विजया हरण र ऋतु परिवर्तन

4 years ago
गफाडी गाइड

स्वर्गका सबै देवताहरूले आ-आफ्ना जोडि बाँधिसकेका थिए । स्वर्गका राजा देवेन्द्रका त झन् देवी सची बाहेक अरू पनि थुप्रै सम्बन्धहरू थिए । उता पाताल लोकका स्वामी यमराज भने सँधै मृतहरूको न्यायनिसाफमा केन्द्रीत रहनुपर्दा अभिवाहित नै थिए । मनुष्यहरू मृत्युदाताको नाम पनि लिन चाहँदैन थिए भने देवताहरू पनि उनीसँग डराउँथे । यहि कारणले गर्दा यमराजसँग सम्बन्ध जोड्न कोहि पनि तयार थिएनन् ।

यमलोकको कामलाई थाती राखि एकदिन यमराज पृथ्वीमा विचरण गर्दा उनको नजर सहेलीहरूसँग चौरमा फूल टिपिरहेकी विजयामा पर्‍यो। कृषि र फसलकी देवी सुरभिको कोखबाट जन्मिएकी विजया देवेन्द्रपुत्री थिइन् । देवेन्द्रपुत्री भएपनि सानैदेखि उनलाई हुर्काउने बढाउने काम सुरभि एक्लैले गर्दैआएकी थिइन् । छोरी हुर्केर ठूली भइसक्दा पनि विजयालाई वालिकाकै जस्तो संरक्षण गर्ने सुरभिले आफ्नी छोरीमाथि कसैको छायाँ पनि पर्न दिँदैनथिइन् ।

जब यमराजको नजर फूलजस्ती कोमल विजयामाथि पर्‍यो तब उनको कठोर ह्रदय पनि पग्लियो । तर सँधै भूतप्रेत पिचासहरूसँग अँध्यारो पाताललोकमा बस्ने अधवैँसे यमराजलाई अति-ममतामयी माता सुरभिले आफ्नी छोरी कन्यादान देलिन् जस्तो उनलाई लागेन। अनि यमराज सगुनसहित सिधै आफ्ना भाइ देवेन्द्रकहाँ गए विजयाको हात माग्न ।

देवेन्द्रले आफ्नो दाजुको कुरा नकार्न सकेनन् । तर उनी विजयाका पिता भएतापनि सानैदेखि सुरभिले नै उनको लालनपालन गरेकीले उनीमाथि आफ्नो अधिकार जमाउने हैसियतमा भने थिएन । त्यसैले देवेन्द्रले नै उनलाई आफ्नै छोरी हरण गर्ने सल्लाह दिए।

विजया सँधैझैँ चौरमा फूल टिपिरहेकी बेला धर्ती फाटेर यमराज बाहिर निस्किए। सहयोगको लागि गुहार माग्ने समय पनि नदिई यमराजले उनलाई हरण गरी पाताललोक लिएर गए । धर्तीमा परेको चिरा पनि पुरिएपछि विजया कहाँ गइन् भन्ने पत्तोसम्म पनि कसैले पाएनन् । यस घटनाको साक्षी स्वयं देवेन्द्र र सूर्यदेव मात्रै थिए ।

यमराजबाट विजयाको हरण चित्रकारः Alessandro Allori (1535-1607)
यमराजबाट विजयाको हरण
चित्रकारः Alessandro Allori (1535-1607)

छोरी हराएपछि सुरभि गहिरो शोकमा परिन् अनि पृथ्वीभरी मशाल बालेर उनको खोजिमा निस्किइन् । नौ महिनासम्म खोजी गर्दा पनि विजया नभेटिएपछि कसैले उनलाई सूर्यदेवलाई सोध्नु भन्ने सल्लाह दिए । विजया दिउँसै हराएकीले सूर्यदेवको नजरबाट त्यो घटना छिप्ने कुरै भएन । तर यमराजसँग दुश्मनी मोल्न मन नभएकाले सूर्यदेव चुप नै थिए । सूर्यदेवसँग आफ्नो विन्ती बिसाएपछि सुरभिको विलौना देख्न उनले सकेनन् । त्यसपछि उनले विजयालाई यमराजले हरण गरेर पाताल लगेको रहस्योद्घाटन गरे । विजया पाताललोककी रानी हुने भएकाले धेरै विलौना नगर्न पनि उनले सल्लाह दिए ।

