टिकटककी केटी

4 years ago
गफाडी गाइड

विहानको सात बजिसकेको थियो । निन्द्राले छोडिसकेता पनि जाडोमा उठ्ने जाँगर चलेको थिएन । सँधै छिट्टै उठ्ने मेरी श्रीमती पनि अर्को खाटमा निदाइरहेकी थिइन् । दोस्रो नानी जन्मेपछि ठूलो पलङ पनि साँघुरो भएकाले म त्यहि कोठाको अर्को खाटमा सुत्न थालेको थिएँ।

जाडोमा सिरकभित्रै मुन्टो लुकाएर मोबाइलको स्क्रिन ‘स्क्रोल’ गर्दै थिएँ । तर बेलाबेलामा आफ्नै स्वासको बाफले स्क्रिनमा तुवाँलो लागिरहन्थ्यो । तुवाँलो पन्छाउने क्रममा मेरो फेसबुकको भित्तामा आइलागेको एउटा टिकटक भिडियो आफै खुल्न गएछ ।

सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ता भएतापनि टिकटक भने कत्ति मन पर्दैन मलाई । सर्जकहरूको गीत आफैले गाएको जस्तो गरी मुख चलाउने प्रवृत्तिमा मेरो अरुची हुनुपर्छ सायद । तर त्यस दिन हठात खुलेको त्यो टिकटकमा केही समय मेरा नजरहरू परे।

उनी वास्तवमा एक आर्टिस्ट हुन् । क्यान्भासमा निकै सिर्जनशील चित्र कोरिरहने त्यो हातले आज किन हो कृत्रिम टिकटक बनाएछ । सायद उनले पोस्ट गरेका चित्रहरूमा लाइक्स/कमेन्टको गिन्ती कम भएकाले “अटेन्सन” खोज्दै टिकटिकतिर डेरा सरिछन् भन्ने लाग्यो ।

उनको पोस्टमा खासै कमेन्ट नगरे पनि म उनको चित्रकारिताको ‘साइलेन्ट फलोअर हुँ । निकै बोल्ड लाग्छ मलाई उनको कुचीको करामत । पुरुष प्रवृत्तिप्रति आक्रमक उनको प्रस्तुती कुनै अल्ट्राफेमिनिस्टभन्दा कम थिएन । त्यो आक्रमण मेरो जस्तै पुरुषत्वमाथि लक्षित भएता पनि म उनको कलाको सानोतिनो फ्यान नै हुँ । त्यसैले होला उनी जस्ती क्रियटिभ केटीले टिकटक बनाएको साह्रै मन परेन ।

प्रतिक्रिया दिन कमेन्ट बक्समा टाइप गरेँ । तर उनको राम्रो पोस्टमा लाइक थिच्न कञ्जुस्याईँ गर्ने मेरो लाई उक्त चिजमा पब्लिक्ली नकारात्मक प्रतिक्रिया दिन उचित लागेन । टाइप गरिसकेको कमेन्ट डिलिट गरेँ । मन अझै शान्त भएन । इन्बक्समा मेसेज पठाएँ, “तपाईँ जस्तो क्रियटिभ मान्छेले यस्तो कृतिम टिकटक बनाएको सुहाएन है ।” रिसाउलिन् कि भनेर जिब्रो निकालेको इमोटिकन सहित मेसेज सेन्ट भयो ।

त्यो मेसेज केही समय सिन भयो । जिब्रो निकालेको ईमोटिकनलाई नि केटीले सिरियस्ली लिइछे, अब ब्लक नै हान्छे कि भनेर सोच्दैथिएँ । तर केही क्षणपछि रिप्लाई आयो, “कति सिरियस जिन्दगी मात्रै बाँच्नु त नि? कहिलेकाहीँ रमाइलो नि गर्न मन लाग्छ। त्यति अधिकार नि हुँदैन हामीलाई?”

