विकास

4 years ago
गफाडी गाइड

कुनै समय एउटा गाउँमा खडेरीले ठुलो बिपत्ती आईपर्‍यो । पानी नपरेर खेतमा धाँजाहरू फाट्न थाले । प्यासले गाई-वस्तु मात्र होइन मानिसहरू पनि प्याक्-प्याक् पर्न थालेका थिए । दुई घण्टा हिँडेर पुगिने ओडारपानीको भरमा गाउँलेहरूले आँत भिजाउँदै आफ्नो प्राण जोगाईराखेका थिए । त्यो पनि सुक्यो भने कसरी बाँच्ने भन्ने कुराले प्रत्येक गाउँलेहरू चिन्तित थिए ।

एक दिन, चौतारीमा गाउँका टाठा-बाठा, तरुण-वृद्ध, आईमाई-केटाकेटी, किसान-जमिनदार सबै भेला भए । गाँईँगुँईँ आवाजलाई शान्त पार्दै एउटा भलाद्मी बोले, “आदरणिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामी सबैलाई थाह भएकै कुरा हो । गाउँमा खडेरीले गर्दा ज्यान जोगाउनै गाह्रो भईसक्यो । …. । तसर्थ, आजको भेलाबाट खडेरीसँग जुध्ने एउटा उपाय निकालेर मात्र उठेनौँ भने हामी सबैको अन्त्य निश्चित छ ।”

झन्डै दस मिनेट लामो भाषण सकिएपछि चौतारीको माहोल शान्त रह्यो । त्यो सन्नाटालाई चिर्दै एक वृद्धले सकि-नसकी अर्तीको पोको फुकाए, “यो सबै इन्द्र भगवान रिसाएर भएको हो । अब सबै मिलेर इन्द्रलाई खुसी पार्न पुजा गर्नुपर्छ ।”

एक तरुण ति वृद्धको अर्ती भुईँमा खस्न नपाउँदै पड्किहाले, “यो इन्द्र-सिन्द्र केहि होइन । सब जलवायु परिवर्तनको असर हो । खडेरीबाट बच्न अरू नै उपायको खोजी गर्नु पर्छ ।” आँतै सुकिसकेकाले वृद्ध थप बहस गर्न स्थिती मै थिएनन् । चोतारीमा बिभिन्न मानिसहरूले आफ्नो सल्लाह सुनाउने र अरुले त्यसको खण्डन गर्ने क्रम जारी रह्यो ।

यत्तिकैमा, एक भलाद्मीले अर्को प्रस्ताव राखे, “गाउँमा एउटा इनार खन्नु पर्छ ।” चौतारीमा फेरी एकछिन सन्नाटा छायो । यस पटक खण्डनका स्वरहरू कतैबाट सुनाएनन् । सन्नाटा चिर्दै एउटाले “ठीऽऽक।” भन्दै चिच्यायो । पहिला कसले बोल्ला र म पनि बोलुँला भनेर पर्खिए जसरी गाउँलेहरू एकै चोटी ” हो हो ठीक हो ।” भनेर इनार खन्ने उपायलाई सदर गरे ।

इनार खन्न प्रत्येक घरबाट एकजनाले श्रमदान गर्ने सहमती भयो । इनार बनाउन चाहिने अरु आर्थिक चिज पालिकाले व्यहोर्ने भयो । प्राण बचाउने सुझाव दिने ति भलाद्मीको मुक्तकण्ठले प्रसंसा भयो । त्यसको भोलिपल्ट देखि नै इनार खन्ने कार्य सुरू भयो ।

पालिकाले तीस हजार रुपैयाँ इनार खन्नको लागि बजेट निकासा गर्‍यो । प्रत्यक घरबाट एकजना इनार खन्ने काममा सहभागी भए । पालै-पालो सबैले माटो खन्ने, माटो झिक्ने र माटो फाल्ने काममा सहयोग गरे । अरु बाँकि रहेकाहरूले ओडारपानीबाट पानी ल्याएर ति श्रमदानीहरूको आँत भिजाउन मद्दत गरे ।

सबै मिलेर गरेको काम सफल भई छाड्यो । तेश्रो हप्तामा नै इनारमा पानीको मुल भेटियो । गाउँलेहरूमा खुसियाली छायो । इनार तयार भएको दिन गाउँमा उत्सव नै गरियो । त्यहि दिन आकासबाट वर्षा भएर लामो खडेरीको पनि अन्त्य भयो । गाउँका मुहानहरूमा फेरि पानीको मुल फुट्न थाले ।

समुद्र-मन्थन गर्दा अमृतसँगै कालकुट विष निस्के जस्तै गाउँमा सकारात्मक कुराको साथ नकारात्मक कुराको पनि विऊ रोपियो । गाउँका टाठा-बाठाहरूले इनारमा आफ्नो वर्चस्व जमाउन चाहे । अरू कुरामा सँधै हेपिए पनि इनारमा आफ्नो निकै पसिना परेकोले यसपटक निमुखा जनताहरू चुप लागेर बस्ने स्थितीमा थिएनन् । उता, नयाँ बनेको इनारको क्षेत्र गाउँका बच्चाहरूको गुच्चा खेल्ने स्थान बन्दै गयो । अचानक एक दिन इनारमा खसेर एउटा बच्चाको मृत्यु हुनपुग्यो । त्यो खबर जङ्गली डँढेलोसरि गाउँ भरि फैलियो । टाठा-बाठाहरूले चौतारीमा फेरी भेला बोलाउने भए ।

“आदरणिय दाजुभाइ तथा दिदीबहिनीहरू, गाउँमा फेरी एकपल्ट ठूलो समस्या आईपरेको छ । हामी सबैलाई थाह भएकै कुरा हो, हिजो हर्केको छोरो इनारमा परेर मर्‍यो । हर्केसँग भएको घटना हामीसँग पनि नदोहोरिएला भन्न सकिन्न। हिजो उसको छोरो इनारमा पर्‍यो भने भोलि हाम्रै छोराहरू पनि इनारमा पर्न सक्छ । पर्सि हामी नै इनारमा पर्न सक्छौँ । हामी रहे पो इनार रहन्छ । हामी नै नरहे के को इनार ? …. । तसर्थ, त्यो इनार अब हामीले पुर्नुपर्छ, दाजुभाइ तथा दिदीबहिनीहरू ।”

त्यहाँ उपस्थित सबै टाठा-बाठाहरूले ताली बजाए । यस पटक पढेलेखेका तरुण र भलाद्मीहरू पनि चुप रहे । इनार पुर्न आवश्यक रकम पालिकाले नै व्यहोर्ने भयो । फेरी तीस हजार रुपैयाँ खर्च गरेर इनार पुरियो ।

कथा विकास