सूर्यदेवको कुरा सुरभिलाई उति चित्त परेन । आफ्नो फूल जस्ती छोरी त्यो अँध्यारो पातालमा कसरी बसेकी होलिन् भन्ने चिन्ताले उनलाई ग्रस्त पार्‍यो । त्यसपछि उनी एथेन्स नजिकैको एल्युसिस् भन्ने ठाउँ पुगेर छोरीलाई पातालबाट फिर्ता ल्याउन योजना बनाउन थालिन् । सुरभिले कृषि र फसलकी देवीको रूपमा धर्तीमा आफुले गर्नुपर्ने कर्तव्यबाट बिमुख भइन् । त्यसपछि पृथ्वीमा लामो समय उजाडता छायो । उब्जनी केहि नहुँदा भोकमरीले मनुष्यहरू मात्रै हैन पशुचौपाया पनि विलाप गर्न थाले । मनुष्यले भोग लगाउन छोडेपछि स्वर्गका देवताहरूले पनि केहि खान पाएनन् । देवेन्द्रले त्यसपछि विजयालाई फिर्ता गर्नु भन्ने सन्देश सहित आफ्ना दुतलाई यमराजकहाँ पठाए ।

यमराजले निकै ठूलो जोखिम मोलेर विजयाको हरण गरेका थिए । त्यति सजिलै पातालका स्वामी पनि हार मान्न तयार थिएनन् । अनि विजयालाई फिर्ता गर्नुअघि उनलाई अनारको छवटा दानाहरू खान लगाए । आफ्नी माताकहाँ जान पाइने भएपछि उनले पनि अनार खान मन्जुर भइन् । तर पातालमा केहि कुरा खाइयो भने सदाका लागि पाताल छोड्न नसकिने कुरा उनलाई थाह थिएन ।

देवेन्द्रका दुतसँग विजया पृथ्वीमा फर्किएपछि सुरभिको खुसि पनि फर्कियो । अनि पृथ्वीमा बसन्त ऋतुको आगमन भयो । वालीनाली सप्रिएर उब्जनी बढ्न थाल्यो। भोकमरी हटेर फेरि मनुष्य र देवताहरू खुसि भए । तर पातालमा खाएको अनारको प्रभावले छ महिनापछि विजयालाई पाताल र यमराजको न्यास्रो लाग्न थाल्यो अनि पुनः पाताल जाने इच्छा व्यक्त गरिन् । छोरी पाताल प्रस्थान गरेपछि सुरभि पुनः दुःखी हुँदा चारैतिर उजाड भई पृथ्वीमा शिशिर याम लाग्यो । यसरी विजया छ महिना पातालमा पति यमराजसँग र छ महिना पृथ्वीमा माता सुरभिसँग बस्न थाल्दा पृथ्वीमा ऋतु परिवर्तन हुन थाल्यो ।

ग्रीक पात्रहरूको परिचय

ग्रीक नाम नेपाली नाम परिचय
Zeus देवेन्द्र स्वर्गको राजा
Hera देवी सची देवेन्द्रकी कान्छी दिदी र पत्नी, स्वर्गकी रानी
Hades यमराज देवेन्द्रका जेठा दाजु र पातालको राजा
Demeter सुरभि देवेन्द्रकी माइली दिदी, कृषि र फसलकी देवी
Persephone विजया कृषि र फसलकी देवी सुरभिकी पुत्री, यमराजकी पत्नी
Helios सुर्यदेव सुर्य देवता
ऋतु