सानो माछा भाग १ – भविष्यको खोजी

2 years ago
गफाडी गाइड

रामपुरको चार वर्षे बसाइ सकिएपछि जिन्दगीको अर्को संक्रमणकाल फेरि सुरु भएको थियो । जागिर, जिआरइ र एम्.एस्.सीको चौबाटोमा जिन्दगी पुगेको थियो । अधिकांश साथीहरूले अमेरिका जाने अभिलाषा लिएर जिआरइ तयारी कक्षा सुरु गरिसकेका थिए । २०-२२ वर्षको उमेरमा अमेरिका जानु भनेको उतै हराउनु हो भन्ने लाग्छ । फोस्रो राष्ट्रवादको कुरा गरिरहन चाहन्न, तर आफुलाई हुर्काउने, बढाउने र पढाउने बुबाआमालाई नेपालमा एक्लै छोडेर अमेरिका भासिने प्रवृत्ति प्रति पुरै अरुची थियो मेरो ।

यत्तिकैमा बुबाको चिनेजानेको एकजनाबाट उच्च शिक्षाका लागि छात्रवृत्तिमा चीन जाने प्रस्ताव आयो । अमेरिकाले जस्तो चीनले ग्रीनकार्ड नदिने भएकाले चीनको यो विकल्प मलाई कता हो कता उत्तम लाग्यो । प्रस्ताव स्वीकार गरेर चिनियाँ भाषा सिक्न बागबजारको एउटा इन्स्टिच्युटमा भर्ना भएँ । अलि अलि चाइनिज बोल्न समेत थालिसकेको थिएँ । तर अन्तिम समयमा आएर अनपेक्षित रूपमा चीनको ढोका यतिकै बन्द भयो । करिव १ वर्षको मेरो समय त्यसै खेर गयो । जिआरइ परिक्षा दिइसकेका साथीहरूसँग सल्लाह गरेर अन्तिममा मैले नि जिआरइ तयारी कक्षामा भर्ना हुने निर्णय गरेँ ।

थप तीन महिना दिनरात भोकनिन्द्रा केहि नभनी खुब मिहिनेत गरी अङ्ग्रेजीका अप्ठ्यार शब्दहरू र वाक्यांशहरू घोक्न थालियो । मिहिनेत यस्तो गरियो कि भात खाँदा, सुत्दा, बस्दा, उठ्दा अङ्ग्रेजीका कहिले नसुनेका शब्दहरू जहाँ भेटिन्छ त्यहिँ पानी पारिन्थ्यो । इन्टिच्युट जान बाटोमा हिँड्दा वा गाडी चढ्दा पनि जिआरइका शब्दार्थहरूको अडियो मोबाइलमै सुनियो । जिन्दगीको संक्रमणकालमा नियतीले जता डोहोर्‍याउँछ, त्यतै जानु पर्नेरहेछ भन्ने लाग्यो।

मिहिनेत अनुसार फल पनि राम्रै प्राप्त भयो । सुरु सुरुमै जिआरइ सकेका साथीहरूको तुलनामा मेरो अझ बढी अंक आयो । एउटा ठूलै युद्ध जितेको जस्तो भयो । तर युद्ध यतिमै टुङ्गिने अवस्था थिएन । ‘मिसन अमेरिका’ सफल पार्न जिआरइ सकेर मात्रै काफी थिएन, अमेरिकाको कुनै एउटा विश्वविद्यालयमा स्थान सुरक्षित गर्न अर्को युद्ध लड्न बाँकी नै थियो ।

कम्प्युटरको स्क्रिन अगाडी घण्टौँ बसेर विभिन्न विश्वविद्यालयका करिब एक हजारजना जति प्रोफेसरहरूलाई इमेल गरेर आफु उहाँहरूको रिसर्चमा ‘इन्ट्रेस्टेड’ रहेकाले विद्यार्थीको रूपमा स्वीकार गर्न अनुरोध गरियो । एक हजारजनालाई इमेल गर्दा करिव एकदुई दर्जनले मात्रै ‘रिप्लाइ’ दिन्थे । यसरी मिसन अमेरिकालाई केन्द्रविन्दुमा राखेर त्यहाँका विभिन्न ५ वटा विश्वविद्यालय र ‘ब्याकअप प्लान’को रुपमा फिनल्याण्डको एउटा विश्वविद्यालयमा ‘अप्लाई’ गरेर ‘एड्मिसन कमिटी’को निर्णयको पर्खाइमा बसेँ ।

यत्तिकैमा बोर्डमा करारको जागिर खाने प्रस्ताव आयो । एड्मिसन कमिटीको निर्णय आउन तीन महिना लाग्ने भएकोले समयको ‘सदुपयोग’ गर्न त्यो प्रस्ताव स्वीकार गरेँ । नाम निस्केपछि जागिर छोडिहाल्छु भन्ने सोचेर तीन महिनाको लागि मात्रै भनेर धनकुटास्थित बोर्डको एउटा कार्यालयको कमाण्ड सम्हाल्न तयार भएँ ।

