प्रह्लादको जन्म र नियती

2 years ago
गफाडी गाइड

कोरिन्थको दक्षिणमा पर्ने आर्गोस राज्यमा राजा जम्भले राजकाज सम्हालेका थिए। सन्तानको रूपमा पुत्री कयाधु मात्र रहेकाले उनी पुत्रविहिन थिए । पुत्रप्राप्तीको अभिलासाका साथ डेल्फी माताकहाँ जाँदा माताले उनलाई उनको भाग्यमा पुत्र नरहेको, बरू छोरी कयाधुका पुत्रबाट उनको मृत्यु हुने कुरा बताइन् । त्यसपछि पुत्रप्राप्तीको इच्छालाई त्यहिँ तिलाञ्जली दिई आफ्नो जीवन रक्षाका लागि उपाय खोज्न थाले ।

कयाधु त्यसबेलासम्म अविवाहित नै थिइन् । कुनै पनि पुरूषको संसर्घबाट टाढा राख्न पिता जम्भले उनलाई तामाको बाकसमा बन्दी बनाएर राखे । झ्याल ढोका केहि पनि नभएको त्यस बाकसमा केहि हावा र प्रकाशका लागि माथिल्लो भागमा सानो प्वाल मात्र बनाइएको थियो। सबै कुरा हेरिरहेका देवेन्द्रले स्वर्णवर्षाको रूपमा त्यहि प्वालबाट प्रवेश गरी कयाधुलाई गर्भवती बनाए । त्यसको नौ महिनापछि उनले प्रह्लादलाई जन्म दिइन् ।

राजकुमारी कयाधु र स्वर्णवर्षा

चित्रकारः Jan Gossaert gen. Mabuse (1478-1532)

कयाधुलाई सन्तानविहिन बनाउने जम्भले गरेको प्रयास खेर गएपछि उनले कयाधु र प्रह्लादलाई काठको बाकसमा बन्द गरेर समुन्द्रमा फाल्न लगाए । देवेन्द्रको अनुरोधमा समुन्द्रदेवले उनीहरूलाई बगाएर सेरिफस टापु सकुसल पुर्‍याए जहाँ अधिरथ नाम गरेका एक माझीले उक्त बाकस भेट्टाएर कयाधु र प्रह्लादको उद्धार गरे । अधिरथकै संरक्षण पाएका कयाधुले त्यहीँ प्रह्लादलाई हुर्काइन् ।

सेरिफस टापुका माझीहरूको मुखिया अधिरथका दाजु दासराज थिए जसको गिद्धे नजर राजकुमारी कयाधुमाथि पर्‍यो । तर सानैदेखि वीर प्रह्लादले आफ्नी माताको रक्षार्थ खटिँदा दासराजले उनलाई आफ्नो बनाउन सकिरहेका थिएनन् । प्रह्लादलाई पाखा लगाउँदै कयाधुलाई जसरी पनि हासिल गर्ने योजना सहित दासराजले एउटा वृहत् भोजको आयोजना गरेर सेरिफसवासी सबैलाई निमन्त्रणा गरे ।

परम्पराअनुसार भोजमा आमन्त्रण भएका सबैले दासराजका लागि घोडा उपहार लिएर आएका थिए । तर अधिरथको घरमा आश्रय लिएका प्रह्लादसँग केहि थिएन। आफ्नो र माताको आत्मसम्मानको रक्षा गर्न भावनामा डुबेर दासराजबाट जे मर्जी हुन्छ त्यहि उपहार लिएर आउने प्रतिज्ञा प्रह्लादले गरे । त्यहि क्षणको प्रतिक्षामा रहेका दासराजले प्रह्लादलाई मन्थराको शिर लिएर आउन लगाए । सर्पैसर्पको कपाल भएकी मन्थरा एक डरलाग्दी राक्षस्नी थिइन् जसलाई देख्ने वित्तिकै जो कोहि पनि शिला बन्ने गर्थ्यो।

प्रह्लादको कथालाई अगाडी बढाउनुभन्दा अघि मन्थराको ईतिहास बुझ्न जरुरी छ। देवकुलमा नै जिन्मिएकी मन्थरा पहिले त्यस्ती डरलाग्दी थिइनन् । एथेन्सको दुर्गा मन्दिरमा पुजारीको काम गर्ने मन्थरा निकै सुन्दर र सुशिल थिइन् । उनको लामो लहलहाउँदो सुनौलो कपालबाट जो कोहि पनि प्रभावित हुने गर्थे । एकदिन समुन्द्रदेवको नजर मन्थरा र उनको कपालमा पर्‍यो । समुन्द्रका देवतालाई आफ्नो सामुन्ने पाएपछि मन्थराले पनि दुर्गा प्रतिको आफ्नो श्रद्धालाई बिर्सिएर समुन्द्रदेवलाई नै आफ्नो शरीर सुम्पिइन् । मन्दिर मै उनीहरूले सम्बन्ध राख्न थालेपछि मन्थरासँग दुर्गा निकै क्रोधित भइन् । मन्थराको त्यो सुन्दर कपाल नै उनको श्रद्धाबाट बिमुख हुनुको कारण रहेको निश्कर्ष निकाल्दै त्यसको ठाउँमा डर लाग्दा सर्पहरू उम्रियोस् र उनलाई देख्ने जो कोहि पनि शिला हुन परोस् भन्ने श्राप दुर्गाले दिएकी थिइन् । डरलाग्दी राक्षस्नीमा परिणत भएकी मन्थरा पृथ्वीको अन्तिम सिमानाको एक गुफामा लुकेर बस्ने गरेकी थिइन् । तिनै मन्थराको शिर ल्याउन दासराजले प्रह्लादलाई अह्राएका थिए ।

