अहेम्दावादको सस्तो बसाई हुँदाहुँदै पनि धेरै दिन एकै ठाऊँमा बस्ने मन नभएकोले राजस्थान हानिने बिचार आयो । गएका चार दिनमा गुजरात धित मरुन्जेल घुमिसकेको थिएँ । एक यात्रीको लागि दुई दिन घुम्नको लागि पर्याप्त हुँदोरहेछ । अझै अरु दिन अहेम्दाबादको रेवाबाई धर्मशालामा बस्नु पैसा बचाऊने काईदा मात्र हुने थियो । त्यसैले कुनै पनि हालतमा राजस्थानको माउन्ट अबु पुग्ने टुङ्गोमा पुगेँ । मेरो यो निर्णयमा साथ दिने यात्रामा आएका त्यत्रा साथीहरू मध्य पाँच जना मात्र थिए ।
‘एलेभेन्थ आवरमा’ रेलको अलि गतिलै डिब्बाको लागि टिकट पाउन मुस्किलको कुरो रहेछ । सधैँ स्लिपर क्लासको यात्रा गरेकोले जेनरल डिब्बाको यात्राको कुनै अनुभव थिएन मसँग । सुनेको धेरै थिएँ , तै पनि माउन्ट अबु पुग्न जेनरल डिब्बा’कै टिकट काट्नुको विकल्प थिएन हामीसँग ।
जेनरल डिब्बामा बास्तविक भारतको अनुभव गर्न पाइयो भन्दा अत्युक्ति नहोला । चढ्नु भन्दा अगाडी नै डिब्बा खचाखच थियो । तीन जना बस्ने सिटमा आठ जनासम्म अटाएका थिए । ब्याग राख्ने ठाउँमा पनि मान्छेहरू आनन्द मान्दै बसेका थिए । यात्रुहरू भुईँमा पनि अनारका दाना जस्तै मिलेर बसेका थिए । डिब्बा पुरै ‘स्याचुरेटेड’ थियो । अब यहि डिब्बामा माउन्ट अबुसम्मको यात्रा मैले गर्नु थियो ।
रेल प्रत्यक स्टेसनमा रोकिँदा यात्रुहरूको ओर्लने सङ्ख्या भन्दा चढ्ने सङ्ख्या दोब्बर हुन्थ्यो । जति यात्रु चढेपनि ‘स्याचुरेटेड’ भएको रेल ‘सुपर स्याचुरेटेड’ कहिले पनि हुँदो रहेनछ । मान्छेहरू जति पनि, जसरी पनि अटाएकै थिए । झ्याल-ढोकाको समाउनेमा समातेर यात्रा गरिरहेका यात्रुहरूलाई देख्दा म दुबै खुट्टाले उभिएरै ‘सुरक्षित’ र ‘आरामदायी’ यात्रा गर्न पाउँदा आफुलाई भाग्यमानी ठान्नु पर्ने स्थिती थियो ।
यात्रा भर धेरै कुराको साक्षी हुन परे मेरा यि आँखाहरू । छिन छिनमा आउने माग्नेहरूलाई एक-दुई पैसा दिएर पन्छ्याउन त सकिन्थ्यो तर ताली पिट्दै माग्न आउने हिजडाहरूको अगाडी भने केहि सिप चल्दैनथ्यो । यि बिभिन्न रङ्ग र ढङ्गका माग्नेहरूले अर्थशास्त्री एवम् प्रधानमन्त्री मनमोहन सिँहको तिव्र आर्थिक-वृद्धि दरको प्रक्षेपणलाई खिसी गरे जस्तो लाग्थ्यो ।
डिब्बामा हरेक किसिमका मानिसहरू यात्रा गरिरहेका थिए । मेरो नजर भ्याएसम्म सबैमाथि दौडिरहेको थियो । एउटा कुनामा मुस्किलले केहि वर्ग सेन्टिमिटर ओगटेर एक वृद्धा बसेकी थिइन् । भिडभाड पन्छ्याउँदै अघि बढ्दै गरेकि एक सुकिली मुकिली आइमाई त्यहिँ आईन् र ‘ठकुराईन’ शैलीमा उनलाई उठ्न आदेश दिइन् । सुरुमा प्रतिरोध गरेपनि, उठेर नै ति ‘ठकुराईन’लाई बाटो दिनुको बिकल्प थिएन उनीसित ।
लामो समय रेलमा कटाउन पट्यार लाग्दो हुँदोरहेछ । समय कटाउन कोहि मोबाइलमा गेम खेल्दै थिए । कोहि अपरिचित छबिको पर्दा उघार्दै नयाँ साथी बनाउँदै थिए । केहि राजस्थानका रैथाने जस्ता देखिनेहरू आफ्नै पाराको गितमा मघ्न थिए । रेलमा जति सुकै प्रतिकुल परिस्थिति भए पनि सौहाद्रपुर्ण वातावरण थियो।
रेल फेरी अर्को स्टेसनमा पुगेर रोकियो । यो पटक यस डिब्बामा चढ्ने यात्रुहरूको प्रकृती भने फरक थियो । देब्रे गालामा कालो कोठी भएकी महिला आफ्नो ‘सैन्य टुकडी’का साथ डिब्बामा प्रवेश गरिन् । उनी हामीहरूलाई पन्छ्याउँदै अगाडी बढ्दै थिइन् । उनको प्रवेश पुरानो हिन्दी फिल्ममा भिलेनको झल्को आउने खालको थियो । तिनलाई देख्दा रेलमा केहि अप्रिय हुनेमा कुनै संदेह थिएन ।
नभन्दै मुम्बईका ‘मामु’हरूले बोल्ने लवजमा उनको मुखार-बिन्दुबाट तीता वाणीहरू निस्कन थाले । बसेका यात्रीहरूलाई बिभिन्न बहानामा एक एक गरेर उठाउँदै आफ्नाहरूलाई राख्न थालिन् । अटेरी गर्ने केहि भने उनका भुस्तिग्रेहरूको सिकार बन्न पुगे । रेलको सौहाद्रपुर्ण वातावरण एकै छिनमा धमिलियो । उनका सैन्य टुकडीका सबै सदस्यहरूले आशनग्रहण नगरेसम्म रेलमा शान्ति छाएन ।
यस्तै दृश्यहरू देख्दा देख्दै अबुरोड स्टेसनसम्मको कठिन यात्रा सकियो । निकै नौलो अनुभुति गर्न पाइयो । एक दिनको यात्रा गर्न त यत्रो सास्ती भयो हामीलाई । यहाँका जनताहरू कसरी दिन दिनदिनै यस्तो यात्रा गर्छन् होला भन्ने लाग्यो । खैर जे होस् , अब माउन्ट अबुसम्मको बसको यात्रा चाहिँ आरामदायी रहोस् भन्ने कामना गर्दै यात्रा जारी राखेँ ।
