ग्रीसको मिथक इतिहासमा निकै चतुर राजाको रूपमा कुख्यात शिशुपालको जन्म हेलनस् वंशमा मध्य ग्रीसको थेस्ले राज्यमा भएको थियो । नाताले सत्यव्रतका पनाती र हेलनका नाती पर्ने शिशुपाल पिता दमघोषका उत्तराधिकारी थिए । तर उनका भाइ बलीले उनलाई पाखा लगाउँदै थेस्लेका राजा बनेका थिए । भाइ बलीसँग उनको कहिलेपनि राम्रो सम्बन्ध नभएका कारण भाइको राज्याभिषेकपछि उनी थेस्लेमा बसिरहन सकेनन् । आफ्नै बुद्धि र सामर्थ्यले उनले मध्य ग्रीसको दक्षिणी भागमा कोरिन्थ शहर स्थापना गरी आफै राज्य चलाउन थाले । आफ्ना प्रतिद्वन्दीहरूलाई छलकपटमार्फत पाखा लगाएर उनको चतुर्याइँमा ग्रीसकै मुख्य व्यापारिक नाकाको रूपमा कोरिन्थले उन्नती गर्दै गयो ।
शिशुपाल जति चतुर र धुर्त थिए त्योभन्दा पनि बढि निर्दयी थिए । अन्य राज्यका मुसाफिर र व्यापारीहरूलाई कोरिन्थमा लोभ देखाएर बोलाउने र जनतालाई आफु कडा शासक हुँ भनेर देखाउन स्वार्थ पुरा भएपछि तिनीहरूको हत्या गर्ने गर्थे । पाहुनाको स्वागत सत्कारका लागि छुट्टै विधान रहेको त्यति बेलाको ग्रीसमा त्यो अक्षम्य पाप थियो जसलाई स्वयं देवेन्द्रले न्यायनिसाफ गर्थे । तर आफ्नो बुद्धि र बर्कतमा उनलाई यति धेरै घमण्ड थियो कि देवताहरूलाई पनि झुक्याउन सक्ने भ्रम उनले पालेर बसेका थिए ।
उनले स्थापना गरेको कोरिन्थ राज्यले जति नै प्रगति गरेपनि थेस्लेमा राज्य गरिरहेका भाइ बलीसँग प्रतिशोधको खेल खेल्न सँधै योजना बुनेर बसिरहेका हुन्थे। भाइसँग बदला लिने उपाय बारे सल्लाह लिन उनी डेल्फीको मन्दिर गएका बखत डेल्फी माताले बलीपुत्री तारासँग सम्बन्ध राख्नु भन्ने पहेली सुनाएकी थिइन्। ताराका पुत्रहरू नै बलीको सत्ताच्युतको कारण बन्ने पहेली चतुर शिशुपालले सुल्झाए । धुर्त शिशुपालले ललाईफकाई गरी आफ्नै भतिजीसँग सम्बन्ध राखे। ताराले शिशुपालका दुईवटा पुत्रहरूलाई जन्म दिइन् । तर जब उनले डेल्फी माताको भविष्यवाणी थाहा पाइन् तब आफ्ना प्रिय पिताको रक्षाका लागि शिशुपालका पुत्रहरूको हत्या आफैले गरिन् । उता शिशुपालले थेस्लेभरी ती पुत्रहरू राजा बलीकै भएकाले हत्या भएको भन्ने अफवाह फैलाए । शिशुपालको कुटिल चाल पत्याइयो अनि राजगद्धिबाट बली हटाइए ।
शिशुपालले मनुष्यहरूलाई मात्रै हैन देवताहरूलाई पनि झुक्याउने र प्रयोग गर्ने गरेका थिए । देवताहरूसँग असिमित शक्ति भएपनि केहि दुर्वलताहरू अवश्य थिए। स्वयं देवेन्द्रले आफ्नो कामाक्षालाई नियन्त्रणमा राख्न नसक्दा उरूपा पछि पनि थुप्रै स्त्रीहरूको हरण गरिरहे । एक दिन देवेन्द्रले चिलको रूप धारण गरी समुद्रदेवकी अर्की नातिनी अगिनालाई हरण गरेर कोरिन्थको आकास हुँदै गइरहेका बेला शिशुपालले देखे । अगिनाका पिता उनलाई खोज्दै कोरिन्थ पुगेका बेला शिशुपालले आफुले उनकी पुत्रीलाई देखेको तर एउटा शर्तमा मात्रै भन्ने कुरा बताए । कोरिन्थमा सबै सुविधा भएपनि त्यति बेला पिउने पानीको अभाव थियो। शिशुपालले अगिनाका पितालाई कोरिन्थमा पानीको मूल फुटाइदिन आग्रह गरे । उनले भनेकै ठाउँमा खोला बगेपछि देवेन्द्रले अगिनालाई हरण गरेर नजिकैको टापुतर्फ लगेको कुरा शिशुपालले बताए ।
त्यसपछि अगिनाका पिता र देवेन्द्रवीच भयङ्कर युद्ध भयो । देवेन्द्रले हार्नै लागेको बेला आफ्नो अचुक अश्त्र बज्र प्रहार गरे । उनले युद्ध त जिते तर अगिनालाई लुकाइएको ठाउँ बताइदिने शिशुपालसँग निकै क्रोधित भए । अनि शिशुपाललाई टार्टारस बन्दीगृहमा टाइटनहरूसँगै जाक्न आफ्ना दाजु यमराजलाई आग्रह गरे । देवेन्द्रको आग्रहलाई यमराजले अस्वीकार गर्न सकेनन् । अनि आफ्नो यमपाश लिएर शिशुपालको दरबारमा पुगे ।
