उनको चिन्ता र मेरो चिन्ता

1 year ago
गफाडी गाइड

उनी छोराले खाना नखाएर चिन्ता लिन्छिन्,

म छोराले खाने बेलामा मोबाइल माग्ला कि भनेर चिन्ता लिन्छु ।

 

उनी छोराले होमवर्क नगरेर चिन्ता लिन्छिन्,

म छोराले घरको काम नसिक्ला कि भनेर चिन्ता लिन्छु ।

 

उनी छोराले धेरै बकबक गरेकाले चिन्ता लिन्छिन्,

म छोराले आफुभन्दा ठूलाले भनेको नसुन्ला कि भनेर चिन्ता लिन्छु ।

 

उनी छोराले जवाफ फर्काएकोले चिन्ता लिन्छिन्,

म छोराले आगन्तुकलाई अभिवादन नगर्ला कि भनेर चिन्ता लिन्छु ।

 

उनी छोराले जंकफुड माग्ला कि भनेर चिन्ता लिन्छिन्,

म छोरोले चाउचाउको खोल डस्टबिनमा नहाल्ला कि भनेर चिन्ता लिन्छु ।

 

उनी छोराले कोठामा भद्रगोल पारेकोले चिन्ता लिन्छिन्

म छोराले सामान चलाएपछि नमिलाइ त्यसै छोड्छ कि भनेर चिन्ता लिन्छु ।

 

उनी छोराले बहिनीसँग झगडा गरेकाले चिन्ता लिन्छिन्,

म छोराले सबै नारी जातीलाई सम्मान नगर्ला कि भनेर चिन्ता लिन्छु ।

 

उनी छोरा लड्यो भनेर चिन्ता लिन्छिन्,

म छोरा लडेपछि आफै नउठ्ला कि भनेर चिन्ता लिन्छु ।

 

किनकी उनी आमा हुन्, म बाउ हुँ ।

उनले लिने चिन्ता र मैले लिने चिन्तामा केहि भिन्नताहरू अवश्य छन् ।

 

उनको चिन्ता ममता हो, जसले पालनपोषण गर्छ,

मेरो चिन्ता मार्गदर्शन हो, जसले दिशा देखाउँछ ।

 

हाम्रो चिन्ता नै चासो र स्नेहको मिलन हो।

तर छोरोप्रतिको हाम्रो मायाको मूल तत्व भने एकै हो ।

बालबालिकाको कुरा भावना परिवार