अनियोजित पदयात्रा

4 years ago
गफाडी गाइड

विहानको करिव दश बजेतिर मेरो फोनको घन्टी बज्यो । साथी विनोदले गरेको रहेछ । भन्यो, “गौरव सर, शनिबार मनाउन कतै जाने हैन -” शनिबार मात्रै हैन, आजकाल म हरेक दिन फुर्सदमै हुन्छु । विनोदको प्रस्तावलाई किन नाईँ भन्थेँ र ! सोधेँ, “कहाँ जाने ?” जवाफ पाएँ, “तपाईँ काठमाण्डौवासी, तपाईँ नै मिलाएर भन्नुस् न ।” गएको हप्ता केशव, विनोद र म मिलेर साँगा गएका थियौँ । आज ठ्याक्कै कहाँ जाने भन्ने कुरो दिमागमै आएन । पहिला रत्नपार्कमा भेटौँ र केशवसँगै बसेर योजना बनाउँन भनेर मैले भनेँ । कुरो मिल्यो ।

शान्तिबाटिका स्थित गणेशमानको सालिक मुनी हामी बस्यौँ । बदाम बेच्ने दिदीले एक सोली बदाम भिडाइन् । त्यही बदाम एक एक गरी फोड्दै घुम्ने योजना बुन्न थाल्यौँ । तर बदाम सबै सकिसक्दा पनि हामी तीनैजना सहमत हुने गन्तव्य भने सुझाउन सकेनौँ । हामी यत्तिकै हिड्दै बसपार्क तिर आयौँ । एउटा बसको खलासी “सुन्दरीजल…सुन्दरीजल…” भनेर कराउँदै थियो । केशवले सुझाए,”जाउँ न त सुन्दरीजल ।” म पहिले नै सुन्दरीजल गइसकेको थिएँ । हिउँदयाम भएकोले अहिले कुनै झरना नदेखिने प्रस्टै थियो । उनको सुझाव मलाई खासै मन त परेको थिएन तर विनोद पहिले कहिल्यै नगएकोले सुन्दरीजल नै जान हौसिए । सुन्दरीजलको पक्षमा दुइ-तीहाई बहुमत नै परे पछि म किन ‘अल्टर’ बन्थे’ र! हामी सुन्दरीजल नै जाने भयौँ ।

सुन्दरीजल पुग्दा २ बजिसकेको थियो । माथी पुगेर खाउँला भनेर कुकिज र खाने कुरा भन्दा हावा धेरै भरिएको कुर्कुरे किन्यौँ अनि उकालो लाग्यौँ । शनिबार भएकोले होला सुन्दरीजलमा निकै चहल पहल थियो । विशेष गरि युगल-जोडीहरू धेरै देखिएकाले हामी केटा-केटाहरू मात्र हिड्दा कस्तो कस्तो लाग्दो रहेछ ।

धेरै माथि पुगे पछि शिवपुरी राष्ट्रिय निकुञ्जको गेट आयो । नेपाली हुनुको गौरवका साथ दस-दस रुपैयाँको टिकट काट्यौँ । विदेशी पर्यटक भइएको भए २५० तिर्नु पर्ने रहेछ । केही क्षेणको हिँडाइ पछि हामी ड्याम भएको ठाउँमा पुग्यौँ । त्यो नै म पछिल्लो पटक आउँदाको सबभन्दा टाढाको पोइन्ट थियो । त्यहाँबाट चिसापानी हुँदै गोसाइँकुण्ड जान मिल्छ भन्ने मलाई थाह थियो । त्यहाँबाटै फर्किने मनस्थिति बनाइराख्दा केशवले बोलिहाले, “जाउँ गोसाइँकुण्ड !” उनले यत्तिकै जिस्केर भनेको जस्तो लागेको थियो तर विनोद “लौ न त”को भावमा हौसिन पो थाले । घरमा पनि नभनेको र आर्थिक अवस्था पनि प्रतिकुल भएकोले म भने अन्कनाएँ । तर दुवै मिलेर मलाई गोसाइँकुण्ड जान राजी बनाइ छोडे ।

हामी ड्याम भन्दा अझै अगाडी बढ्यौँ । अब चिसापानी नै जाने भए पछि केही तातो त खानै पर्‍यो । एउटा होटलमा छिरेर चाउचाउ अडर गर्‍यौँ । चाउचाउ बनाउन झन्डै एक घन्टा नै लगाए जसले गर्दा चिसापानी समयमै नपुग्न भुमिका खेल्यो ।