छोरीलाई झोलुङ्गोमा सुताएर मलाई हल्लाउन लगाउँदै मेरी श्रीमती उठेर भातभान्सामा लागिसकेकी थिइन् । छोरी हेर्ने निहुँमा टिकटककी केटीसँग एकछिन च्याट गर्ने बाहाना मिल्दैथियो । च्याटको गफ लम्ब्याउन मैले प्रसंग बदलेँ, “तपाईं आफ्नो चित्रकारितामा पुरुषहरूप्रति किन यति धेरै आक्रमक ?” उतापट्टी मेसेज टाईपिङ हुँदैगरेको संकेत मिल्यो । म प्रतिक्षारत थिएँ ।

“नारी-पुरुष प्रकृतिको सिर्जना हो । मेरो कुचीले कुनै पुरुषको बिरोध गर्दैन । तर नारीलाई तुच्छ सम्झिने कथित पुरुषत्वलाई भने मेरो कुचीले बाँकी राख्दैन, ” उनको दार्शनिक मेसेज प्राप्त भयो । उनको दर्शनलाई उडाउँदै मैले प्रतिक्रिया दिएँ, “यस्तो तालले त यो जुनिमा तपाईंको बिहे हुँदैन होला है ।” केही क्षण मेसेज फेरि सिन भयो । उनलाई मेरो पुरुषत्वले धेरै भाउ दिन मन लगाएन। केही क्षणपछि पुनः मेसेज प्राप्त भयो, “मसँग विवाहको एक महिने अनुभव छ नि।”

पहेली जस्तो उनको रिप्लाईले यस पटक मलाई सोचमग्न बनायो । अनि उनले यसअघि बनाएका चित्रहरू सम्झिएँ । सायद उनी आफैमाथि कोरिएका थिए ती चित्रहरू । जिज्ञासु हुँदै मैले उनको विगत कोट्याउने प्रयास गरेँ । उनी खुल्न पनि तयार थिइन् । तर झोलुङ्गोकी छोरीले आमा खोज्दै रुनथालेकीले च्याटमा थप गफिने वातावरण बनेन । तसर्थ, भेटेरै कफी गफमा बाँकी कुरा गर्ने सहमति भयो ।

x – x – x – x

एउटा ब्लग भर्खर सुरु गरेको थिएँ । ब्लग बनाउन जति सजिलो, ‘कन्टेन्ट क्रियट’ गर्न त्यति नै गाह्रो । ब्लगको लागि कन्टेन्ट मिल्ने आसामा ‘टिकटक’की केटीसँग कफी गफ गर्न म लालायित थिएँ । उनकै आर्ट ग्यालरी नजिकैको कफीसपमा भेट्ने प्लान बनेको थियो । श्रीमतीसँग अरु कुरा ढाट्न सकिएला, तर परस्त्रीको मामिला लुकाइयो भने प्रत्युत्पादक हुन्छ, घर बिग्रिन्छ भन्ने मलाई लाग्छ। त्यसैले घरबाट हिड्नुअघि मैले उनीलाई टिकटककी केटीसँगको प्लान सुनाएको थिएँ । कफी गफ गर्दैजाँदा मामला ‘डिनर डेट’सम्म पुगेको खण्डमा लज्जित हुनु नपरोस् भनेर एक हजार रुपैयाँ सापटी पनि उनले दिएकी थिइन् । मप्रति उनको त्यहि अपार विश्वासक‌ै कारण मेरो “पुरुषत्व”ले पनि आजसम्म त्यो विश्वासमाथि कुठाराघात गर्ने हिम्मत नगरेको हुनुपर्छ ।

