म विस्तारै सिक्दैछु, मौन बस्न

3 years ago
गफाडी गाइड

म विस्तारै सिक्दैछु, बेलाबेला दुःख दिइरहने हरेक कुराहरूमा प्रतिक्रिया दिनै पर्छ भन्ने छैन रहेछ । मौन धारण गर्ने सिप पनि जीवन सुन्दर बनाउन आवश्यक एउटा सिप रहेछ।  जीवनमा आइपरेका हरेक नकारात्मक कुराहरूमा रोष प्रकट गर्दा आफ्नै उर्जाको क्षति मात्रै हुने रहेछ । र जीवनका अन्य सुन्दर पाटाहरूमा दृष्टिगोचर गर्न बाधा पुग्ने रहेछ भनेर म विस्तारै बुझ्दैछु ।

आफ्ना आनिबानीहरू सबैलाई मन पर्नै पर्छ भन्ने रहेनछ । अरुलाई जति राम्रो व्यवहार गरिन्छ, तिनीहरूबाट पनि आफुलाई त्यस्तै व्यवहारको अपेक्षा गर्नु बेकार रहेछ भन्ने ज्ञान मलाई बल्ल हुँदैछ ।

म विस्तारै बुझ्दैछु, सबैको मन जित्न खोज्नु भनेको समय र उर्जा मात्रै खेर फाल्नु हो । प्रतिक्रिया नदिने बित्तिकै मैले चित्त बुझाएँ भनेर नअर्थ्याउँदा हुन्छ । म व्यर्थको बहसभन्दा माथि उठ्न चाहन्छु । आफुले गरेका गल्तीहरूबाट पाठ सिक्न चाहन्छु । मैले खोजेको त आत्मिक शान्ति मात्रै हो, जुन म आफैले मात्रै दिनसक्छु ।

मलाई अब कुनै ड्रामा स्वीकार्य छैन । मानिसहरूले मलाई औसतभन्दा मुनिको महशुस गराएको अब कन्चित स्वीकार्य छैन । मलाई बेकारको झगडा वा विवादमा पर्नु छैन । म सिक्दैछु, कहिलेकाहीँ केही प्रतिक्रिया नदिएर पनि धेरै कुरा भन्न सकिँदो रहेछ । आफुलाई मन नपरेको कुरामा प्रतिक्रिया दिइयो भने आफ्नै भावनासँग खेल्न अरुलाई बल प्रदान गरिने रहेछ भनेर म विस्तारै बुझ्दैछु ।

अरुले के गर्छन् भन्ने कुरा मेरो बसमा छैन तर त्यसलाई कसरी लिने, प्रतिक्रिया दिने कि नदिने, मनमा लिएर बस्ने कि नबस्ने भन्ने कुराको नियन्त्रणकर्ता म आफै रहेछु । यस्ता विषम परिस्थितीहरूले आफ्नो बारेमा होइन, तिनीहरूकै बारेमा धेरै कुरा जान्ने मौका प्रदान गर्छ भनेर मैले विस्तारै बुझ्न थालेको छु ।

म विस्तारै बुझ्दैछु, आफैसँग प्रेम गर्न सिकाउनका लागि अप्ठ्यारा परिस्थितीहरू आउँदा रहेछन् । जुन व्यक्तिहरूले मलाई तल झार्न खोजे, तिनीहरूसँगै लड्न यो आत्मप्रेमले दरिलो कवचको काम गर्दो रहेछ । तिनीहरूले मेरो आत्मविश्वासलाई डग्मगाउँन खोज्दा वा आफैलाई हिनताबोध गराउन खोज्दा त्यहि आत्मप्रेमले नै मलाई जोगाउने रहेछ ।

म यो पनि बुझ्दैछु कि मैले प्रतिक्रिया दिइहालेँ भने पनि न त कुनै परिवर्तन आउनेछ, न त ति मानिसहरूमा आफुप्रति करुणा वा सम्मान जगाउन सक्नेछु । अनि मैले बोलेर कुनै चमत्कार हुने पनि त होइन ।

कहिलेकाहीँ जे भइरहेको छ, त्यसलाई हुन दिनुपर्छ । जिन्दगीमा मानिसहरू आउने जाने क्रम चलिरहन्छ । केहीलाई जान दिँदा नै बेस हुन्छ । केही विवादहरूमा हारिदिँदा पनि केही फरक पर्दैन । धेरै व्याख्या किन गरिरहनु पर्‍यो र? हरेक प्रश्नको उत्तर किन खोजिरहनु पर्‍यो र? आफु कुन पृष्ठभूमिबाट आएको हो भनेर सबैले बुझुन् भन्ने अपेक्षा पनि किन पाल्नु पर्‍यो र? म विस्तारै थाहा पाउँदैछु ।

जीवनलाई राम्ररी चलाउनको लागि आफ्नो वरिपरीको परिस्थितीलाई होइन, आफुभित्रको परिस्थितीलाई चाहीँ जिन्दगीको केन्द्रबिन्दुमा राख्नुपर्छ । आफैमा काम गर्नुस् । आफ्नै आत्मिक शान्तिका लागि काम गर्नुस् । अनि आफै थाहा पाउनुहुनेछ, आफूलाई दुःख दिने हरेक कुरालाई प्रतिक्रिया दिन छोड्नुभयो भने, अनि मौन बस्न सिक्नु भयो भने तपाइँ स्वस्थ र सुखी जीवन बाँच्न सक्नुहुनेछ । बस्! मौनलाई धारण गर्न सिक्नुस् । जिन्दगीमा खुसी नै खुसी महशुस गर्नुहुनेछ ।

The HR Diary मा प्रकाशित Stevie Flood को लेख भावानुवाद गरिएको ।

–  PC: Picture Generated from DeepAI.space

AI भावना मौन