फेरी खाली समय । हिजोको दिन त मुभी हेरेर बित्यो । आज के गर्ने ?” घुम्न जाउँ” मेरो दिमागमा आइडिया‘ फुर्यो । हुन त यो कुनै नयाँ चिज थिएन मेरा लागि । खाली समय पाउने वित्तिकै यात्रा नै गर्ने गर्छु । कुनै वेला साथी नपाउँदा एक्लै दस दिनसम्म गरेको यात्राको अनुभव पनि मसँग छ ।
घुम्न त जाने । तर कहाँ राजन चितवनकै बासिन्दा भएकोले प्रस्ताब राखे, “जाउँ गोलाघाट ।” चितवन राष्ट्रिय निकुञ्जकै आसपासमा पर्ने भएकोले हौसिँदै मैले भनेँ, “ल अहिले नै हिडिहालौँ । “उसले मलाई सम्यमित बनाउँदै अरु साथीहरु पनि भए रमाइलो हुने कुरा बतायो ।
मनले खाएका केहि साथीहरुलाई गोलाघाट जाने प्रस्ताव राखेँ । होस्टलमा यत्तिकै समय काटेर बसेको बेला, घुम्न को जाँदैन थियो होला र ! सुदिप, विप्लव, रामप्रवेश र दया सबै जान तयार भए ।
यात्रा अलि रोमाञ्चक बनाउन चितवनमा निकै नै लोकप्रिय साइकललाई नै हाम्रो सवारी साधनको रुपमा प्रयोग गर्ने विचार गर्यौँ । अधिकांस साथीहरुको साइकल थियो । मेरो चाहिँ अलि कन्डिसनमा नभएकोले एउटा साथीको फुच्चे साइकल मागेर नै चलाउने भैयो । त्यसपछि लोकल साथी राजनलाई गाइड बनाउँदै यात्रा सुरु गर्यौँ।
सात जनाले एकै पल्ट साइकल चलाउँदा त बाटै ढाकिँदो रहेछ । युवा जोस न पर्यो, बाइक र कारलाई त हामी साइड नै दिँदैन थियौँ । बाटोमा हिँडेका केटीहरुलाई “बाssइ” गर्दै जिस्काउँथ्यौँ । कोही ट्वाल्ल परेर हेरथे । त कोही “बाई बाई” भन्दै फर्काउँथे । केही साथीहरु भने एडल्ट जोक्स सुनाउँथे । यसरी रमाइलो गर्दै साइकल चलाउँदा समय कटेको पत्तै हुँदैन थियो ।
मेघौलीसम्मको बाटो विचविचमा खाल्टा-खुल्टी भएपनि पिच नै थियो । त्यसपछिको यात्रा भने निकै नै कष्टपुर्ण रहृयो । विश्वको एक मात्र हात्तीपोलो हुने ठाउँ – मेघौलीमा हामी प्रवेश गर्दै थियौँ । हात्ती पोलो हालसालै सकिएको थियो । केही समय अगाडी हात्तीपोलोको फाइनल म्याच हेर्न म एक्लै यहाँ आएको थिएँ । के के न सबै कुरा थाह भए जसरी मैले साथीहरुलाई सुनाएँ, थाह छ केटा हो – यो पालीको हात्तीपालो सुइजरल्याण्डले जित्यो नि । ” अनि अर्को साथीले थपि हाल्यो, ” यि विदेशी टिमहरु हात्तीपालोको प्राक्टिस गाडीमा चढेर गर्छन् रे । त्यसैले त जित्छन् नि ।” हामी सबै गलल्ल हाँस्यौँ । मैले सोचेँ, सायद विदेशीहरुले हामी नेपालीहरु मोजाको बलले फुटबल प्राक्टिस गर्छौँ भनेको सुन्दा यसरी नै हाँस्छन् होला ।
बाटो अति नै खराब भएकोले केहि साथीहरुको साइकलले धोका दिन थालेछ । एsss…..एउटा साथी त पछाडी नै छुटेछन् । अर्को एउटा साथीलाई खोज्न पठाएर बाँकि रहेका साथीहरु भने साइकल साइड लाउँदै नजिकैको परालको कुन्युँमा तास फिट्न थाल्यौँ । समयको सदुपयोग त गर्नै पर्यो ।
लगातार २४ कि.मि. को साइकल यात्रा पछि गोलाघाट आईपुगियो । सबैको पेटमा मुसा कुद्न थालिसकेको थियो । नजिकै पसल कतै भेटिएन । ‘परेको व्यहोरुँला‘ भन्दै छिरियो पर्यटकहरुको लागि बनाइएको गोलाघाट वाइल्ड लाइफ रिसोर्ट ।
भित्र पस्ने वित्तिकै एक कर्मचारीले निकै आदरका साथ भित्र लगे । मेन्यु मागियो र सबै भन्दा कम रेटको कुन आइटम छ हेर्ने थालियो । लोकल माछाको ग्रेभी अडर गरेर रिर्र्सोट परिसर डुल्न थाल्यौँ ।
चितवन राष्ट्रिय निकुञ्जलाई सौराहाबाट मात्र देखेकाहरुलाई गोलाघाट रिसोर्ट नौलो लाग्न सक्छ । रिसोर्टलाई पुर्ण रुपमा प्राकृतिक बनाउन खोजिएको थियो । पाहुनाहरुलाई राख्ने घरहरु पनि थारु सँस्कृती झल्कने गरि बनाइएको थियो । यहाँका कर्मचारीहरुको स्वागत सत्कार पनि प्रशंसा गर्न लाएक कै थियो । रिसोटको आकर्षणको रुपमा एउटा जरायो थियो जसलाई केहि परिधी भित्र घाँस चरन गर्न मिल्ने गरि व्यवस्था मिलाइएको थियो । त्यसलाई साइडमा राखेर फोटो खिच्ने ठूलो रहर थियो । जङ्गली न पर्यो, के मान्थ्यो र !
