सँधै दुखित छिन् ।
अनि भविष्यलाई लिएर
मेरो मस्तिष्क सँधै चिन्तित हुन्छ ।”
मैले दुखेसो पोखेँ ।
मेरो आँटले मेरो हात थाम्यो
म बोल्दै गएँ ।
“विगतको गल्तीमा पश्चाताप गर्दै
अनि भविष्यको चिन्तामा रुमलिँदै
म कति बाँचौँ?”
मेरो आँटले मुस्कुराउँदै भन्यो,
“त्यसो भए तिमी
आफ्नो फोक्सोसँग
केही क्षण किन बिताउँदैनौ?”
म रनभुल्लमा परेँ ।
मेरो अनुहारको भावभङ्गी देखेर
उसले भन्यो
“तिम्रो मुटुलाई
तिम्रो विगतसँग मोह छ,
अनि तिम्रो मस्तिष्कलाई चाहिँ
वर्तमानको तिमीभन्दा
तिम्रो भविष्य प्यारो छ
जुन आफैमा अनिश्चित छ ।
त्यसैले तिम्रो फोक्सो नै
तिम्रो लागि उपयुक्त आस्रय हो ।
तिम्रो फोक्सोमा कुनै हिजो छैन,
तिम्रो फोक्सोका कुनै भोलि छैन,
त्यहाँ, आज मात्रै छ
त्यहाँ, रेचक मात्रै छ
त्यहाँ, पुरक मात्रै छ
त्यहाँ, अहिले मात्रै छ ।
त्यहाँ सास मात्रै छ, जीवन मात्रै छ।”
त्यही सासको छहारीमा
आराम गर
तबसम्म,
जबसम्म तिम्रो मस्तिष्क र हृदयले
आआफ्नो घाउमा मलमपट्टी लाउँदैनन् ।”
बिहान भयो
मेरो मस्तिष्क
अखबार पढ्न व्यस्त थियो ।
अनि मेरी हृदय
पुराना फोटाहरू नियाल्दै थिइन्।
त्यही बखत
मैले मेरो सानो
कुम्लो कुटुरो तयार गरेँ
अनि मेरो फोक्सोको डेरातिर
अघि बढेँ।
मैले ढोका
ढकढक्याउनु अघि नै
फोक्सोले मुस्कुराउँदै दैलो खोलिन् ।
हावाको झोक्काले मलाई
अंकमाल गर्दै सोधिन्,
“के भयो? आउन निकै बेर लगायौ नि साथी।”
रचनाकार – John Roedel
भावानुवाद – गौरव लुइँटेल
