देवी सची देवेन्द्रकी पतिव्रता रानी थिइन् । तर देवेन्द्रको भने अनगिन्ती सम्बन्धहरू थिए । स्वर्गका देवीहरूसँग मात्रै हैन धेरै पटक भेष बदलेर पृथ्वीका स्त्रीहरूसँग पनि संसर्ग गर्न देवेन्द्र पछि पर्दैन थिए ।
एकपटक समुद्रदेवकी नातिनी उरूपा उनका संगिनीहरूसित समुद्रतटमा विचरण गरिरहेकी थिइन् । उनी टाअः राज्यकी अत्यन्त सुन्दर राजकुमारी थिइन् । त्यहि बेला देवेन्द्रको गिद्धे नजर राजकुमारी उरूपामाथि पर्यो । देवेन्द्रले साँढेको रूप धारण गरेर उरूपाको नजिक गए । सुरूमा अजङ्गको साँढे देखेर डर लागेपनि उरूपाले विस्तारै आफ्नो कोमल हातले सुम्सुमाइन् । सेतो छाला र चन्द्रमा जस्ता सुन्दर सिङ्हरू भएको साँढे देखेपछि उनले वनका फुलहरूको माला बनाएर लगाइदिइन् । साँढेको रूप धारण गरेका देवेन्द्रले पनि ज्ञानी बालकझैँ हलचल नगरी राजकुमारीलाई मन लागेको गर्न दिइरहे । त्यसपछि उरूपालाई साँढेमाथि चढ्न मन लाग्यो । देवेन्द्र त्यसैको प्रतिक्षामा थिए । जब राजकुमारी साँढेको काँधमा बसेर सिङ् समाते तब साँढे बेतोडले समुद्रतर्फ भाग्यो । उरूपा आँत्तिइन् तर साँढेको गति यति तेज थियो कि उनले ओर्लिने आँटसम्म गर्न सकिनन् ।

चित्रकारः Jean François de Troy (1679-1752)
साँढे क्रेते टापुमा पुगेर रोकियो जहाँ देवेन्द्रले उरूपालाई आफ्नो वास्तविक रूप देखाए । स्वर्गका राजा देवेन्द्रले नै आफ्नो हरण गरेको उरूपाले थाह पाइन् । देवेन्द्रले उरूपालाई क्रेते टापुकी रानी बनाएर राखे जहाँ उनले तीन सन्तानलाई जन्म दिइन् जो कालान्तरमा मृत्युपछि पाताललोकका परमज्ञानी चित्रगुप्तहरू भएर बसे।
उरूपालाई क्रेते टापुमा छोडेर स्वर्ग फर्किनु अघि देवेन्द्रले उनलाई सुन्दर हार उपहार दिए जसलाई स्वयं विश्वकर्माले बनाएका थिए । त्यसका अलावा उनलाई अन्य तीन उपहारहरू पनि दिए । पहिलो – अंगरक्षकको रूपमा लौहपुरूष, दोश्रो – जे पनि सिकार गर्न सक्ने कुकुर र तेश्रो – जहाँ भन्यो त्यहीँ निसाना लगाउन सकिने भाला । यि उपहारहरू दिएर साँढेको प्रतिकको रूपमा तारामण्डलमा वृष राषि छोड्दै देवेन्द्र स्वर्ग फर्किए । क्रेते टापुको रानीको रूपमा उरूपाको बाँकी जीवन त्यहीँ बित्यो । कालान्तरमा उनैको ग्रीक नाम युरोपाबाट युरोप महादेशको नामाकरण भएको । तर कथा यत्तिकैमा भने सकिँदैन।
राजकुमारी उरूपा हराएपछि उनका पिता निकै चिन्तित थिए । कहाँ गइन्, कसले लगे भन्ने बारे केही पत्तो लागेन । उनले कादमस सहित आफ्ना चारै छोराहरूलाई पृथ्वीको जुनसुकै कुनामा भए पनि उरूपालाई खोजेर ल्याउनु र फेला नपारेसम्म घर नफर्किनु भन्ने आदेश दिए ।
चारै भाइहरू उरूपालाई खोज्न केही सहयोगीहरू सहित चारै दिशा तिर प्रस्थान गरे । कान्छो कादमससँग आमा पनि साथै गइन् । सबैले आ-आफ्नो तर्फबाट खोजी सुरू गरे । तर सियोको टुप्पो जति पनि संकेत कसैले फेला पारेनन् । वर्षौसम्म खोज्दा पनि बहिनी नभेटिएपछि कादमसका दाजुहरूले हरेस खाए । पिताले उरूपा नभेटिएसम्म घर नफर्किनु भन्ने आदेश दिएकाले कसैले पनि घर फर्किने साहस गरेनन् । अन्ततः उरूपाको खोजी गर्ने उद्देश्यलाई पालै पालो त्यागेर तीनै दाजुभाइहरू जहाँ जहाँ पुगेका थिए त्यहाँ त्यहाँ आ-आफ्नो नामको शहर स्थापना गरी राज्य गर्न थाले ।
