कुनै समय एउटा अमुक खुराफाती कार्यालयमा एउटा “कडा” हाकिम साब काम गर्थे । कार्यालयमा “अनुशासन” बनाइराख्न केके केके लफडा झिकिराख्थे । एक दिन उनको कार्यालय सहयोगीले १५ रुपैयाँको बिल पेश गरेछन्, जुन उनले सदर गर्नुपर्ने भयो । यसमा पनि उनले आफ्नो हाकिमीपन देखाउन कुनै कसर छोडेनन् । सोधे कार्यालय सहयोगीलाई, “के हो यो?”
कार्यालय सहयोगी नि कम्ति खुराफाती थिएनन् । नडराइ जवाफ दिए, “हाकिम साब, अस्ति हजुरले मन्त्रालयमा चिठी पठाउन मलाई पठाइबक्सेको थियो नि । हो … त्यहि चिठी पुराउन जाँदा मलाई बाटोमा पिसाब लाग्यो । अनि सार्वजनिक शौचालय प्रयोग गर्दा तिरेको पैसाको बिल नि हजुर ।…”
हाकिम कड्किए, “अनि पिसाब फेेरेको नि १५ रुप्पे लाग्छ ?… ५ रुप्पे मात्रै हैन ?… बढी बिल पेश गर्ने?”
“म भन्दै छु हजुर…,” कार्यालय सहयोगी नअक्मकाइकन बोले, “…पिसाब फेरेर नि हजुर, म बाहिर निस्केपछि मलाई दिशा पनि लाग्यो….। अनि त्यसपछि त्यसको थप १० रुप्पे तिरेँ….।”
हाकिम अझै कड्किए, “अनि सुरुमै दिसा गर्न छिरेको भए पिसाब फेरेको ५ रुप्पे जोगिन्थेन? … मितव्ययी हुनुपर्दैन?”
कार्यालय सहयोगीले लाचार भएको जस्तैगरि भने, “के गर्नु हजुर, त्यतिखेर आएन…।”