केही घन्टाको पदयात्रा पछि अर्को स्टप आई पुगियो । त्यो चिसापानी भन्दा अगाडीको अन्तिम स्टप रहेछ । त्यहाँबाट अझै २ घन्टा हिँड्नु पर्ने जानकारी हामीले पायौँ। तर हाम्रो घडीले भने ५ बजाइसकेको थियो र सुर्यले पनि अस्ताउने तयारी गर्दै थियो । चिसापानी जसरी नि पुग्ने लक्ष्यका साथ हामी अगाडी बढ्यौँ । पद मार्ग निकै सुन्दर भएकोले जति अगाडी बढ्यो उति आनन्दित अनुभव हुन थाल्यो ।

मेरो मोबाइलको बेट्री सकिएर सुइच अफ भइसकेको थियो । केशवको मोबाइल मागेर घरमा फोन गरेँ । आज, सम्भवतः अझै केही दिन घर नआउने कुरा भन्दिएँ । पुर्व-जानकारी नदिइ घुम्न निस्केकोले म बुबाको भनाइ खान तयारी नै थिएँ। अब त्यती टाढा आइसकेपछि फर्किने कुरो पनि त भएन । बाटोमा झमक्कै साँझ पर्‍यो । अघिको चाउचाउ हामीलाई निकै महँगो सावित भयो । केही तयारी नगरी, हचुवाको भरमा यात्रा सुरु गरेकाले हामीसँग न त र्टचलाइट थियो न त बढ्दै गएको जाडोसँग लड्ने बाक्लो लुगा नै । बाटोमा राखिएको साइनबोर्डलाई मोबाइलको उज्यालोले पढ्दै चिसापानीको बाटो पहिल्याउँदै गयौँ । अनि जाडोसँग जुध्न भने मलाई मेरो हुडमा जडित टोपीले र केशवलाई उसको गलबन्दीले केही हदसम्म राहत दिँदै थियो । तर विनोद भने नाङ्गो अनुभव गर्दै थिए । केशवले ब्यागबाट स्कार्फ निकाले । केही दिन अघि दिक्षान्त समारोहमा त्रिविबाट दिक्षित हुँदा उनले त्यही लगाएका थिए । त्यसलाई कसो कसो गरेर टोपी बनाएर लाउन मिल्दो रहेछ । विनोदलाई त्यसैले राहत दियो ।

लगभग ७ बजे तिर हामी चिसापानी पुग्यौँ । नामै चिसापानी । जाडोले मेरो पुरै शरिर लुग लुग काँप्दै थियो । कति खेर लज पुगुँला र सिरक भित्र गुट्मुटिउँला जस्तो भइराखेको थियो । तर मेरा साथीहरू भने रातलाई रङ्गीन बनाउने मनस्थितिमा रहेछन् । खासै टुरिस्ट सिजन नभएकोले हामीले सजिलै रुम पायौँ होटल स्याङ्बोलामा । रुम बुक गरेर खाना खान तल झर्‍यौँ । विनोदले लाज माने जसो गरेर सिग्नेचर र तीनवटा गिलास मगाए । आज मैले गिलास नसमाति धरै नपाउने स्थिति प्रस्ट थियो । केशवले एक एक गरेर सबै गिलास भरे । सापेक्षित रुपमा अलि कम भएको गिलास मैले समातेँ । “चियर्स”को हल्लासँगै मैले पनि एक सुरुप लिएँ । पहिलो पटक भएकाले होला म मन मनै चिच्याएँ, “आत्था ! मेरो घाँटी।”

दोश्रो दिन

विहान सुरुमै उठ्ने म नै थिएँ । घामको प्रकास हाम्रो रुम भित्र चियाउन खोज्दै थियो । एss… सनराइज त ‘मिस’ पो हुने भयो । मैले हतार हतार साथीहरूलाई उठाएँ । तिनीहरू तयार हुँदासम्म घाम यति माथि पुगिसकेको थियो कि “सनराइज हेरेको” भन्दा पनि लाजै मान्नु पर्ने स्थिती थियो । लाग्यो, कस्ता अल्छी यात्री रहेछौँ हामी ।