आर्ट ग्यालेरीको गेटमा पुगेपछि मैले ‘टिकटक’की केटीलाई मेसेज गरेर आइपुगेको जानकारी गराएँ । केही मिनेट मात्रै कुराएर टक् टक् हिल बजाउँदै उनी बाहिर आइन् । सर्लक्क परेको खिरिलो शरीर, गाला अलि गढेको ख्याउटे अनुहार, हलुका मेकअपमा उनी जबर्जस्त् बलेकी थिइन् । टिकटकको फिल्टर प्रयोग नगरिएको उनको ‘बोल्ड’ रुप मोबाइलको स्क्रिनभन्दा बाहिरको दुनियाँमा म पहिलोपटक देख्दैथिएँ ।

केही औपचारिक संवाद गर्दै नजिकैको खुल्ला कफीसपमा पस्यौँ । काउन्टरमा दुई कप ‘क्यापचिनो’ अडर गरेर एउटा खाली बेन्चीलाई हाम्रो आधारक्षेत्र बनायौँ । कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको डरले भन्दा पनि अरु नै कारणले बेन्चको एक छेउमा म र अर्को छेउमा उनी बसेर सामाजिक दुरी कायम गरियो । केही क्षणको मौनतालाई मैले नै तोडेँ, “अनि भन्नुस्, एक महिने विवाहको अनुभव कसरी लिनुभयो त?” क्रमभङ्ग भएको च्याटिङ गफको शिलशिलालाई जोड्ने प्रयत्न थियो त्यो ।

रहस्यमय हाँसोको फोहोरा छोड्दै उनी गम्भीर बनिन् । विगतलाई त्यति सम्झिने रहर नहुँदो हो । तर त्यहि विगतको कुरा सुनाउन त्यो कफी मिटिङ रचिएकाले उनीसँग नबोल्ने छुट थिएन । उनीले आफ्नो कहानी सुनाउन सुरु गरिन् ।

x – x – x – x

गाउँको स्कुलमा पढाइ राम्रै थियो । चित्रकलामा मात्रै हैन, म पढाइमा पनि अब्बल थिएँ । गाउँका ठूलाबडाका छोराहरूलाई पछि पार्दै म एउटी साधारण केटी कक्षामा सँधै प्रथम हुन्थेँ । गाउँमा मेरा प्रतिस्पर्धी नै कोहि नभएपछि मनमा एक किसिमको अहमता पैदा भएको हुँदो हो । अब मेरो प्रतिस्पर्धा काठमाडौसँग मात्रै हुन्छ भनेर आठ कक्षा पढ्दापढ्दै दाजुभाउजुसँग डेरामा बस्नेगरि राजधानी आएँ।

दाजुले दस कक्षासम्म जसोतसो पढाउनुभयो । फर्स्ट डिभिजनमा एस्एल्सी पास त भएँ तर त्योभन्दा माथि पढाउने दाजुको क्षमता नभएको बुझेर मैले नि आयआर्जनको बाटो खोज्न थालेँ। आकाशे पुलमा बेलुकी सामान बेच्ने, विहान कलेज जाने, दिउँसो चित्र बनाउने मेरो नयाँ दैनिकी बन्यो । अलिअलि कमाइ हुन थालेपछि दाजुभाउजुसँग छुट्टिएर एक्लै कोठा लिएर बस्न थालेँ ।

पढाइसँगै व्यापार पनि राम्रै थियो । तर एकदिन कक्षाका साथीहरूले मैले त्यसरी बाटोमा सामान बेचिरहेको देखेछन्।चोरेर पो खानु हुन्न, काम गरेर खान केको लाज? भन्ने मेरो सिद्धान्तलाई त्यसदिनपछि कलेजमा उनीहरूको फेरिएको व्यवहारले गिज्याउन थाल्यो । अनि फुटपाथको व्यापार छाडेर एकजना माडेको इलेक्ट्रोनिक पसलमा जागिर खान थालेँ । सुरुमा काम रिसेप्सनको गर्ने भनेर नियुक्ति दिएता पनि सामान प्याकिङदेखि सानोतिनो मर्मतसम्म गरियो । तर काम अनुसार तलब नदिएकाले कोठा भाडा तिर्न मात्रै ठिक्क हुन्थ्यो । यस्तो लाग्थ्यो मैले घरबेटीको लागि जागिर खाइरहेको थिएँ । जागिरले मेरो उन्नतिभन्दा बढी दुर्गति हुन थालेपछि त्यो पनि छोडिदिएँ ।

