बेलुन

केटाकेटीहरू खेल्दै थिए । दुवैजनालाई एउटा एउटा बेलुन किनिदिएकी थिइन् उनीले । खेल्दा खेल्दै बाबुको बेलुन फुट्यो । आफ्नो बेलुन फुटेपछि सानी बहिनीको बेलुनमा उसको आँखा पर्यो । माग्यो । तर बहिनी पनि के कम? दिइनन् । केटो झन् जब्बर । खोस्न थाल्यो । एकैछिनमा त्यो सानो बेलुनकाण्डले महाभारतको रुप लिने सम्भावना देखायो ।

यसो सोचेँ । जाबो बेलुन नै त हो । केही क्षण खेलेपछि कि त फुट्छ, कि त हावा फुस्किन्छ । यती सानो चिजप्रति यस्तो मोह किन यिनीहरूलाई ? एकछिन अझै घोत्लिएँ । यिनीहरू त बच्चा भए तर हामी कथित वयंश्कहरू चाहीँ कस्ता छौँ त?

पैसा, पावर र प्रतिष्ठा । यसकै लागि त सानातिना झैझगडा देखि ठूलाठूला युद्धहरू हुनेगर्छन् । के यि चिजहरू पनि बेलुन जस्तै हैनन् र?

पैसा, पावर र प्रतिष्ठाले नै हो मानिसलाई एकैछिनमा बेलुनसरी फुलाउने । अनि सानो काँडाको एकै घोचाइले फुस्स हावा फुस्काउने । भाग्यमानी छौँ भने कुनै काँडाले नछुन पनि सक्ला तर मृत्युशैयामा पुगेको दिन अन्तिम सास त एकदिन जानु नै छ । यो क्षणभङ्गुर जीवनको यो बेलुनका लागि मोह, रिसराग र द्वैष किन?

लघुकथा बच्चा AI युद्ध