आफुलाई लिन स्वयं मृत्युका देवता आएपछि धुर्तविद्यामा निपुर्ण शिशुपालले यमराजलाई उल्टै आफ्नो शब्दजालमा फसाए । उनले पातालका स्वामी यमराजलाई देवताहरूमा सबैभन्दा शक्तिशाली रहेको भनेर प्रशंसा गर्दै उनको यमपाशले कसरी काम गर्छ भन्ने कुरा मर्नुअघि जान्ने इच्छा रहेको बताए । मख्ख पर्दै यमराजले उनको अन्तिम इच्छा पुरा गर्न यमपाश आफैलाई प्रयोग गरी शिशुपाललाई देखाइदिए । ठीक त्यहीबेला शिशुपालले यमपाशको गाँठो कसि यमराजलाई नै बन्दी बनाएर मृत्युको मुखबाट उम्किए ।
यमराज बन्दी भएपछि धर्तीमा कसैको मृत्यु भएन । एकातिर वृद्धवृद्धा झन् झन् वृद्ध र कमजोर बन्दै गए भने अर्कातिर विभिन्न युद्धहरूमा घाइते भएकाहरूको प्राण नजाँदा पृथ्वी पुरै रोगी र अशक्तहरूले भरिन थाल्यो । युद्धमा कसैको पनि जय-पराजय नहुने भएपछि युद्धका देवता मेषले हस्तक्षेप गरे । उनले यमराजलाई यमपाशबाट मुक्त गरि शिशुपाल जिम्मा लगाए ।
त्यस दिनका लागि पनि शिशुपाल योजना सहित तम्तयार थिए । शिशुपालले पत्नीलाई आफ्नो मृत्यु भएको खण्डमा लासको अन्तिम संस्कार नगर्नु, पिण्ड दान नगर्नु, यमराज वा कुनै देवतालई भोग नलगाउनु भनि अह्राएका थिए । जब यमराजले शिशुपालको प्राण लिएर यमलोक गए तब उनले त्यसै गरिन् । उनको लास विधिवत् नगाढि त्यसै फालियो ।
पृथ्वीमा आफुले गरेको कर्मको फलबारे यमलोकमा सुनुवाइ हुनुअघि शिशुपालले यमपत्नी विजयासँग भेटेर शब्दजाल थापे । अन्तिम संस्कार नहुँदा पृथ्वीमा आफ्नो लासको हरिविजोग भएकाले तीन दिनका लागि फर्किने अनुमती मागे । पत्नीले मृत पतिको अन्तिम संस्कार नगर्दा पृथ्वीमा गलत नजिर बस्ने कुरालाई जोड दिई आफ्नो लासको व्यवस्थापन गर्न लगाएर तीन दिनमा आफै यमलोक हाजिर हुने कसम पनि खाए ।
चतुर शिशुपालको शब्दजालमा दयालु विजया फसिहालिन् । उनले शिशुपाललाई पृथ्वी फर्किन अनुमती दिइन् । जब उनको आत्मा पृथ्वीमा भएको शरिरसँग मिलन भयो तब शिशुपाल पुनः जीवित भए । विजयालाई दिएको कसमको वास्ता नगरी पुनः उनी आफ्नो राजकाजमा फर्किए । अघिल्लो पटकको तीतो अनुभवका कारण उनलाई लिन पुनः जान यमराजलाई त्यति जाँगर चलेन । चतुर शिशुपालले दुई-दुई पटकसम्म मृत्युदातालाई उल्लु बनाए ।
शिशुपाल देवताहरूजस्तै अमर नभएकाले वृद्धावस्था पछि उनको स्वभाविक मृत्यु भयो। देवताहरूलाई समेत उल्लु बनाएको अपराधमा उनका लागि स्वयं देवेन्द्रले टार्टारसमा उनको सजायको तयारी गरिसकेका थिए । शिशुपाललाई एउटा ठूलो चट्टानलाई पहाडको टाकुरामा पुर्याउन र त्यसरी टाकुरामा पुग्न सफल भएमा उनको सजाय पुरा हुने कुरा भनियो ।
टाकुरामा पुग्न सफल भए आफ्नो सजाय पुरा हुने भएपछि खुसि हुँदै शिशुपाल चट्टानसहित उकालो लाग्न थाले । तर टुप्पामा पुग्नुभन्दा केहि क्षणअघि चट्टानको वजन बढ्ने हुँदा उनले सम्हाल्न नसकेर चट्टान गुड्दै पहाडको फेदिमा पुग्थ्यो । शिशुपाल फेरि ओरालो झरेर चट्टानलाई पुनः शिखरमा पुर्याउन उकालो लाग्थे । तर प्रत्येक पटक सोहि नियती भोग्नुपर्दा अनन्तकालसम्म उनले असफल प्रयास गरिरहनु पर्यो । भनिन्छ आजसम्म पनि शिशुपाल टार्टारसमा त्यसरीनै सजाय कटाइरहेकाछन् ।
त्यसैले कठिन परिश्रमका वावजुत कहिलेपनि समाप्त नहुने कार्य बुझाउनु पर्यो भने अङ्ग्रेजीमा Sisyphean task भन्ने गरिन्छ ।

चित्रकारः Tiziano Vecelli (1490-1576)