भोकले सिमा नाघिसकेको थियो । माछा तयार भएको थाह पाएपछि झटपट भित्र पस्यौँ । माछा अति नै मिठो थियो । सायद भोक निकै नै लागेकोले पनि होला । राम्रो आदर सत्कार र मिठो भोजनको लागि प्रति प्लेट रु १२५ ।-तिर्न कसैले नि कञ्जुस्याईँ गरेनौँ ।
त्यसपछि लागियो दोभान तिर । साइकललाई एउटा ठाउँमा पार्क गरेर जङ्गल छिरियो । जङ्गली हात्तीको आक्रमणबाट बच्नको लागि होला, नाङ्गो तारको बार ठाउँ ठाउँमा देखिन सकिन्थ्यो । साथीहरु सिकारी र बाघको कथा सुनाउन थाले । कोही भने बयरघारीमा बयर टिप्न थाले । आखिर जङ्गलको यात्राको मजा यही नै त हो ।
गोलाघाटलाई पुरानो भरतपुर पनि भनिँदो रहेछ । नाराणीपुल बन्नु अघि यो चितवनको प्रमुख व्यापरिक केन्द्र थियो रे । राप्ती र नारायणी नदीको सँगम स्थल भएकोले यो ठाउँको आफ्नै धार्मिक तथा भौगोलिक महत्व रहेको छ । सुर्यास्तको मनोरम दृश्य पनि देखिन सक्ने भएकोले थप प्रचार-प्रसार पाए गोलाघाट पनि अर्को सौराहा बन्न सक्नेमा कुनै द्वविधा छैन ।
दोभानबाट फर्किएर हामी तोरी बारीको आली नै आली साइकल कुदाउन पुगेछौँ । बाटोमा केही स्कुल पढ्ने नानीहरु हामीलाई जिस्काउन पो थाले । बाली बिज्ञानको सरले भन्नुभएको कुरा याद आयो, “चितवन ‘तोरी‘ र राम्रा राम्रा ‘छोरी‘को लागि प्रसिद्घ छ।”
एकातिर तोरी फुल्दै थियो भने अर्का तिर धान भर्खर काटेकोले धान भित्राउने चटारो थियो । यता तिरको कुन्यूँ मलाई अलि अनौठो लाग्यो । त्यहाँ कुन्युँलाई घरको आकारमा बनाइँदो रहेछ । कुन्युँ बनाउँदा, परालमा बच्चाहरु उफि्रएको, हेर्न लायकको नै हुन्छ ।
साँझ पर्न आँटेकोले फर्किन सबैलाई हतारो भइरहेको थियो । सटकट हान्ने क्रममा कहिले थारु बस्ती, कहिले खेतको आली नै आली, त कहिले जङ्गल नै जङ्गल साइकल कुदाउन थाल्यौँ । विचमा मचान पर्दो रहेछ । यहाँसम्म आए पछि यसलाई किन छोड्ने ! साथीहरुलाई निकै कर गरेर मचान पनि चढियो । खास गरि जङ्गललाई उचाइबाट हेर्न मचान राम्रो माध्याम रहेछ ।
र्फकँदा झमक्कै साँझ पर्यो । सबैलाई दुःख हुने गरि एउटा साथीको साइकल नै विग्रियो । एनकेन गरेर हाम्रा गाइड मित्र राजनको घरसम्म आइयो । साइकल पनि बनाइयो खाना पनि खाइयो ।
हामीले करिब ५० कि.मि.को दुरी साइकलमा तय गरेका थियौँ । रामपुर स्थित हाम्रो होस्टेल आउँदा सबैजना लखतरान थियौँ । साइकललाई एउटा कुनामा तह लगाउँदै मैले भनेँ, “कोही छ, मलाई मेरो रुमसम्म पुर्याइदिने ? साथीहरु सकि-नसकि हाँसे ।
