धेरै पहिलेको कुरा हो । विश्वब्रह्माण्ड पुरै अन्धकारमय र अस्तव्यस्त थियो । त्यहि अस्तव्यस्ताबाट पृथ्वी उत्पन्न भइन् । पृथ्वीले आफुलाई ढाक्नको लागि आकासलाई जन्म दिइन् जसले ब्रह्माण्डमा राज गर्न थाल्यो। पृथ्वीले आकाससँगको समागमबाट १२ जना टाइटनहरू, ३-३ जना सहस्त्रबाहु र एक आँखे असुरहरूको जन्म दिइन् । तर आकासलाई सँधै एउटा चिन्ताले पिरोलिरहन्थ्यो । ठूलो भएपछि आफ्ना सन्तानहरूले आफुलाई विस्थापित गर्लान् कि भनेर चिन्तित हुन्थे उनी । यसलाई रोक्न आकासले हरेक सन्तान जन्मिने वित्तिकै पृथ्वीकै गर्भभित्र धकेलिदिन्थे । यसरी ६ भाइ छोरा र ६ छोरी टाइटन सन्तानहरू पृथ्वीकै गर्भभित्रै ठूला हुन थाले । पृथ्वीलाई असह्य पिडा हुन थालेपछि आकासको बध गर्ने योजनाका साथ एउटा विशाल हँसिया निर्माण गरिन् ।
१२ जना टाइटनहरू मध्येको कान्छो कश्यप अरूभन्दा सुरा र बलिया थिए । माता पृथ्वीको योजना अनुसार आकास पृथ्वीसँग समागमका लागि आएका बेला कश्यपले गर्भ भित्रैबाट आकासको लिङ्ग छेदन गरे । त्यसपछि आकासको लिङ्गबाट रगत र वीर्य पृथ्वीमा मिल्न गयो । रगतबाट काली, भिमकाय र वनदेवी प्रकट भए भने वीर्यबाट उर्वशी उत्पन्न भइन् । पिता आकासले मृत्यु अघि कश्यपलाई “तेरो पनि मेरो जस्तै अन्त्य हुनेछ” भनेर श्राप दिए ।
आकासको बधपछि कश्यपले आफ्ना टाइटन दाजुदिदीहरूलाई पृथ्वीको गर्भबाट मुक्त गरे तर सहस्त्रबाहु र एक आँखे असुरहरूलाई भने क्याम्पे ड्रागनको सुरूक्षामा टार्टारस् बन्दीगृहमा राखिरहे। त्यसलगतै, बहिनी अदितीसँग विवाह गरेपछि अन्य टाइटनहरूसँग मिलेर उनले ब्रह्माण्डमा राज्य गरे । उनको शासनकालमा सृष्टि ठीकै चलिरह्यो तर पिताको श्रापले उनलाई बेला बेलामा पिरोलिरहन्थ्यो । आफ्ना सन्तानहरूले ठूलो भएपछि आफुलाई विस्थापित गर्लान् कि भनेर उनी चिन्तित भइरहन्थे । आफ्नो पिताकै जस्तो नियती आफुले पनि भोग्नु नपरोस् भनेर कश्यपले पत्नी अदितीबाट जन्मेका यम, समुद्र, देवी सची, सुरभि र कुमारी गरी सबै पाँचवटा बालदेवताहरूलाई पालैपालो निलिदिए ।
छैठौँ सन्तान गर्भमा आएपछि अदितीले उसलाई बचाउन माता पृथ्वीसँग मिलेर योजना बनाइन् । क्रेते टापुमा अदितीले देवेन्द्रलाई जन्म दिइन् । अदितीले देवेन्द्रलाई इदा पर्वतको गुफामा लुकाएर राखिन् जहाँ वनदेवीले उनलाई बाख्राको दूध पिलाएर हुर्काइन् । अनि कश्यपलाई छैठौँ सन्तानको रूपमा कपडामा बेरेको ढुङ्गाको बच्चा दिएर झुक्याइन् जसलाई उसले यसअघिका सन्तानहरूलाई जस्तै एकै गाँसमा निलिदिए ।
