नेपाली भान्साको अभिन्न अंगको रूपमा चियालाई लिने गरिन्छ । पाहुनाको स्वागत गर्न होस् वा मुड चेन्ज गर्न, चिया नपिउने मान्छे पाउन मुस्किल नै छ । तर चिया पिउने मात्रै हैन, खान पनि सकिन्छ भन्ने कुरा नेपाली जिब्रोको लागि अलि नौलो विषय हुनसक्छ ।
विश्वमा लगभग सबै मुलुकमा चियाको उपभोग गरिन्छ तर ६४ वटा मुलुकहरूमा मात्रै चियाको उत्पादन हुन्छ । तीमध्ये म्यानमार यस्तो मुलुक हो जहाँ चिया पिउने मात्रै हैन, चियाको पातबाटै बन्ने अचार जस्तो परिकार “लफेत” खाने गरिन्छ ।
बर्मेली संस्कारमा यदि घरमा खाना खानेगरि पाहुना आएको बेलामा खानासँग लफेत दिइएन भने पाहुनाले अपमानबोध नै गर्छन् । पुरानो जमानामा राज्य-राज्यबीच युद्ध हुँदा शान्तिको सन्धी गर्नुपर्यो भने एउटा राज्यको शासकले अर्को राज्यको शासकलाई लफेत पठाएर शान्तिको सन्देश दिने गरेको बर्मेली इतिहासबाट चियाको अचारको महत्व त्यहाँ कति छ भन्ने कुरा प्रस्ट हुन्छ ।
नेपाली गाउँघरमा गुन्द्रुक बनाउने प्रकृयासँग धेरै हदसम्म मिल्ने सो किसिमको चिया बारे नेपाल लगायत धेरै मुलुकमा अझै नौलो रहेको छ । आउनुस्, तिहारमा सेल रोटीसँगै सितनको रूपमा खान सकिने चियाको अचार “लफेत” बनाउने तरिकाबारे केहि चर्चा गरौँ ।
चाहिने सामाग्री
- आवश्यक मात्रामा २ पात १ सुइरो भएको चियाको हरियोपत्ती
- मःमः पकाउने भाँडो । छैन भने, पानी उमाल्ने साधारण डेक्ची
- नाङ्लो
- हावा लगाउने पंखा
- सिसा वा प्लास्टिकको हावा नछिर्ने बट्टा वा बाँसको ढुङ्ग्रो ।
- परिमाण अलि धेरै छ भने डेक्ची, छोप्ने प्लास्टिक, डोरी र माथिबाट थिच्नको लागि चाक्लो सफा ढुङ्गा
बनाउने बिधि
- चियाको बोटबाट आवश्यक मात्रामा २ पात १ सुइरो कलिलो हरियोपत्ती टिपाई गर्ने ।
- १०-१५ मिनेट हरियोपत्तीलाई पंखामुनि ओइल्याउन दिने ।
- मःमः पकाउने भाँडा वा डेक्चीमा पानी उमाल्ने ।
- पानी उम्लिएपछि मःमः पकाउने भाँडाको माथिल्लो तलामा हरियोपत्ती बसाल्ने ।
मःम पकाउने भाडा छैन भने डेक्चीमा पानी उम्लिएपछि हरियोपत्ती उम्लिएको पानीमा खनाउने ।
- ५-८ मिनेट उमालेपछि तातो हरियोपत्तीलाई नाङ्लोमा खनाएर पानी तर्काउने र चिसिन दिने । चिसिने प्रक्रिया छिटो बनाउन पंखाले हावा लगाउन सकिन्छ ।
- चिसिने क्रममा हरियोपत्तीलाई हातले हलुकासँग ४-५ मिनेट माड्ने । माड्दा निस्किएको रसलाई फालिदिने । यसले चियाको तीतोपन बाहिर निकाल्छ ।
- हरियोपत्ती राम्रोसँग चिसिएपछि बेस्करी निचरेर हावा नछिर्ने (air tight) बट्टा वा बाँसको ढुङ्ग्रोमा खाँदेर हाल्ने ।
हरियोपत्तीको परिमाण धेरै छ भने डेक्ची वा चाक्लो बाटामा पत्ती राम्रोसँग खाँदेर राख्ने । हावा छिर्न नदिनको लागि प्लास्टिकले छोपेर डोरीले कस्ने । अनि माथिबाट सफा ढुङ्गाले थिचेर राख्ने । यस क्रममा चियामा अझै रहेको रस बाहिर निस्किन्छ ।
- यसरी प्याक गरिएको चियालाई घामले नभेट्ने ओसिलो ठाउँमा १५-३० दिनसम्म राख्ने । उक्त अवधीपछि उज्यालो हरियो रंगको बास्नादार चियाको अचार लफेत तयार हुन्छ ।
ख्याल राख्नुपर्ने कुरो
- हरियोपत्ती पँहेलिनसक्ने भएकाले धेरै बेर उमाल्नु हुँदैन ।
- उमालेर चिसो भएको चियालाई भाँडामा राख्नुअघि राम्रोसँग निचरेर पानी निकाल्नुपर्छ ।
- प्याक गरेको बट्टा वा भाँडाभित्र सकेसम्म हावा छिर्न दिनुहुँदैन । नत्र कालो भएर गुणस्तर बिग्रिनसक्छ ।
खाने तरिका
१५-३० दिनसम्म बन्द अवस्थामा फर्मेन्टेसन भएपछि लफेत तयार हुन्छ । तर यसलाई अचारको रूपमा खान भने भान्सामा केहि तयारी गर्नुपर्छ । बर्मेलीहरूले लफेतलाई विभिन्न तरिकाले परिकार बनाएर खाने गर्छन् । सबैभन्दा धेरै खाइने परिकार चैँ “लफेतो” हो जुन हामीले खाने साँदेको गुन्द्रुक जस्तैगरि बनाउन सकिन्छ ।
बट्टाबाट आवश्यकता अनुसार भाँडामा लफेत लिने । मसिनो गरी काटेको बन्दा, टमाटर, भटमास, तिल, लसुन, प्याज, नुन, खुर्सानी र कागतीको रससँग मोल्ने । लफेतो खानको लागि तयारी हुन्छ । यसरी बनेको लफेतोलाई खानासँग सलादको रूपमा खान सकिन्छ ।
उपसंहार
मजदुर ज्याला वृद्धि र बढ्दो महंगीका कारण चियाको उत्पादन लागत आकासिँदै गएको परिप्रेक्ष्यमा विश्वबजारमा चियाको मूल्य भने पछिल्लो केहि वर्ष स्थिर रहँदै आएको छ । त्यसको प्रत्यक्ष असर नेपाल लगायत धेरै मुलुकहरूको चिया क्षेत्रमा पनि परेको छ । परम्परागत रूपमा उपभोग गरिने (सिटिसी र अर्थोडक्स दुवै) चियाले लगानी अनुसार प्रतिफल नदिएका कारण धेरै मुलुकहरूले चियाको उत्पादन विविधिकरण (Product Diversification) मा काम गर्न थालिसकेका छन् । नेपालमा पनि पिउने चियाको साथसाथै खाने “लफेत” चियाको पनि उत्पादन, माग सिर्जना एवं बजारिकरण गर्न सकियो भने नेपाली चिया खेतीको खस्कँदो उत्साहलाई केहि हदसम्म उठाउन सकिन्छ ।
