अपरेसन गर्नु पर्ने इमर्जेन्सी कल आएपछि उनी हतार हतार गरेर अस्पताल आईपुग्छन् । त्यो केस हेर्न सक्ने दक्ष चिकित्सक उनी नै थिए । उनी सरासर अपरेसन थिएटरतिर लम्किन्छन् । विरामीका बुबा जस्ता लाग्ने व्यक्ति निकै व्याकुलताका साथ ओहोर दोहोर गरिरहेका थिए । डाक्टर आएको थाहा पाए पछि तिनी बाघझैँ झम्टिन पुग्छन् उनीमाथि, “किन यति ढिला ? तिम्लाई थाहा छैन, मेरो छोरा जीवन र मरणको दोसाँधमा छट्पट्टिरहेको छ ? डाक्टर भएर अलिकति नि जिम्मेवारीको बोध छैन तिम्लाई ?”
उनले विनम्रतापुर्वक जवाफ दिए, “माफ गर्नु होला । म यहाँ थिइन । खबर पाउनासाथ म दौडिएर यहाँ आएको छु । … कृपया शान्त हुनुहोस् र मलाई मेरो काम गर्नदिनुस् । ”
उनको जवाफ भुईँमा खस्न नपाउँदै तिनी बम्किए, “शान्त ??… के तिम्रो आफ्नै छोरा यो रुम भित्र भएको भए तिमी शान्त रहन सक्थ्यौ ? यस्तै ढिलासुस्तिले अहिले तिम्रो छोरा मर्यो भने तिमी के गर्थ्यौ ?”
मन्द मुस्कानका साथ उनेले फेरी जवाफ दिए, “म गीताको एउटा सार सम्झिने थिएँ – तिमी के लिएर आएका थियौ र के नै लिएर जानेछौ ।”
चिकित्सकको त्यो आदर्शवादी कुराबाट तिनी मुर्मुरिन्छन्, “अरुलाई भन्न सजिलो छ । आफैलाई परेको भए थाहा हुन्थ्यो ।” थप विवाद नगरी उनी अपरेसन थिएटर भित्र प्रवेश गर्छन् ।
केही घण्टाको शल्यक्रिया पछि उनी बाहिर निस्किए । उनको अनुहारमा देखिएका खुसिका रेखाहरुले अपरेसन सफल भएको सङ्केत गर्थ्यो ।
“तपाईँको छोरा खतरामुक्त छ । अरु कुरा नर्ससँग सोध्नु भए हुन्छ ।” यति भन्दै उनी तिनको जवाफ पनि नसुनी त्यहाँबाट हतारहतार बाहिरिन्छन् ।
“किन यति घमण्डी छ यो डाक्टर? एक मिनेट पर्खेर आफैले भन्दा के जान्थ्यो त्यस्को ?”, तिनी आवेगमा नर्ससँग प्रश्न गर्छन् । नर्स भावविह्वल भई उत्तर दिन्छिन्, “उहाँको छोराको हिजो राती दुर्घटनामा परी ज्यान गएको थियो । उहाँलाई यो केस हेर्न हामीले फोन गर्दा उहाँ आर्यघाटमा अन्तिम संस्कारको तयारीमा हुनुहुन्थ्यो । तपाईको छोरालाई बचाएपछि अहिले त्यही कार्य पुरा गर्न उहाँ जानुभएको छ ।”