तर कलेजमा तिर्ने फिको जोहो गर्न केहि उपाय लाउनैपर्‍यो । जानेको सिप त्यहि चित्रकला थियो । त्यसदिनसम्म “हबी”को रूपमा मात्रै चित्र बनाउँथे । एकजनाले आफ्नो चित्र बनाएबापत एक हजार रुपैयाँ दिएपछि यो कलाले कमाइ पनि हुँदोरहेछ भन्ने लाग्यो । थप अरू पोट्रेटहरू बिक्री भए । तर काठमाण्डौको महङ्गीमा हातमुख जोड्न त्यो कमाइ पर्याप्त नभएपछि अरू विकल्पहरूको पनि खोजी गरेँ । काम खोज्दै घर बनाउने ठेकेदारकोमा पनि पुगेँ । शिरदेखि पाउसम्म हेरेर क्यान्भासमा कुची चलाउने मेरा हातहरूले सिमेन्ट खेलाउन सक्ने कुरामा उसले शङ्का व्यक्त गर्‍यो ।

“कफी रेडी छ, लिन आउनुस्,” कफीसपको काउन्टरवालाले उनको कहानीमा ब्रेक लगायो । कुरालाई त्यही रोकेर कफी लिन उनी आफै गइन् । एकछिनपछि गुजुजु फिज टिलपिल भरिएको कागजको कपमा कफी लिएर उनी आइन् । यस्तो लाग्थ्यो, काठमाण्डौमा संघर्ष गर्दा उनले वेटर कामको पनि राम्रो अनुभव लिइसकेकी थिइन् । एउटा कप मलाई लिन लगाएर उनले अर्को कप ट्रेमा त्यसै राखिन् । जाडोमा कफी सेलाउला भनेर मैले कफी सुरूप्प पार्न थालेँ । उनले पनि ट्रेबाट कप उठाइन् तर त्यो कपले उनको ओठसम्म पुग्ने सौभाग्य प्राप्त गरेन । म देख्दै थिएँ उनको हात अलिअलि काँप्न खोज्दै थियो । तर जाडोले हैन, विस्मृत भइसकेको उनको पुरानो यादले । कफी त्यसै सेलाउन दिएर उनी मुख्य मुद्दामा आइन् ।

सोहि क्रममा मेरो भेट उसँग भयो । काठमाण्डौको नाम चलेको आर्ट ग्यालेरीमा काम गर्दो रहेछ । खै कताबाट हो, मेरो चित्रकारिताबारे थाह पाएछ । कलेजको फि नतिरेर बाहिरिनु पर्ने अवस्था भएको बेला उसले मेरा केहि आर्टहरू राम्रै दाममा किनेर मलाई बिर्सिनसक्नुको गुन लगायो । उनी पनि आर्टिस्ट भएको हुनाले मेरो बौद्धिक श्रमको राम्रो मूल्याङ्कन गरिदिएकोमा म आभारी भएँ । मेरो लागि उनको आर्ट ग्यालेरीमा सोलो आर्ट एग्जिबिशन गर्ने प्रस्ताव राखेको दिन म रातभरि सुत्न सकेको थिइँन । उनको सहयोगमा मैले बिस्तारै अलिअलि नाम र दाम दुवै कमाउन थालेँ ।