साथीहरू खाना खाए पछि मात्र यात्रा सुरु गर्ने मनस्थितीमा रहेछन् । खाना खाने समयसम्म त हामी धेरै पर पुगिसक्छौँ भनेर मैले सम्झाएँ । वास्तवमा यात्रीहरू एउटै ठाउँमा धेरै समय बस्न उपयुक्त हुँदैन । तिनीहरूलाई मेरो कुरो चित्त बुझिहाल्यो । सानो सपिङ् गरेर चिसापानी छोड्ने भयौँ । मैले बाक्लो मोजा र साथीहरूले टोपी किने । त्यो गोसाइँकुण्ड पुग्न पर्याप्त हुन्छ होला भन्ने हामीलाई लाग्यो ।

चिसापानीबाटै एउटा कुकुर हामीलाई पछ्याउँदै थियो । अझ भन्नु पर्दा हामी चैँ त्यसलाई पछ्याउँदै थियौँ । त्यो अघि अघि, हामी पछि पछि । यस्तो लाग्थ्यो त्यसले हाम्रो गाइडको काम गर्दै थियो । हामी फोटो खिच्न रोकिँदा त्यो पनि पर्खिन्थ्यो । हामी हिँड्न थाल्दा त्यो पनि हिँड्न थाल्थ्यो । दहपोखरी भन्ने ठाउँको एउटा विन्दुमा आएर बाटो चोइटिएर दुइटा बाटो भयो । हामी कुन चैँ बाटो गोर्साईँकुण्ड जाने हो भनेर एकछिन अल्मल्लमा पर्‍यौँ । तर हामीसँग आएको कुकुरले भने एउटा बाटो समातिसकेको थियो । त्यसलाई आँखा चिम्लिएर विश्वास गर्न अलि मन लागेन । कोही आएर सही बाटो देखाइदेलान् कि भनेर हामी एकछिन त्यहीँ बस्यौँ । त्यो कुकुर पनि हामीलाई पर्खेर बस्यो । केही मिनेट पछि एउटा फुच्चे देखा पर्‍यो । चिसापानीमा दुध पुर्‍याएर फर्केको रहेछ । संयोग भनुँ कि के भनौँ, त्यो कुकुरले समातेकै बाटो गार्साईँकुन्ड जाने बाटो रहेछ ।

फुच्चे भाइले पाटीभञ्याङ भन्ने ठाउँसम्म साथ दिए । त्यहाँबाट ऊ आफ्नो घर तिर लाग्यो । तर हाम्रो कुकुर भने गाइड जसरी अझै साथ दिँदै थियो ।

हिड्दै जाँदा हामी सेतै भुइँ भएको ठाउँमा आइपुग्यौँ । हिउँ परेको रहेछ भनेर सुरुमा त रमायौँ । मुठ्ठीमै नआए पनि हिउँ जसरी नै डल्लो पारी एकले अर्कालाई हिर्कायौँ । तर त्यो तुसारो रहेछ । त्यति बाक्लो तुसारो मैले कहिल्यै देखेको थिइन ।

केही घन्टाको पदयात्रा पछि चिप्लिङ भन्ने ठाउँ आयो । त्यति खेरसम्म चैँ कुकुरको साथ हामीसँग थिएन । माघे सङ्क्रान्ती मनाउन काटिएको राँगो भएको ठाउँमा नै त्यो भुलेको थियो । हामीलाई हाम्रो गाइडले वास्ता गर्न छोडेजस्तो ‘फिल’ भयो ।

अघि बढ्दै जाँदा दुइ जर्मन पर्यटक र तिनका गाइड भेटिए । गाइड दाईको नाम ज्ञान रहेछ । उनले गोसाइँकुण्ड पुग्न अझै तीन दिन लाग्ने कुरा बताए । तर हामीलाई त आजै साँझै पुगिएलाकी भन्ने लागेको थियो । विना योजना हिड्दाको नियती हामीले भोग्नु पर्ने भो । तर यति पर आए पछि त्यही बाटो फर्किने कुरो पनि त भएन । हामी ति जर्मन पर्यटकहरूसँग पनि कुरा गर्न थाल्यौँ। एउटा अलि उमेर खाएका जस्ता लाग्नेको नाम टिमोन रहेछ भने अर्कोको चैँ माइक । नेपाल पहिला पनि आउनु भा’को थियो भन्ने प्रश्नमा टिमोनले जवाफ दिएका थिए, “तिमीहरूले संसार देख्नु भन्दा अघि नै मैले नेपाल देखिसकेको थिएँ ।” झन्डै २७ वर्षभन्दा अघि देखि नै उनी नेपाल वेला वेलामा आएर यहाँका डाँडा-काँडामा पद यात्रा गर्ने गर्दा रहेछन् । लाङ्टाङ् र्सर्किटको यो यात्रा उनको दोश्रो रहेछ । माइकको भने यो पहिलो पटक नै रहेछ । हेर्दै रेस्लिङ खेलाडी जस्ता लाग्ने उनीसँग भने हामी अलि खुलेरै कुरा गर्न थाल्यौँ । उनलाई मन नपरे पनि हामीले जिस्काउनले हेतुले कार्ल माक्स र हिटलरका कुरा गरिरहृयौँ ।

