उनी छोराले खाना नखाएर चिन्ता लिन्छिन्,
म छोराले खाने बेलामा मोबाइल माग्ला कि भनेर चिन्ता लिन्छु ।
उनी छोराले होमवर्क नगरेर चिन्ता लिन्छिन्,
म छोराले घरको काम नसिक्ला कि भनेर चिन्ता लिन्छु ।
उनी छोराले धेरै बकबक गरेकाले चिन्ता लिन्छिन्,
म छोराले आफुभन्दा ठूलाले भनेको नसुन्ला कि भनेर चिन्ता लिन्छु ।
उनी छोराले जवाफ फर्काएकोले चिन्ता लिन्छिन्,
म छोराले आगन्तुकलाई अभिवादन नगर्ला कि भनेर चिन्ता लिन्छु ।
उनी छोराले जंकफुड माग्ला कि भनेर चिन्ता लिन्छिन्,
म छोरोले चाउचाउको खोल डस्टबिनमा नहाल्ला कि भनेर चिन्ता लिन्छु ।
उनी छोराले कोठामा भद्रगोल पारेकोले चिन्ता लिन्छिन्
म छोराले सामान चलाएपछि नमिलाइ त्यसै छोड्छ कि भनेर चिन्ता लिन्छु ।
उनी छोराले बहिनीसँग झगडा गरेकाले चिन्ता लिन्छिन्,
म छोराले सबै नारी जातीलाई सम्मान नगर्ला कि भनेर चिन्ता लिन्छु ।
उनी छोरा लड्यो भनेर चिन्ता लिन्छिन्,
म छोरा लडेपछि आफै नउठ्ला कि भनेर चिन्ता लिन्छु ।
किनकी उनी आमा हुन्, म बाउ हुँ ।
उनले लिने चिन्ता र मैले लिने चिन्तामा केहि भिन्नताहरू अवश्य छन् ।
उनको चिन्ता ममता हो, जसले पालनपोषण गर्छ,
मेरो चिन्ता मार्गदर्शन हो, जसले दिशा देखाउँछ ।
हाम्रो चिन्ता नै चासो र स्नेहको मिलन हो।
तर छोरोप्रतिको हाम्रो मायाको मूल तत्व भने एकै हो ।