उसँग भेट भएको केहि महिना मात्रै हुँदै थियो । एकदिन अकस्मात उनले मलाई विवाहको प्रस्ताव राख्यो । म अक्क न बक्क परेँ । उसँग प्रेमको अनुभव गर्नुभन्दा अघि नै आएको त्यो विवाहको प्रस्ताव कसरी स्वीकार्नु जस्तो भयो । मेरा दाजुभाउजु पनि हुनुहुन्छ, उहाँहरूले के भन्नु होला भनेर विवाहको प्रस्ताव टार्न खोजेँ । तर ऊ टार्ने पक्षमा थिएन । परिवार र केहि नातागोता लिएर अर्को दिन मलाई माग्न दाजुको डेरामा पुग्यो । ऊ आफै एक आर्टिस्ट भएकाले विवाहपछि पनि मेरो चित्रकारितालाई प्रोफेसनको रूपमा अघि बढाउन कुनै बाधा नपर्ने क्लु पाएपछि म पनि विवाहको लागि राजी भएँ । सानो ग्यादरिङ गरेर उसले मेरो सिउँदोमा सिन्दुर हाल्ने समारोह आयोजना भयो । त्यो एक धर्को सिन्दुरले मलाई सशरीर उसको बनायो ।

जिन्दगी भन्ने चिज पनि कस्तो रहेछ भने नि, आफुले बनाएको प्लानमा भन्दा भावीले बनाएको प्लानमा हिँड्नुपर्ने रहेछ । जे भोगिन्छ, त्यहि नै रहेछ जिन्दगी । नयाँ घरमा एक महिनासम्म सबै चिज राम्रै चल्यो । एक दिन एउटा पोट्रेट फाइनल गरेर म पलङमा पल्टिरहेको थिएँ । दराजमुनी लुकाएर राखेको एउटा बाकसमा मेरो आँखा पर्‍यो । के रहेछ भनेर मैले बाकस खोलेर हेर्दा केहि फोटाहरू थिए । उसँग एकजना विवाहित महिला र सानो बच्चा थियो । सुरूमा त कोहि दिदीबहिनी र भान्जा होला भन्ने लाग्यो । तर किन यसरी लुकाएर राखेको होला भन्ने जिज्ञासा मनमा रहिरह्यो ।

ऊ साँझ घर आएपछि केहि क्षण फ्रेस हुन दिएँ । अनि दिउँसो भेटिएको फोटो देखाउँदै नम्रतापूर्वक कसको फोटो हो भनेर सोधेँ । ऊ एकछिन कालोनीलो भयो । त्यसपछि एक न एक दिन सबै कुरा खोल्नै पर्छ भनेर त्यो महिला उसको पहिलो श्रीमती हो भन्ने कुरा खुल्यो । डिभोर्स त भएको छैन तर उनी कहिले नफर्किने गरी छोरो लिएर माइती गएकी जानकारी उसले गरायो ।

रातको त्यस्तै नौ बज्दै गरेको हुँदो हो । लोग्ने मान्छेहरू सम्बन्धलाई कति सस्तो ठान्दारहेछन् । त्यहि कुरा मलाई विवाहअघि किन नभनेको त? मेरो मनभित्र ज्वालामुखी विस्फोट हुन खोजिरहेको थियो । तर व्यक्त गर्ने कुनै शब्द थिएन मसँग । म केहि बोलिन । मेरो त्यो मौनतालाई स्वीकृतीको रूपमा उसले लिएछ । तर मलाई त्यहि रात उसलाई छोडेर हिँड्न मन लागेको थियो । के कारणले उसकी पहिलो श्रीमतीले उसलाई छोडेर गइन्? अनि उसँग मेरो चैँ दाम्पत्य जीवन कसरी सुखद् होला? अरू के के कुराहरू होला यो मानिसले मलाई ढाँटिरहेको? मनमा अनेकौँ प्रश्नहरू उब्जेका थिए । एक धर्को सिन्दुरमा अडिएको त्यो सम्बन्ध साह्रै फिका लाग्न थाल्यो ।