चिसापानीबाट ९ घन्टाको पदयात्रा पछि हामी कुटुङ्साङ् आइपुग्यौँ, ४ बजे तिर । ति पर्यटकहरू त्यही बस्ने मनस्थितीमा रहेछन् । ४ बजे नै यात्रा टुङ्ग्याउन मलाई कस्तो कस्तो लाग्यो । ज्ञान दाइले अर्को स्टप ४ घन्टाको दुरीमा भएकोले त्यही रोकिन सुझाव दिए । हिजोको जस्तो राति-राति हिड्ने रहर हाम्रो पनि थिएन । हामी पनि कुटुङ्साङ् नै रोकिने भयौँ । सुरुकै माउन्टेन भ्यु होटलकी शेर्पिनी दिदीले हामीलाई अङ्ग्रेजीमा स्वागत गरिन् ।

त्यस होटलमा पाहुना भनेका ति दुइ जर्मन पर्यटक, ज्ञान दाइ र हामी तीन साथी मात्र थियौँ । आज लामै समय सँगैसँगै यात्रा गरेकोले होला हामी निकै नजिक भइसकेका रहेछौँ । त्यसैले होला खाना खाइ सकेपछि माइकले हामी सबैलाई लोकल रक्सी अडर गरे । मैले पनि एउटा गिलास समात्नु पर्‍यो । तर त्यो सबै सकुँला भन्ने लागेकै थिएन । माइकले हामीलाई नयाँ कुरा सिकाए । रक्सीको गिलास “चियर्स” गरेर ठोकाउँदा आफ्नो अगाडीको पार्टनरसँग आँखा जुधाउनु पर्छ रे । नत्र हाम्रो असभ्यता झल्किन्छ रे । रात ढल्किँदै जाँदा जर्मन र बर्लिन वाल ढल्दा ताकाको कुराबाट सुरु भएको हाम्रो गफ पुरै अनौपचारीक बन्दै गयो । मैले पनि गिलास त रित्तो पो बनाइसकेछु ।

तेश्रो दिन

हिमालको निकै नजिक थियौँ हामी । सिरक भित्रैबाट बाहिरको जाडोको आँकलन गर्न सकिन्थ्यो । यात्रा गर्न भनेर हिँडे पछि सिरक भित्रै लुकिरहने कुरो पनि त भएन । कुटुङ्साङ्मा घाम लागि सकेको थियो । तर भुइँ भने तुसारोले हिउँसरी सेतै थियो । धारा नजिकै रहेको बाल्टीको पानी पनि जमेको थियो । बाल्टीबाट कुशलतापुर्वक गोलो बरफको पाता निकाल्न मिल्दो रहेछ । निकै रमाइलो लाग्यो ।

हामी सुन्दरीजलबाट गोर्साईँकुण्ड नै जान भनेर हिँडेका थियौँ । तर समय, आर्थिक स्थिती र हाम्रो खराब तयारीका कारणले गोर्साईँकुण्डसम्मको यात्रा असम्भव बन्न खोज्दै थियो । जे जस्तो भए पनि गोर्साईँकुण्ड पुगेरै छोड्नेमा म दृढ थिएँ भने विनोद चैँ कडा रुपले विपक्षमा उभिन थाले । दुइ दिन देखिको सहयात्रामा दरार पो उत्पन्न भयो । केशव चैँ प्रस्ट रुपमा कसैको पक्षमा पनि थिएनन् । म आफैले एउटा प्रस्ताव राखेँ, “पहिला ठाडेपाटीसम्म पुगौँ । त्यहाँबाट गोर्साईँकुण्ड र हेलम्बु जाने बाटो छुटि्टन्छ । त्यहाँ पुगेर केशवले लिएको निर्णय हामी दुवैलाई मान्य हुनेछ ।” राजनीतिक वृत्तमा सुनिने ‘विन विन सिच्वेसन’को प्रस्ताव राख्न पुगेछु । कुरो मिलिहाल्यो ।

