प्रह्लाद र मन्थराको शिर

2 years ago
गफाडी गाइड

मन्थराको शिर लिएर सेरिफस फर्किने क्रममा लिबियामा आइपुग्दा प्रह्लादले बोकेको झोलाबाट मन्थराको रगत तप्प तप्प भुइँमा चुहियो । रगतको प्रत्येक थोपाबाट सर्पहरू उत्पन्न भई लिबिया र आसपासका क्षेत्रमा फैलिँदा लिबिया र अफ्रिकाभरी आजसम्म पनि सर्पहरू छ्यास्छ्यास्ती भेटिन्छन् ।

साँझपख प्रह्लाद अफ्रिकाको उत्तरपश्चिमी भागमा आइपुगे जहाँ एकलव्यले सजाय कटाइरहेका थिए । ती एकलव्य तिनै हुन् जसलाई देवेन्द्रले टाइटनहरू बिरूद्धको युद्ध जितेपछि अनन्तकालसम्म ब्रह्माण्ड बोकेर बस्ने सजाय सुनाएका थिए । साँझ परेकाले प्रह्लादले एकलव्यसँग एक रातका लागि बास मागे । तर आफै अनन्तकालदेखि सजाय काटिरहेका एकलव्यले झर्किँदै बास-सास केहि नपाइने ठाडो जवाफ दिए । एकलव्यको रूखो व्यवहार देखेर प्रह्लादलाई निकै रिस उठ्यो अनि झोलाबाट मन्थराको काटिएको शिर झिकेर एकलव्यलाई देखाइदिए । त्यही क्षण एकलव्य विशाल शिलामा परिणत भए । अफ्रिका महादेशको उत्तरी भेगमा भुमध्यसागर तटियक्षेत्र र साहारा मरूभुमिको वीचमा पर्ने एटलस पर्वत श्रृंखला त्यसरी नै निर्माण भएको विश्वास गरिन्छ ।

सेरिफसतर्फको यात्रा जारी राख्दै प्रह्लाद वायुपंखी घोडामा इथोपियाको आकास हुँदै उडेरहेका बेला उनले चट्टानमा सिक्रीले बाँधिएकी एक सुन्दर युवतीलाई देखे। ती युवती इथोपियाकै राजकुमारी देवी थिइन् । उनकी माताले आफ्नी छोरी स्वर्गका अप्सराहरूभन्दा पनि सुन्दर रहेको भनि घमण्ड गर्दा समुन्द्रदेव क्रोधित भई समुन्द्री दैत्यलाई त्यहाँ इथोपियाको विनास गर्न पठाएका थिए । त्यो महाविनासबाट बच्न त्यस दैत्यलाई राजकुमारी नै बली दिनुपर्ने शर्त रहेकाले राजकुमारी देवी त्यो दर्दनाक अवस्थामा थिइन् ।

प्रह्लादले इथोपियाका राजालाई राजकुमारी देवीलाई बली नदिई समुन्द्री दैत्यको बध गर्न आफु सक्षम भएको कुरा बताए । यदि त्यसो गर्न सफल भए देवीसँग उनको विवाह गरिदिने इथोपियाका राजाले वचन दिए । त्यसपछि प्रह्लाद वायुपंखी घोडामा चढेर समुन्द्री दैत्य भएको ठाउँमा पुगे । दैत्यले उनलाई आक्रमण गर्न लागेकै बेला प्रह्लादले झोलाबाट मन्थराको शिर झिकेर त्यसलाई देखादिए । त्यहि क्षण समुन्द्री दैत्य शिलामा परिणत भयो । प्रह्लादको पराक्रम देखेर खुसी हुँदै इथोपियाका राजाले राजकुमारी देवीको हात उनलाई सुम्पिए ।

राजकुमारी देवीसँग प्रह्लाद सेरिफस फर्किए जहाँ दासराजले माता कयाधुमाथि अनेक अत्याचार गरिरहेका थिए । जबरजस्ती उनीसँग विवाह गर्ने तयारीस्वरूप दासराजले आफ्नो हबेलीमा रात्रीभोजको आयोजना गरेका थिए । अकस्मात प्रह्लादलाई आफ्नोसामु देखेपछि दासराजले आफ्नो उपहार खै भनेर सोधे । प्रह्लादले पनि झोलाबाट मन्थराको टाउको निकालेर देखाइदिए । तत् समय दासराज पनि शिलाको मुर्तिमा परिणत भए ।

त्यसपछि दासराजको ठाउँमा प्रह्लादले उनका भाइ अधिरथलाई सेरिफसको मुखिया बनाए । मन्थराको शिर मानव सभ्यताको लागि सँधै खतरा हुने भएकाले उनले दुर्गालाई त्यसको बिसर्जन गर्न हस्तान्तरण गरे । दुर्गाले त्यसलाई देवेन्द्रको ढालमा जडान गरिन् जसले देवताहरूका राजालाई अझ शक्तिशाली बनायो ।

मन्थराको कथाको अन्त्य यहीँ हुन्छ । तर प्रह्लाद र उसँग जोडिएको हजुरबुबा जम्भको भाग्यरेखा भने यहाँ टुङ्गिदैन ।

आफु र माता कयाधुमाथि जति नै अत्याचार गरे पनि आफ्ना हजुरबुबासँग शान्ती सम्झौता गर्ने उद्देश्यले प्रह्लाद आर्गोस तर्फ लागे । प्रह्लादको पराक्रमको कथा ग्रीसभरि फैलिएकाले राजा जम्भ उनको वीरताबाट अपरिचित थिएनन् । नाति प्रह्लादले शान्तीको सन्देश दिन खोजेपनि डेल्फी माताको भविष्यवाणी साँचो हुने भयले उनी आउनुअघि नै ज्यान बचाउन जम्भले आर्गोस त्याग गरेर थेस्ले तर्फ लागे । तर भावीले लेखेको कुरा टारेर कहाँ टर्थ्यो र ?

प्रह्लादको भाग्यले उनलाई डोर्‍याएर थेस्लेतर्फ नै लग्यो । थेस्लेमा आयोजना भएको घुँयत्रो फाल्ने खेलमा भाग लिँदा उनको हातबाट फुत्केको घुँयत्रोले एक वृद्धलाई लागेर मृत्यु भयो । ती वृद्ध आर्गोस छोडेर हिँडेका उनका हजुरबुबा जम्भ नै थिए । यसरी नचाहँदा नचाहँदै प्रह्लादको हातबाट जम्भको मृत्यु भयो । डेल्फी माताको भविष्यवाणी पुनः सत्य सावित भयो ।

हजुरबुबाको मृत्यु आफ्नो हातबाट भएपछि आर्गोस फर्केर राजकाज सम्हाल्ने इच्छा प्रह्लादलाई भएन । त्यसपछि आर्गोस र कोरिन्थको विचमा माइसिनी नामको नयाँ शहर स्थापना गरी पत्नी देवीसँग बाँकी जीवन बिताए । देवीले छ पुत्र र एक पुत्रीको जन्म दिइन् । उनैको वंशमा कालान्तरमा भगीरथ जस्ता महान योद्धाको जन्म भयो ।