केहि अभिव्यक्ति नदिई जसोतसो त्यहि घरमा त्यो रात कटाएँ । बिहान भएपछि सबेरै उठेर धेरै केहि नबोली उनलाई मैले पनि छोडेको जानकारी गराउँदै आफ्नो सामान लिएर उसको घरबाट निस्किएँ । ‘एक्ली केटी अन्त कहाँ जाली र, भरे फर्किहाल्छे नि’ भन्ने सोचेर होला उसले मलाई रोक्ने यत्न गरेन । तर उसँग नफर्किने मेरो निर्णय दृढ थियो । त्यहि दिन मैले मेरो सिउँदोको त्यो सस्तो सिन्दुर पुछेर एक महिने विवाहित जीवनको अनुभवलाई पुर्णविराम लगाएँ ।

x – x – x – x

कफीसपमा मानिसहरू आउनेजाने क्रम चलिरहेको थियो । उनी केहि क्षण मौन रहिन् । मैले कप रित्याइसक्दा उनको कपमा कफी अझै टिलपिल नै थियो । मौनता तोड्दै मैले भनेँ, “कफी चिसो भयो नि, मिस् ।” उनले चिसो कफी सुरुप्प पार्दै पर सडकतिर आँखा दौडाइन् । त्यहि मेसोमा मैले उनलाई नियालेर हेरेँ । बोल्ड आवरणभित्र उनको सम्वेदनशिल मन प्रस्ट देखिन्थ्यो । उनको कलामा अल्ट्राफेमिनिजम र कठोरता देखिएता पनि भित्री हृदय कोमलताले भरिपुर्ण थियो । विषय मोड्दै मैले सोधेँ, “भनेपछि अब तपाइँ फेरि विवाहित नहुने?”

“रहर त जिन्दगीभर यत्तिकै सिंगल बस्ने छ नि,” कफीको कप पुनः एकपटक उनको ओठसम्म पुग्नखोज्दै थियो, बिचैमा उनी बोलिन्, “तर म जस्तो छु, त्यस्तै स्वीकार गर्ने आँट कसैले गर्छ भने ‘नो’ भन्दिन।” लामो समय सिरियस रहेको वातावरण एकाएक हाँसोमय बन्यो । मैले नि शुभकामना दिएँ, “टिकटकतिर चाँडै भेटियोस् त्यस्तो आँटिलो मान्छे ।” उनी खित्का छोडेर हासिन्।

साँझ पर्न लागिसकेको थियो । कफीसपमा भिडभाड अझै कम भएको थिएन । उनले चिसो कफीको अन्तिम घुट्की लिएपछि कफीसपको त्यो बेन्ची छोड्ने बेला भयो । कफीको पैसा तिर्न म अघि सर्न खोजेँ । तर उनले सुरुमै पेमेन्ट गरिसकेकी रहिछिन् । सायद मेरो पुरुषत्वप्रति अनुग्रहित हुन उनी चाहँदैन थिइन् । उनले मलाई घर नजिको चोकसम्म स्कुटरमा लिफ्ट दिइन् । खाना खान आज हाम्रो घर जाउँ भन्ने मन थियो । घरमा श्रीमतीसँग उनको परिचय गराउने साहस त थियो तर पहिलो भेटमै उनीसँग त्यत्रो प्रस्ताव राख्ने हिम्मत जुटाउन सकिनँ ।

घर पुग्दा मन प्रसन्न थियो । ब्लगको लागि दामी कन्टेन्ट भेटिएकोमा म आफै पुलकित थिएँ । श्रीमतीले मेरो त्यो प्रफूल्लता पछाडीको कारण बुझ्न खोज्दै सोधिन्, “टिकटककी केटीसँग राम्रै डेटिङ भए जस्तो छ नि?” मैले नि मुसुक्क हाँस्दै जवाफ दिएँ, “चिन्ता नगर, त्यस्तो केहि पनि भएन।”

सेतोपाटीमा मिति २०७८ पुस ३ गते प्रकाशित ।

टिकटक केटी कफी भेट