एक कप कफी खाएर ठाडेपाटी तिरको यात्रा आरम्भ गर्ने सुर कस्यौँ । उता जर्मन पर्यटकहरू मध्यको एक, माइक अझ एक दिन रेस्ट गर्ने मनस्थितीमा रहेछन् । टिमोन भने हामीसँगै हिड्ने सुर कस्दै थिए । दरार त झन् ठूलो यिनीहरूको पो देखियो त । ज्ञान दाइलाई माइकसँगै बस्नु पर्ने बाध्यता आइपर्‍यो ।

हिँड्नु अघि ज्ञान दाइले परको अग्लो पहाडको टाकुरा तिर औँला तेर्स्याउँदै भने, “ऊ त्यहाँसम्मको बाटो अलि अप्ठ्यारो छ । त्यहीँबाट अलि सजिलो बाटो सुरु हुन्छ ।” ओहो कत्रो अग्लो पहाड ! आजको यात्रा कष्टकर हुनेमा कुनै शङ्का थिएन । विस्तारै हामी लाङ्टाङ् राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गर्‍यौँ । तीन दिनको अवधीमा हामीले नेपालको दुइटा राष्ट्रिय निकुञ्ज टेक्न पुगेका थियौँ । जति माथि गयो, लालीगुराँसको जङ्गल उती नै सुन्दर देखिन थाल्यो । लाग्यो, चैत बैसाखमा यो यात्रा गरिएका भए लालीगुराँस फुलसँगै यात्रा झनै रोमाञ्चक हुन्थ्यो होला । दक्षिण तिरका अरु पहाडहरू पनि होचा देखिन थाले । हामी ठाउँ-ठाउँमा थकाई मार्दै हिँडिरहृयौँ । ५६वर्षे टिमोन भने हामीलाई पछि पार्दै अघि पुगिसकेका थियो।

समुद्री सतह भन्दा २२६५ मिटरको उचाइमा अवस्थित पाङ्बुडाँडामा पुगेर फेरी विश्राम गर्‍यौँ । सुन्दरीजलमा किनेको कुर्कुरेको पाकेट मैले झिकेँ। पाकेट असाधारण तरिकाले टाइट थियो । विनोदले यसको व्याख्या गर्न आफ्नो ‘हाइपोथेसिस’ दिए, “समुन्द्री सतह भन्दा निकै माथि आएकाले वायुमण्डलको चाप भन्दा पाकेट भित्रको हावाको चाप कम भएकोले पाकेट फुकेर टाइट भएको हो ।” लाग्यो, धन्य छन् हावा बेच्ने कुर्कुरे कम्पनीहरू ।

मागीँगोठ भन्ने ठाउँमा पुगेर हामीले फेरी टिमोनलाई भेट्टायौँ । यस पटक उनीसँग दुइ अस्ट्रेलियाली युवतीहरू थिए, हिड्ने तयारी गर्दै गरेको अवस्थामा । तिनीहरू चैँ हेलम्बु जान लागेका रहेछन् । सँगैकको पोटरले भने पछि थाह भो । टिमोनलाई पछि छोड्दै हामी ति अस्ट्रेलियालीहरूकै पछि हिड्न थाल्यौँ । हिड्ने बेलामा टिमोनले हामीलाई “बेस्ट अफ लक” भने ।

मागीँगोठबाट केही अगाडी बढ्ने बित्तिकै चिसोले जमेको खोलो देख्न पाइयो । बरफको खोलोमा हिड्दा निकै रोमाञ्चक अनुभुती गरेँ । पढेको, सुनेको कुरोलाई साक्षात अनुभव गर्दा निकै रमाइलो पो लाग्दो रहेछ ।

विस्तारै ति अस्ट्रेलियालीहरूसँग गफ गर्न थालियो । म अघि अघि हिडेकी युवतीसँग गफिन थालेँ भने केशवले पछिको युवतीलाई ‘सम्हाल्न’ थाल्यो । विनोद भने विचमा हिँडेर हामी दुवैको कुरा सुन्दै थिए ।