देवेन्द्र ठूलो भएपछि आफ्ना दाजुदिदीहरूलाई पिता कश्यपले निलेको र ब्रह्माण्डमा अत्याचार मच्याएको कुरा बुझ्दै गए। ब्रम्हाण्डलाई कश्यपको अत्याचारबाट मुक्त पार्न उनीसँग युद्ध गर्नुपर्ने कुरा महसुस भयो । तर पिता कश्यपसँग सबै दाजु टाइटनहरूको साथ रहेकोले उनी एक्लैले युद्ध जित्न सक्ने सम्भावना थिएन । त्यसैले हजुरआमा पृथ्वीको सल्लाहमा एकदिन भेष बदलेर उनी पिता कश्यपको दरबारमा रक्सी र तोरीको झोल लिएर गए । उक्त मिश्रण खाए अजेय हुने कुरा भेष बदलेको देवेन्द्रबाट सुनेपछि कश्यपले हौसिएर एकै घुड्कीमा सबै सिद्धाए । उक्त मिश्रणको प्रतिक्रियास्वरूप कश्यपलाई बान्ता भयो र उनले धेरै पहिले निलेका सबै ५ बालदेवताहरू वयंस्करूपमा जीवितै बाहिर आए ।
त्यहाँबाट भागेर सबै देवाताहरू ओलम्पस पर्वतमा गए । देवताहरूवीच लामो छलफल भयो । आफ्नो हक अधिकार प्राप्तीका लाग पिता कश्यप र अन्य टाइटनहरू विरूद्ध देवताहरूले युद्धको शंखनाद गरे ।

युद्ध अवश्यम्भावी रहेपछि टाइटनहरूकावीच पनि खैलाबैला मच्चियो । सत्यवती सहित टाइटन दिदीबहिनीहरू र जेठो दाजुले युद्धमा भाग नलिने निर्णय सुनाए । सत्यवती पुत्र मातरिश्वन र अपिमथलाई पनि युद्धमा सहभागी हुन दिइएन । बरू भाइ कश्यपले छोराहरूमाथि अत्याचार गरेको निश्कर्ष निकाल्दै जेठा दाजुले आफ्ना छोरानातिहरूलाई देवेन्द्रको पक्षमा युद्ध लड्न पठाए । नाति विजय त देवेन्द्रको रथको सारथी भएर युद्ध लड्ने भए । उता टाइटनहरूका तर्फबाट पनि दोश्रो पुस्ताका एकलव्य प्रधानसेनापतिमा नियुक्त भए । युद्धका लागि देउताहरूले ओलम्पस पर्वतमा सिविर बनाए भने ओथ्रिस् पर्वतमा टाइटनहरूले किल्ला गाडे।
टाइटन र देवताहरू बीच भिषण महायुद्ध चल्यो । कहिले टाइटनको पल्ला भारी त कहिले देवताहरूको पल्ला भारी भयो । तर दस वर्षसम्म लगातार युद्ध गर्दा पनि कसैको जयपराजय भएन ।त्यसपछि पृथ्वीले देवेन्द्रलाई कश्यपबाट बन्दी भएका काकाहरू सहस्त्रबाहु र एकआँखे असुरहरूलाई रिहा गरे जित सुनिश्चत हुने सल्लाह दिइन् । देवेन्द्रले क्याम्पे ड्रागनको संहार गरी काकाहरूलाई टार्टारस् बन्दीगृहबाट मुक्त गरे जुन दसवर्षे युद्धको अ
न्त्य गर्न निर्णायक साबित भयो । हातहतियार बनाउन सिपालु एक आँखे असुरबाट देवेन्द्रले चट्याङ्ग प्रहार गर्ने बज्र, समुन्द्रले शक्तिशाली त्रिशुल र यमले अन्तर्ध्यान हुने मुकुट प्राप्त गरे ।
सहस्त्रबाहुको पराक्रम र एक आँखे असुरबाट प्राप्त बज्रको सहायताले पिता कश्यप र टाइटनहरूमाथि अन्ततः देवेन्द्रले विजय हासिल गरे अनि दस वर्षे युद्ध समाप्त भयो । युद्धमा भाग लिएका सबै टाइटनहरूलाई टार्टारस बन्दीगृहका बन्दी बनाएर राखियो जसको द्वारपालको रूपमा सहस्त्रबाहुलाई नियुक्त गरियो । टाइटनहरूको प्रधानसेनापति एकलव्यलाई अनन्तकालसम्म ब्रह्माण्डालाई आफ्नो काँधमा बोक्ने सजाय सुनाइयो । युद्धमा भाग नलिएका टाइटन दिदीबहिनीहरूलाई पुर्ववत् सम्मान दिइयो । त्यसैगरी, युद्धमा भाग नलिएका मातरिश्वन र अपिमथलाई पृथ्वीमा जीवन सिर्जना गर्न जिम्मेवारी दिइयो।
