नेपालमा अझै पनि दाइजोको चलन व्याप्त छ। तराईमा त यो चलन यति विकृत छ कि केटाले मागे जति दाइजो नल्याए केटीलाई कुटपिट र जिउँदै जलाउने समाचार बेला बेलमा आउने गर्छ।
तर विशेषत लिम्बू समुदायमा भने स्थिति ठीक उल्टो छ । केटा पट्टीकाले छोरी माग्न जाँदा नाङ्लो भरि पैसा र सुन राखेर छोरीको बाउआमालाई मनाउने प्रयास गर्छन् । माग्न गएको छोरी ल्याउन नसके केटापट्टीको प्रतिष्ठामा आँच आउनु जत्तिकै मानिन्छ । आफुले आस गरे जति पैसा/सुन नाङ्लोमा नझरेसम्म केटीको बाउले नाङ्लो छुँदैछुँदैन । छोरी जति राम्री र योग्य त्यति नै धेरै “आसा” । मागे अनुसार कै ‘सुनौली रुपौली’ टक्र्याए पछि केटीको बाउले रित समाउँछ । विहे गरेर लगिसके पछि यदि छोरी कसैसँग भागिन् भने ‘पुरानाे लाेग्ने’लाइ भगाउनेले सुनौली रुपौली रितको दोब्बर ‘जारी’ तिर्नु पर्छ । भगाउने मान्छे फेला नपरे रित समाउने बाउले नै तिरिदिनु पर्छ ।