किंकर्तव्यविमूढ भएका देवेन्द्रपुत्र प्रह्लाद त्यस साँझ समुन्द्रतिर आँखा डुलाउँदै मन्थराको शिर कहाँबाट र कसरी ल्याउने भन्ने विषयमा चिन्तन गर्दै बसिरहेका थिए । सबै कुरा नियालीरहेकी दुर्गा प्रकट भइन् अनि प्रह्लादलाई कुनै समय आफ्नी भक्तिनी रहेकी मन्थराको बध गर्न ढाल तरबार दिइन् । त्यस ढाल विशेष किसिमको थियो । मन्थरालाई सिधा हेर्दा शिला बन्ने खतरा रहेकाले ऐना हेर्न मिल्ने गरी ढाललाई टल्काइएको थियो । त्यसपछि देवेन्द्रका दुत पनि प्रकट भई उनलाई यमराजको अदृश्य हुने मुकुट, उड्ने जुत्ता र विशेष झोला दिए । यति हातहतियारले सुसज्जित भएपछि मन्थराको बध गर्न प्रह्लाद तयार भए । अनि मन्थरा लुकेको गुफा पत्ता लाउन एक आँखे बोक्सीहरूलाई भेट्नु भन्ने सल्लाह दिएर दुवैजना अन्तर्ध्यान भए ।

देवेन्द्रका दुतले दिएको चमत्कारिक जुत्ता लगाएर उड्दै प्रह्लाद एक आँखे बोक्सीहरूको कुटिमा पुगे । पालै पालो एउटा बाह्य आँखोले हेर्ने ति अन्धा बोक्सीहरूसँग उनले मन्थरा बसेको गुफाको बारेमा सोधे । उनको प्रश्नमा त्यति रूची नदिई जुन बाटो आएको त्यही बाटो फर्किनु भन्ने प्रतिक्रिया तिनीहरूले दिए। त्यसपछि तिनीहरूबाट मन्थराको गुफा बारे जानकारी लिएर मात्रै फर्किने दृढताकासाथ प्रह्लादले बोक्सीहरूको आँखो लुकाइदिए । आँखो हराएपछि बोक्सीहरू निरिह भए । मन्थराको ठेगाना बताएपछि मात्रै आँखो फिर्ता पाइने शर्त प्रह्लादले राखेपछि बाध्य भएर तिनीहरूले सबै कुरा बताइदिए ।

एक आँखे बोक्सीहरूले दिएको जानकारी बमोजिम प्रह्लाद मन्थराको गुफामा पुगे। गुफाको छेउछाउमा विभिन्न मनुष्य एवं पशुपन्छीको मुर्तीहरू थिए । तिनीहरू सबैले विभिन्न समयमा मन्थरालाई नाङ्गो आँखाले हेरेकाले शिलामा परिणत भएका थिए । यमराजको अन्तर्ध्यान हुने मुकुट लगाएर दुर्गाले दिएको ऐना जस्तो ढालमा परेको छायाँ हेर्दै होसियारीका साथ उनी मन्थराको खोजीमा गुफा पसे ।

केहि बेरपछि गुफाको भित्री भागमा प्रह्लादले आफ्नो ढालमा मन्थराको पर्छायीँ देखे । गहिरो निन्द्रामा सुतिरहेकी मन्थराको सर्पैसर्प भएको कपाल पनि सुस्ताएको थियो । यमराजको अदृश्य हुने मुकुट लगाएका प्रह्लादलाई देख्नसक्ने अरू कोही त्यहाँ मौजुद थिएन । त्यहि मौका छोपी प्रह्लादले आफ्नो धारिलो तरबारले उनलाई मार हाने । मन्थराको टाउको काटिएपछि उनको गिँडबाट वायुपंखी घोडा र स्वर्ण तरबार लिएको बालक निस्कियो । ती जीवहरू समुन्द्रदेवसँगको संसर्गबाट मन्थराले नजन्माएका बच्चाहरू थिए । मन्थराको बधपछि गुफाभित्र कोलाहल छायो । एकक्षण पनि विलम्ब नगरी प्रह्लादले मन्थराको शिर देवेन्द्रका दुतले दिएको विशेष झोलामा राखेर त्यही वायुपंखी घोडामा चढेर कुलेलाम ठोके।

ग्रिक मिथक