औसत नेपालीहरूको खासै ठूलो महत्वकांक्षा हुँदैन । काम गरेर खान पाइयोस्, बालबच्चाहरूलाई जस्तो भएनि टाई लाउने बोर्डिङ स्कुलमा पढाउन पाइयोस्, हप्ता वा महिना दिनमा एक छाक मासुभात खान पाइयोस्, अनि ओत लाग्न एउटा सानो सानो भएनि आफ्नै घर होस् । धेरै नेपालीहरूको ठूलो सपना भनेकै जिन्दगीभरको कमाइले एउटा घर बनाउन पाइयोस् भन्ने हुन्छ । जिन्दगीभरको कमाइले नपुगेर धेरैले ऋण गरेर पनि घर बनाउने आँट गर्छन् ।
यति दुःख गरेर बनाउन थालेको घरको पहिलो ढलाइ गरेको दिन चाँजोपाँजो मिलाउन घरधनीलाई एकातिर तनाब हुन्छ भने अर्को तिर घर बिस्तारै ठडिन लागेकोमा एउटा बेग्लै किसिमको आनन्दको सञ्चार पनि सँगै हुनेगर्छ । घरधनीलाई मात्रै हैन घर ढलाइ गर्ने मजदुरहरूले पनि यस दिनलाई उत्सवकै रूपमा लिने गर्छन् । समुहमा काम गर्दै एकअर्कासँग हार्दिकता साँटासाँट गर्छन् । ढलाइ सकेपछि खाजा खाँदा पिक्निक कै जस्तो माहोल तयार हुन्छ ।
घरधनीले ठेकेदारलाई बुझाउने एकमुस्ठ शुल्क बाहेक पनि कहिलेकाहिँ अरू थप खर्च ढलाइको दिन हुनेगर्छ । विशेषगरी सिमेन्ट, बालुवा र गिटी बोक्ने मजदुरहरूले घरधनीबाट केहि ‘टिप्स’को अपेक्षा गरिरहेका हुन्छन् । ऋणमा चुर्लुम्मै डुबेको अवस्था भएतापनि कति घरधनीले पैसा, रक्सी र खाजाको रूपमा उक्त टिप्स भुक्तान गर्न हिच्किचाउँदैनन् । आउनुस्, जीवनको यो रंगलाई केहि तस्वीरहरूमा हेरौँ ।