धनकुटा प्रस्थान गर्ने अघिल्लो रात बुबाले केहि अर्ती दिनु भएको थियो । “द्रव्यसँग इमान नबेच्नू, रक्सीसँग इज्जत नपिउनू, तासको खालमा समय र सम्पत्ति लिलाम नगर्नू ।” सामान्यतया एउटा सरकारी कर्मचारीलाई विगार्ने यि नै तीन तत्वहरू हुन् । जे जति समय जागिर खाइन्छ, यि तीन तत्वहरूबाट आफूलाई टाढा राख्ने कसम खाएर बोर्डको चिया विस्तार योजना, हिलेको कमान्ड सम्हाल्न धनकुटा प्रस्थान गरेँ ।

कार्यालय सानो सानै थियो । कार्यालयमै गर्नुपर्ने काम खासै केहि थिएन । त्यसैले नेपालको चिया र यसले वैदैशिक मुद्रा आर्जन गरेर राष्ट्रलाई समुन्नतीको मार्गमा लान सक्ने अथाह सम्भावनालाई मसिनो गरी बुझ्ने र अध्ययन गर्ने समय मलाई यथेष्ट प्राप्त भयो । कन्यामका चिया बगानहरू हेर्दा जति सुन्दर र फोटो खिचुँखिचुँ लाग्ने जस्ता देखिन्छन्, त्यस भित्रका समस्याहरू त्यति नै डर लाग्दा रहेछन् ।

हरियोपत्तीको मूल्य नपाउने किसानको गुनासो, ज्याला कम भयो भन्ने मजदुरको गुनासो, तयारी चिया बिक्री गर्न धेरै पाप्पड बेल्नु पर्ने उद्योगीको आफ्नै दुखेसो … । समस्या खास्सै ठूला त हैनन् तर बोर्डमा योग्य जनशक्तिको अभावमा समग्र चिया क्षेत्रको अभिभावकत्व ग्रहण गर्न बोर्ड असमर्थ भएको निष्कर्श मैले निकालेँ ।

यहि जागिर एवं सेक्टरको अध्ययन गर्ने क्रममा चिया बगान र यो क्षेत्रले नजानिँदो तरिकाले मलाई माया गाँस्न थालेको थियो । तीन महिनापछि अमेरिकाबाट खासै सकारात्मक इमेल नआए तापनि फिनल्याण्डको युनिभर्सिटी अफ हेलसिंकीबाट एम्.एस.सी .प्लान्ट साइन्स अध्ययनको लागि ‘अफर लेटर’ प्राप्त भयो । तर यता तीन महिनाको लागि मात्रै भनेर खाएको जागिरले मलाई विस्तारै मोहोनी लगाउन थालिसकेको थियो । वास्तवमा भन्नुपर्दा ‘अमेरिकन ड्रिम्स’लाई मैले मनैदेखि कहिले पनि अपनाएकै थिइँन । जिन्दगीको एउटा संक्रमणकालमा प्रारब्धले जता डोहोर्‍यायो उतै हिँडेको मात्रै थिएँ । त्यतिखेर कुनै विकल्प नहुँदा जिआरइ जोइन गरेको थिएँ । तर यतिखेर प्रारब्धले मलाई स्वदेशमै बाआमासँग रहेर नेपालमै एउटा कर्म गर्ने विकल्प दिएको थियो ।

मलाई लाग्छ यस धर्तीमा मनुष्य केहि न केहि कर्तव्य गर्न आएको हुन्छ । मलाई पनि अस्तव्यस्त चिया क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाइ हजारौँ मजदुर तथा किसानहरू आस्रित यो क्षेत्रमा केहि सुधारका कार्यहरू गर्नू भनेर भावीले नै योजना बनाएर पठाएको हुनुपर्छ भन्ने लाग्न थालेको थियो । अमेरिका नै जाने इच्छा राखेको भए अझै पाँच वर्ष जिआरइको स्कोर भ्यालिड नै थियो । तर त्यतातिर जाँगर चलाउन अब मन लागेन । क्षेत्रगतरूपमा हेर्दा मेरो लागि चिया क्षेत्र केहि साँघुरो भएता पनि राष्ट्रलाई योगदान दिन यसले निकै ठूलो सम्भावना बोकेको छ भन्ने ‘दिव्य ज्ञान’ मलाई धनकुटामा नै प्राप्त भइसकेको थियो । त्यसैले फिनल्याण्डबाट प्राप्त ‘अफर लेटर’लाई तिलाञ्जली दिई बोर्डमै आफ्नो भविष्य खोज्न थालेँ ।

बोर्ड र चिया कफी क्षेत्रमा भविष्य खोज्न थालेको आज २०७९ चैत्र १६ गते ठ्याक्कै १० वर्ष पुगेछ । यस क्षेत्रलाई कति दिन सकियो, थाहा छैन । तर तीन महिनाको लागि भनेर खाएको यो जागिरमा १० वर्षसम्म पनि टिकिरहनु मेरो लागि एउटा अद्वितिय अनुभव हो । व्यक्तिगत रुपमा मैले र संस्थागत रुपमा सेक्टरले के के पायो वा के के गुमायो भनेर समिक्षा गर्ने बेला भएको छ । मिलेर होस् वा छुट्टिएर, बोर्ड र मैले पनि आआफ्नो भविष्यको खोजी कार्य जारी राख्नुपर्ने देखिन्छ । बोर्ड र म मिलेर सँगसँगै जाने कि, छुट्टिएर आआफ्नो बाटो लाग्ने भन्ने निर्णय गर्ने जिम्मा चाहिँ अहिलेको लागि प्रारब्धलाई नै छोडिदिउँ होला ।

सानो माछा