एउटा शहरमा एक दम्पती बस्थे । श्रीमान्ले श्रीमतीलाई औधी माया गर्थे । सानातिना मनमुटाव त भइरहन्थे तर त्यसैलाई जीवनको सामान्य उतारचढाव ठान्थे । यसरी नै उनीहरूले १३ वर्ष एउटै छानामुनि बिताए । एक दिन उनीहरूबीच ठूलै झगडा पर्यो । श्रीमतीले ऊसँग डिभोर्स मागिन् । जति झगडा परे पनि श्रीमान उनलाई छोड्ने पक्षमा थिएनन् । तर मामला यति बिग्रिसकेको थियो कि उसको केही सीप लाग्ने अवस्था थिएन । अन्ततः उनले आफ्नो घर पनि श्रीमतीकै नाममा छोडेर पारपाचुके दिए । समय कसैको लागि रोकिँदैन । लामो जिन्दगी एक्दै बिताउन सहज थिएन । त्यसैले उसले पनि आफ्नो जीवन चलाउन अर्को बिबाह गरे । दोस्री श्रीमती पहिलेकी भन्दा नि राम्री र समझदार थिइन् । तर बेलाबेलामा उसलाई पहिलेकै श्रीमतीको सम्झना आइरह्यो ।
कहिलेकाहीँ जीवनका यस्ता कथाहरू केवल मानिसहरूमा मात्र सिमित हुँदैनन् । संस्था, पेशा र कर्मसँग पनि यस्तै सम्बन्ध गाँसिएको हुन्छ । १३ वर्षअघि रामपुर क्याम्पसको चार वर्षे बसाइ पुरा गरेर हिले, धनकुटाबाट राष्ट्रिय चिया तथा कफी विकास बोर्डको जागिरे जीवन सुरु गर्दा यति लामो समय यसै संस्थामा सेवा गरिएला भन्नेमा आफैलाई विश्वास थिएन । त्यतिखेर नेपालको चिया र कफी सेक्टरको खासै ज्ञान थिएन । विशेषगरी बगानमा काम गर्ने श्रमिक, कृषक अनि अग्रजहरूबाट धेरै कुरा सिकियो । सेक्टर सानो थियो तर सम्भावना ठूलो । समस्याहरू त प्रशस्तै थिए । तर नेपालको कुन चैँ सेक्टर समस्या-रहित छ र? जतिन्जेल संस्थामा रहिन्छ, त्यतिन्जेल आफ्नो तर्फबाट इमान्दार प्रयास गर्नुपर्छ भन्ने सोचका साथ काम गर्दै गएँ ।
यसबीच धेरै आरोह-अवरोहको साक्षी बन्न पुगेँ । १० वर्षअघि स्थायी नियुक्ति लिँदै गर्दा मनमा कुनै व्यक्तिगत ‘एम्बिशन’ थिएन । जुन पदमा नियुक्ति लिएको हो, त्यही पदबाट ‘रिटायर्ड’ हुन त्यति खेरबाटै ‘प्रिपियर्ड’ थिएँ । संस्था राम्रो भयो भने सबैको कल्याण हुन्छ भन्नेमा विश्वास राख्थेँ ।
प्रमुख कार्यकारी राजनीतिक नियुक्ति हुने हाम्रो संस्थामा फोहोरको कुनै कमि थिएन । त्यो फोहोर सफा गर्न कोहि न कोहि आफै फोहरभित्र पस्नुपर्थ्यो । पन्जा नलगाई फोहोर सफा गर्न खोज्दा आफ्नै हात फोहोर हुन सक्छ भन्ने थाह थियो । तर “मैले पनि सफा नगरे कस्ले गर्ने त?” भन्ने जिम्मेवारीबोधले नै फोहोरभित्र पसेँ ।
पसेँ मात्रै हैन नराम्ररी फसेँ ।
फोहोरको दलदल यस्तो थियो कि मेरो व्यवसायिक जीवनले अन्तिम स्वास लिने अवस्थासम्म पुर्याइदियो । तर ६ महिने ‘भेन्टिलेटर’को बसाई पछि बालबाल बचेर ‘सकुशल’ फर्किन सफल भइयो । निलम्बन, अड्डा, अदालत, तारिख, सफाई, निलम्बन फुकुवा, अनि फेरि एक वर्ष केन्द्रीय कार्यालयको वरण्डामा हाजिरी । प्रशासन शाखाको सोफाको त्यहि एक वर्षे बसाइले बोर्डको विकल्प बारे बिचार गर्न प्रशस्तै समय दियो ।
त्यहि ताका गरेको मिहिनेतको फलस्वरुप नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)मा वरिष्ठ वैज्ञानिक पदमा मेरो नाम निस्कियो । पद ठूलो छ, कार्यक्षेत्र फराकिलो छ, अवसर पनि धेरै छन् । धेरैका लागि यो व्यवसायिक जीवनको एउटा ठूलो छलाङ हुन सक्छ । तर मेरो मन भने अझै पनि त्यहीँ पुरानै चिया बगान र कफी बगैँचाहरूमा अड्किरहेको छ ।
सायद मेरो अवस्था पनि त्यही पारपाचुके भएको मानिसको जस्तै छ । जीवनले नयाँ अवसर दिएको छ, भविष्यले नयाँ बाटो देखाएको छ तर १३ वर्षसम्म पसिना, समय, सपना र संघर्ष सँगै बाँडेको संस्था र सेक्टरप्रतिको माया एकाएक कहाँ मर्छ र? संस्था पूर्ण थिएन होला । मेरा पनि कमिकमजोरीहरू थुप्रै थिए होलान् । कहिलेकाहीँ अन्याय पनि सहनुपर्यो होला । तर यिनै संघर्षहरूसँग लड्दै बिताएका वर्षहरूले नै मलाई आजको ‘म’ बनाएको हो । यहाँसम्मको यात्रामा साथ दिने सबै सहकर्मी साथीहरूप्रति कृतज्ञ छु । म जहाँ भए पनि, जुन जिम्मेवारीमा रहे पनि, नेपालको गौरवको रुपमा रहेको नेपाली चिया तथा कफी क्षेत्रप्रतिको मेरो लगाव, माया र शुभेच्छा भने कहिल्यै पारपाचुके हुने छैन ।