टाइटनहरूसँगको युद्ध समाप्त भएपछि देवेन्द्र र उनका दाजुहरू समुद्र र यमबीच ब्रह्माण्डमा अब कसले राज्य गर्ने भन्ने विषयमा छलफल भयो । छलफल पछि ब्रह्माण्डलाई आकास, पाताल र जल गरी तीनभागमा विभाजन गरी चिठ्ठा गर्ने सहमती भयो । पाताल यमराजलाई, जल समुद्रदेवलाई र आकास देवेन्द्रको भागमा पर्यो । पृथ्वीलाई भने भाग नलगाई तीनैजनाकै साझा हुने तय भयो। देवेन्द्रले दिदी देवी सचिलाई रानी बनाई ओलम्पस पर्वतमा स्वर्गको निर्माण गरी देवताहरूको राजा भएर बसे।

मिथक पात्रहरू परिचय
| ग्रीक नाम | नेपाली नाम | परिचय |
| Uranus | आकास | टाइटन लगायत थुप्रै जीवहरूका पिता |
| Gaea | पृथ्वी | टाइटन लगायत थुप्रै जीवहरूका माता |
| Titan | टाइटन | आकास र पृथ्वीका सन्तानहरू, देवताहरूभन्दा अघिको पुस्ता । |
| Hekatonkheires | सहस्त्रबाहु असुर | आकास र पृथ्वीका सन्तानहरू, टार्टारस् बन्दीगृहको द्वारपाल |
| Cyclopes | एक आँखे असुर | आकास र पृथ्वीका सन्तानहरू, देवताहरूको हातहतियार निर्माणकर्ता |
| Cronus | कश्यप | कान्छो टाइटन, देवेन्द्रको पिता |
| Rhea | अदिती | कश्यपकी बहिनी र पत्नी, देवेन्द्रकी माता |
| Erinyes | काली | आकासको रगत पृथ्वीका खसेपछि उत्पन्न भएकी, प्रतिशोधकी देवी |
| Gigantes | भिमकाय | आकासको रगत पृथ्वीका खसेपछि उत्पन्न भएको प्राणी |
| Meliae | वनदेवी | आकासको रगत पृथ्वीका खसेपछि उत्पन्न भएकी, प्रकृतिकी परी |
| Aphrodite | उर्वशी | आकासको वीर्य पृथ्वीका खसेपछि उत्पन्न भएकी अप्सरा |
| Zeus | देवेन्द्र | कश्यप र अदितीका कान्छा पुत्र, स्वर्गको राजा |
| Hera | देवी सची | देवेन्द्रकी कान्छी दिदी र पत्नी, स्वर्गकी रानी |
| Poseidon | समुद्रदेव | देवेन्द्रका माहिला दाजु र समुद्रको राजा |
| Hades | यमराज | देवेन्द्रका जेठा दाजु र पातालको राजा |
| Hestia | कुमारी | देवेन्द्रकी जेठी दिदी र चुल्होकी देवी |
| Demeter | सुरभि | देवेन्द्रकी माइली दिदी, कृषि र फसलकी देवी |
| Themis | सत्यवती | कश्यपको बहिनी र मातरिश्वनकी माता, न्यायकी देवि |
| Prometheus | मातरिश्वन | सत्यवतीका पुत्र, स्वर्गबाट अग्नी चोरेर मानवलाई दिएका देवता |
| Epimethus | अपिमथ | मातरिश्वनका भाइ |
| Nike | विजय | जेष्ठ टाइटनका नाती, देवेन्द्रका सारथी |
| Atlas | एकलव्य | टाइटनहरूको सेनापती, ब्रम्हाण्डलाई काँधमा बोक्ने सजाय पाएका |
| Hephaestus | विश्वकर्मा | देवी सचीका पुत्र, देवताहरूका प्रमुख कालिगढ |