कान्छो भाइ कादमसको कथा भने अलि लामो छ । उनीसँग आएकी माताले छोरीसँगको वियोग सहन नसकेर बाटोमै प्राण त्याग गरिन् । माताको अन्तिम संस्कार सकेर कादमस आफ्नो प्रिय बहिनीको खोजी गर्दै तीर्थयात्रामा लागे । यात्राको क्रममा डेल्फी पुग्दा मन्दिरकी एक माताले उरूपा जहाँ भए पनि सुरक्षित र खुसि नै रहेकीले खोजी नगर्नु, बरू आफ्ना दाजुहरूले जस्तै नयाँ ठाउँमा किल्ला गाढ्नु भन्ने सुझाव दिइन् । बहिनी सुरक्षित रहेको कुरा थाह पाएपछि कादमसको मन हलुका भयो अनि डेल्फी मातासँग थप मार्गदर्शनको अपेक्षा गरे । माताले मन्दिर बाहिरको एउटा घोडालाई पछ्याउनु र जहाँ त्यो रोकिन्छ त्यहीँ शहर बनाउनु भन्ने सल्लाह दिए ।
डेल्फी माताको सल्लाह बमोजिम कादमस आफ्ना सहयोगीहरूको साथमा मन्दिर बाहिर रहेको एउटा घोडाको पछिपछि लागे । नदी तरेर एउटा स्थानमा पुगेपछि घोडा टक्क अडियो । माताले भने बमोजिम त्यही ठाउँमा शहर बनाउने बिचार गर्दै दुर्गाको आराधना गरेर कादमसले घोडा बली दिने निर्णय गरे ।
घोडा बली दिनको लागि चोखो पानी लिन कादमसले आफ्ना सहयोगीहरूलाई पठाए। पानी लिन हिडेका उनका सहयोगीहरूले एउटा छहरो भेटे । छहराबाट पानी भर्न लाग्दा एउटा बडेमानको सर्प आई सबै सहयोगीहरूलाई डस्यो । चोखो पानी लिन गएका आफ्ना सहयोगीहरू फिर्ता नआएपछि कादमस आफै सहयोगीहरू खोज्न गए । ठीक त्यहि छहरोनिर सर्पसँग उनको भेट भयो । त्यो भिमकाय सर्पले नै आफ्ना सहयोगीहरूको हत्या गरेको चाल पाए पछि कादमस सर्पसँग निकै रिसाए । कादमस र सर्पकोवीच घमासान लडाइँ भयो । अन्ततः कादमसले सर्पमाथि कठिन जीत हासिल गरे ।
कादमसले त्यही छहराबाट चोखो पानी लिएर घोडाको बली दिई दुर्गाको आराधना गरे । दुर्गाले प्रसन्न भएर के बर माग्छौ माग भनिन् । कादमसले त्यहाँ शहर बनाउन लागेको तर आफुसँग भएका सहयोगीहरू भिमकाय सर्पले मारेकाले कोहि बाँकी नरहेको कुरा बताए । त्यसपछि दुर्गाले उनलाई त्यो भिमकाय सर्पका दाँतहरू जमिनमा रोप्नु भनिन् । उनले त्यसै गरे । सर्पको दाँतहरू भुइँमा रोप्ने बित्तिकै जमिनबाट केहि जत्था फौज उत्पन्न भयो । कादमसले केहि गर्नु वा भन्नु अघि ती फौजका लडाकुहरू एक आपसमा लड्न थाले । लड्दा लड्दा फौजमा जम्मा पाँच जना मात्रै अजेय योद्धा बाँकी रहेपछि लडाइँ रोकियो । ती पाँच योद्धाहरूको सहयोगमा कादमसले थेबेस शहरको स्थापना गरे । थेबेस त्यही शहर हो जहाँ कालान्तरमा प्रह्लाद र भगीरथ जस्ता महान् योद्धाको जन्म भयो ।

चित्रकारः Jacob Jordaens (1593–1678)
मिथक पात्रहरूको परिचय
| ग्रीक नाम | नेपाली नाम | परिचय |
| Zeus | देवेन्द्र | स्वर्गको राजा |
| Hera | देवी सची | देवेन्द्रकी कान्छी दिदी र पत्नी, स्वर्गकी रानी |
| Poseidon | समुद्रदेव | देवेन्द्रका माहिला दाजु र समुद्रको राजा |
| Athena | दुर्गा | देवेन्द्रकी पुत्री, ज्ञान र रक्षाकी देवी |
| Europa | उरूपा | कादमसकी बहिनी, जसको नामबाट युरोप महादेशको नामाकरण गरिएको |
| Cadmus | कादमस | समुद्रका नाति, थेबेस राज्यका संस्थापक राजा |
| Oracle of Delpi | डेल्फी माता | भविष्यवाणी गर्ने डेल्फीको मन्दिरकी मुख्य पुजारिनी |
