१७ औँ शताब्दीको रोमन साम्राज्यमा साइमन भनिने एकजना मानिस रोटी चोरेको आरोपमा जेल परे । उक्त अपराधमा अदालतले उनलाई भोकै मार्ने मृत्युदण्डको सजाय सुनायो । उनकी छोरी पेरोले अदालतसामु पिता जेलमा भोकै नमरुन्जेल हरेक दिन भेट गर्न पाउँ भनेर विन्ति गरिन् । केही खानेकुरा बोकेर लान नपाइने शर्तमा उनलाई अदालतले पिता भेट्ने अनुमति दियो ।
प्रत्येक दिन पेरो पितालाई भेट्न जेल आउँथिइन् । सुरक्षाकर्मीले उनको कडा खानतलासी गर्थ्यो । खानेकुरा लुकाएर ल्याउन कुनै सम्भावना नै थिएन । भर्खरै सुत्केरी भएकी पेरोले पिताको भोक मेटाउन आफ्नै वक्षको दूध चुसाउने गरिन् । यसरी महिनौँसम्म दुधको भरमा साइमन जिवित रहे ।
भोकै मर्ने सजाय पाएका साइमन त्यति लामो समय जीवत रहेपछि कारागार प्रशासनलाई टाउको दुखाइको विषय बन्यो । पेरोको खानतलासी अझै कडा पारियो । एकदिन पेरोले पितालाई स्तनपान गराउँदा गराउँदैको अवस्थामा रंगेहात फेला परिन् ।
जेलरले दुवैलाई अदालतमा उपस्थित गराए । पिताको लागि पेरोले गरेको त्यो अभुत्पुर्व कार्यले न्यायाधीशको मन पग्लियो । उनले साइमनको मृत्युदण्ड सजाय बदर गरेर दुवैलाई मुक्त गर्ने फैसला सुनाए । यसरी एउटा छोरीले आफ्नो पिताको जीवनरक्षा गरिन् ।