मैले उनको नाम सोधेँ । डायनेल्ला रे । मेरो नाम चैँ उच्चारण गर्न उनलाई गाह्रो भएकोले अङ्ग्रेजी रुपान्तरण ‘प्राइड’ भन्न सक्छौ भन्दिएँ । उनले विस्तारै आफ्नो कुरो खोल्दै गईन् । उनले नि भर्खर ब्याचलरको पर्ढाई सकेकी रहिछन् । मार्स्र्टसमा भर्ना हुनु अघि साथीहरूसँग विभिन्न देश घुम्दै रहिछन् । श्रीलङ्का र भारत हुँदै उनी नेपाल आएकी रहिछन् । यस पछि थाइल्यान्ड जाने योजना छ रे । उनका अनुसार, मार्स्र्टसमा कुन विषय रोज्ने भनेर सोच्न यसरी टाइम लिएकी रे ।

डाएनेल्ला करिब मेरै उमेर कि थिईन् । २३ वर्ष । उनको त्यो स्वतन्त्रता र विषय रोज्ने गाम्भिर्यता देखेर मलाई इर्श्या लाग्यो । मैले घर छोडेको तीन दिन मात्र भा’को छ, घरबाट अनगिन्ती पटक छिटो घर फर्की भनेर फोन आइसक्यो । यिनी भने बिन्दाससँग विश्व भ्रमण गरिरहेकी छिन् । मैले उनलाई भनेँ, “यदि तिमी नेपाली छोरी भएकी भए, केही नभए नि एक सन्तानकी आमा हुने थियौ ।” भर्खर इन्डिया घुमेर आएकीले होला कलिलै उमेरमा केटीहरूको विहे हुने कुराले उनलाई खासै आश्चर्यचकित  बनाएन ।

केशव वस्तुस्थितीको रिपोर्टिङ गर्ने शैलीमा मतिर आए । विनोदले हामी दुवेले गरेको गफको साक्षी थिए । उनका अनुसार म अलि बढ्ता फर्मल कुरा गर्दै थिएँ भने केशव चैँ अर्की युवती लरीसँग “लिविडो रिलिज” गर्दै थिए ।

विस्तारै हामी सबै लरीकै लयमा हिड्न थाल्यौँ । लरीले आफ्नो नेपाली नाम अन्जना भएको बताइन् । केशवले डाएनेल्लासँग पनि नेपाली नाम भएको/नभएको सोधे । उनले अर्थ खुलाएपछि हामीले दिएको नेपाली नाम स्वीकार्ने कुरा बताईन् । केशवले एक छिन् सोचे जस्तो गरेर न्वारन गर्दिए, “ज्योति ।” डाएनेल्लालाई नाम र अर्थ मन परे जस्तो भयो । पछि हामीले ज्योति नै भनेर बोलाउन थाल्यौँ । आखिर उच्चारण गर्न ‘डाएनेल्ला’ भन्दा कति हो कति सजिलो ‘ज्योति’ ।

ठाडेपाटीसम्मको बाटो निकै नै लामो रहेछ । बाटोमा गोर्साईँकुण्डबाट फर्किएका कोरिएन टुरिस्टहरू प्रसस्तै भेटिए । उनीहरूले निकै बाक्लो जाकेट लगाएका थिए । मैले गोर्साईँकुण्डको मौसमको बारेमा तिनीहरूलाई सोधेँ। तिनीहरूले “भेरी कोल्ड” भनेको शैली देख्दा आफैलाई जाडो लागे जस्तो भयो । जानकारीको लागी धन्यवाद दिँदै बाईबाई गर्‍यौँ, ‘ओप्पा ग्याङ्गम स्टाइल’मा ।

ठाडेपाटी पुग्दा ४ बजेको थियो । टिमोन हामीलाई उछिन्दै त्यहाँ पुगिसकेका थिए । भोक निकै लागेकोले केही अडर गर्न त्यहाँ स्थित एउटा होटलमा प्रवेश गर्‍यौँ । सबैभन्दा सस्तो आइटम उमालेको रारा चाउचाउ १०० प्रति कचाैरा रे । हाम्रो त सातो नै उड्यो । नेपाली भनेर ८० रुपैयाँसम्ममा दिन सकिन्छ रे । भोक लाग्या’छ, खानै पर्‍यो । यति महङ्गो ठाउँमा बस्न सकिएला जस्तो लाग्दै लागेन मलाई । जति माथी गयो रेट उति बढ्दै जाने निश्चित थियो । न हामीसँग टन्न ‘गाँठ’ थियो न त अघिका कोरिएनहरूले लाएका जस्ता बाक्लो जाकेट नै । आखिर कुनै हालतमा गोर्साईँकुण्ड पुग्न नसक्नेमा म ‘कन्भिन्स’ भएँ । अन्ततः हेलम्बु नै झर्ने टुङ्गोमा पुगियो । केशवले निर्णय सुनाउनै परेन ।

