पहिलो कमाई

रामपुरको चार वर्षे पढाइ सकिएपछि करिब १ वर्ष बेरोजगार बसिएको थियो । जागिर, जिआरइ र एम्.एस्.सीको अन्योलग्रस्त संक्रमणकालिन अबधि सम्झिँदा अहिले नि कहाली लाग्छ । घरमा पैसा कमाइहाल्नु पर्ने मेरो बाध्यात्मक अवस्था त त्यस्तो केही थिएन । तर अब पनि अर्थोपार्जन गरिएन भने कहिले हो त नि भन्ने आफ्नै मनोवैज्ञानिक संत्रासमा रुमलिरहेको थिएँ ।

यस्तैमा एउटा काम आइलाग्यो । एकजना सरले विभिन्न समयमा लेख्नुभएको जलवायु परिवर्तन सम्बन्धी अंग्रेजी लेखरचनाहरूको संयोजन गरि नेपालीमा अनुवाद गरेर पुस्तकाकार बनाए बापत २५ हजार रुपैयाँ मिल्ने भयो । त्यसअघि व्यवसायिक अनुवादको काम खासै गरेको थिइन । एउटा बेरोजगारलाई त्यो काम एउटा चुनौती र अवसर दुवै थियो ।

केही महिना खुब मिहिनेत गरेर काम सकेर बुझाएँ । सम्झौता बमोजिम रकम प्राप्त भयो जुन जिन्दगीको पहिलो कमाई थियो । त्यो पैसाले घरमा झ्वाट्टै देखिने केहि चिजमा खर्च गर्ने बिचार आयो । हाम्रो घरको टिभिकोठामा हाम्रो घरभन्दा नि पुरानो एउटा कार्पेट थियो । त्यसलाई बिस्थापित गर्दै नयाँ कार्पेट किनेर बिछ्याउँदा मेरो पहिलो कमाइले “भिजिबल चेन्ज” ल्याउने निश्कर्ष निकालेँ । बजारबाट मेरो बजेट बमोजिमको कार्पेट ल्याएर भित्र्याएँ । नयाँ कार्पेट सफा गर्न भ्याक्युम क्लिनर नि सँगै लिएर आइयो ।

कार्पेट त बिछ्याइयो, प्रयोगमा आइ नै रह्यो । तर घरमा पहिलो पटक भित्रिएको भ्याक्युम क्लिनरको भने माया यति लाग्थ्यो कि, धेरै चलायो भने बिग्रिन्छ कि भनेर कार्पेटमा कुचो/खरेटो नै बढी लाउने गरिन्थ्यो । सन्दुकमा बहुमुल्य सम्पत्ति राखेजस्तै गरि भ्याक्युमको “जतन” धेरै समय गरियो ।

समयक्रमसँगै बिहे गरियो, बाबू जन्मियो । बाबू ठूलो हुँदै जाँदा उसका चाहनाहरू बढ्न थाले । अरु बच्चाहरू जस्तै खेलौना गाडी तिर उसले रुचि देखाउन थाल्यो । खेल्ने, बिगार्ने, नयाँ गाडी माग्ने क्रम चल्न थाल्यो । एकदिन दशैँमा कार्पेट सफा गर्न झिकिएको भ्याक्युमले उसको ध्यान तान्यो । त्यसदिनदेखि उसले भ्याक्युमलाई आफ्नो नयाँ गाडी बनायो । भ्याक्युमको फोहोर जम्मा हुने ठाउँमा सामान राखेर ढुवानी गर्न थाल्यो । लामो समय सन्दुखमा राखिएको भ्याक्युमले नयाँ काम पायो ।

केही दिन अघि, खेल्ने क्रममा बाबुले भ्याक्युमको अघिल्लो भागको कभरमा क्षेति पुरायो । यस अघि पनि धेरै खेलौना बिगारेर फालिसकेको थियो बाबुले । तर त्यो मेरो जिन्दगीको पहिलो कमाईको “मुहार” भएकोले त्यो बिग्रिँदा मेरो मन अलिकति गह्रौं भयो । पैसा भएपछि लेटेस्ट मोडलको नयाँ भ्याक्युम जस्तो पनि किन्न त सकिन्छ तर त्यहि सन्दुकवाला भ्याक्युमसँग जोडिएको भावना कहाँ किन्न पाइन्छ र?

गह्रौँ मनले बिग्रिएको भ्याक्युमलाई एक छिन हेरिरहेँ । अनि त्यसपछि नजर माथि उठाएर बाबुलाई हेरेँ । विश्वबिजयको भावमा ऊ प्रसन्नतामा मग्न थियो । उनको त्यो अबोध प्रसन्नताले मेरो गह्रौँ मनलाई एक्कासी हलुका बनायो । आवेग र करुणा मिश्रित मेरो मनोभावनालाई उसको एकै मुस्कानले शान्त पार्यो । अनि सम्झिएँ जतिसुकै भावना जोडिएता पनि त्यो बस्तु बाबुको यो मुस्कानभन्दा बहुमुल्य पक्कै छैन । बिगार्दै र भत्काउँदै त उसले एकदिन बनाउन सिक्ने हो ।

अनि सबै कुरा बिर्सिएर बाबुसँगै “भ्याक्युम गाडी” खेल्न थालेँ ।

बच्चा पहिलो कमाइ