अन्तिम पटक टिमोन र अस्ट्रेलियालीहरूसँग गफ गरियो । मैले उनीहरूसँग फेसबुक आइडी मागेँ र “नाइस ट्राभ्लिङ विथ यु” भनेँ। टिमोन हामीलाई छोड्न अलि पर सम्म आए । होटलवाला दाइले हेलम्बु जान निकै ढिला भइसकोको छ है भनेर चेतावनी दिँदा दिँदै पनि हामी हेलम्बु हानियौँ ।

ठाडेपाटीमै यति जाडो थियो कि अस्ति देखि बोकेको लौरी पनि चिसोले समात्नै सकिएन । आखिर लौरी फाल्नै पर्‍यो । नाङ्गो हात खल्ती भित्र घुसारेर ओरालो लाग्न थालियो । तल तल झर्दै गर्दा चिसो पनि विस्तारै कम हुँदै गएको अनुभुति भयो । वास्तवमा हामी हिडेका नभई दौडेका थियौँ, हेलम्बु समयमै पुगिने आसामा ।

हामी यति हतारमा थियौँ कि बाटोमा देखिएको अनौठो कुराले पनि हामीलाई आकषिर्त गर्न छोडेको थियो । हामीले बाटोमा एउटा झर्ना पुरै जमेको अवस्थामा देखेका थियौँ । अलि समय भएको भए तछाड-मछाड गरेर फोटो खिच्थ्यौँ होला । घाम अस्ताइसकेकाले एक छिन पर्खेर हर्ने मात्र पनि गरेनौँ । हामी अझै लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गल भित्र थियौँ । रात जङ्गलमै गुजार्न त खतरनाक हुन सक्थ्यो । डिस्कभरी च्यानलको बियर ग्रिलले जस्तै दाउरा घोटेर आगो बनाई जङ्गलमै रात विताउन त कहाँ सकिन्थ्यो र ।

दुइ घन्टाको दौड पछि पहाडको फेदीमा आए जस्तो भयो । साँझ झमक्कै परिसकेको थियो । अँध्यारोमै एउटा सानो झरनाले हाम्रो स्वागत गर्‍यो । तर त्यो स्वागतबाट हामी रोमञ्चित हुनु पर्ने स्थिति भने थिएन । हाम्रो अगाडी निकै जिर्ण झोलुङ्गे पुल देखा पर्‍यो । ठाउँ-ठाउँमा टेक्ने फलेक नै उक्किएको त्यो पुल यति जिर्ण थयो कि केशवले तलै झरेर खोला तरौँ भने । मैले साहस देखाएँ । “हामीसँग समय छैन । म अगाडी जान्छु, तिमीहरू पछि पछि आओ । खुट्टाको भन्दा बढि हातको विश्वास गर”, फिरन्तेहरूको सरदारलेझैँ मैले भने । निकै होशियारीका साथ पुल तर्‍यौँ। हेर्दा निकै जिर्ण देखिए पनि वास्तविकतामा त्यति खतरनाक भने रहेनछ त्यो झोलुङ्गे पुल ।

अन्तत पारी डाँडामा केही बत्तीहरु चम्केको देखा पर्‍यो । मानववस्ती नजिक आएकोले बल्ल अलि हल्का महशुस भयो । वास्तवमा प्रकास आसाको श्रोत हो । अघि बढ्न प्रेरणा दिने उर्जा हो । ढुक्क भयौँ, जङ्गलमै रात विताउन नपर्ने भएकोमा । त्यै बत्ती बलेको ठाउँतिर पाइलाहरू बढायौँ । अर्को आधा घन्टाको हिँडाइ पछि एउटा गाउँ आइपुगियो – मेलम्चीघ्याङ ।

तर सधैँ सोचेको जस्तै कहाँ हुँदो रहेछ र ! हामीलाई गाउँमा बास पाउन गाह्रो पर्‍यो । हामी अति नै ढिला भएकाले पाहुना स्वीकारिन नसकिने भएका थियौँ रे । अति नै विन्ती गरे पछि गाउँकै स्कुलका पुर्ण सरले श्रीमतीका विरोधका बावजुत पनि बास दिने भए । तर खानाको व्यवस्था भने हामीले अन्तै गरेर आउनु पर्ने भयो । खाना खान पाइन सक्ने ठाउँ उहाँले नै देखाइदिनु भयो । एउटा अर्को मान्छेको सहयोगमा हामी बस्नेत दाइको घरमा पुग्यौँ । सुरुमा अस्वीकार गरे पनि हाम्रो यात्राको कथा सुनेपछि खाना खुवाउन राजी भए बस्नेत दाइ । खासमा उहाँहरू माघेसङ्क्रान्ती मनाउने तयारीमा रहेकोहुँदा बाहिरियाहरूको उपस्थिती नभए हुन्थ्यो भन्ने मन बनाउनु भएको रहेछ । तर अन्तत हामीले उहाँको ‘अनुकम्पा’ पाइहाल्यौँ ।

खाना पाक्न अलि समय लाग्ने भएकोले हामीलाई चिया र हेलम्बुको आलु दिइयो । आगोको वरिपरि बस्यौँ र आलु पोल्न थाल्यौँ । बस्नेत दाइले तीता-मीठा गफ गर्न थाले । हामीहरू यसरी तीन जना तीन थरका मान्छेहरू यात्रा नगरेको भए हुन्थ्यो भने । गत वर्षमात्रै तीन जना कलेज पढ्ने उमेरका केटाहरू गोर्साईँकुण्ड जानेहुँदा बाटोमा एउटाको मृत्यु भएको थियो रे । “एss…”को शैलीमा त्यहीभएर हामीले बास नपाएर दुःख पाएको कुरा गर्‍यौँ । उनले एउटा नमीठो कुरा गरे, “यदि तपाईँहरू कुइरे भएको भए तपाईँहरूको पैतालै चाट्न आउँथे यहाँका मान्छेहरू ।” हामी उहाँका गफ सुने जस्तो गर्दै थियौँ । तर ध्यान भने सबै पोलेको आलुमा थियो । हामीले पाकिरहेको मासु हर्दै आलु खायौँ । आहा ! कस्तो मीठो !

चौथो दिन

मलाई मेलम्चीघ्याङ गाउँ अझै हर्ने मन थियो । हिजो अँध्यारोमै सुन्दर लाग्दै थियो । हिजो बस्नेत दाइले भने जस्तो कुनै समय बुद्ध बसेको भनिएको ढुङ्गाको कुर्सी हेर्न मन थियो । पुर्ण सरको घरमा भेटिएको ब्रिटिस नागरिकले ‘भोलुन्टेरिङ’ गरिरहेको नमुना विद्यालय हेर्न मन थियो । लामाहरू सिद्धी प्राप्तीका लागि नआइनहुने तिर्थस्थल मेलम्चीघ्याङलाई नजिकबाट चिन्न मन थियो । तर काठमाण्डौ जाने एक मात्र गाडी ८ बजे नै छुट्ने भएकोले मेलम्चीघ्याङलाई विहान सखारै छोड्न पर्ने भयो । पुर्ण सरलाई उठाएर बासको लागि धन्यवाद भन्यौँ र मेलम्चीको बाटो नाप्न थाल्यौँ । आज विनोदलाई चैँ हतार भए जस्तो थियो । अफिसमा हाजिर नगरेको दुइ दिन भइसकेकोले  कति खेर काठमाण्डौ पुगौँला भएको थियो उसलाई । त्यसैले ऊ हामीभन्दा अघि अघि हिँड्दै थियो । एक घन्टाको हिडाइ पछि बस भेटियो । बहुचर्चित मेलम्ची खाने पानी परियोजनालाई बसबाटै देख्न पाइयो । त्यसछि हिजो कुटिङ्साङबाट हेलम्बु आउँदा गरेको रोमाञ्चक यात्रालाई मनमनै सम्झिँदै काठमाण्डौको यात्रा तय गरियो । तर त्यति नजिक पुगेर नि गोर्साईँकुण्ड जान नपाएकोमा भने कस्तो कस्तो ‘फिल’ हुँदै थियो ।

यात्रा