टाइटनहरू माथि विजय प्राप्त गरेपछि सत्यवतीका पुत्रहरू मातरिश्वन र अपिमथलाई पृथ्वीमा जीवनको सिर्जना गर्ने जिम्मेवारी दिइयो । धर्तीमा सिर्जना हुने विभिन्न जीवहरूलाई दिनको लागि स्वर्गका देवीदेवताहरूले विभिन्न गुणहरू उनीहरूलाई प्रदान गरे ।
पृथ्वीमा पुगेपछि दुवैले आ-आफ्नो काम सुरू गरे । अपिमथ आफ्ना दाजु जस्ता तीक्ष्ण थिएनन् । अलि हडबढे स्वभाव भएका अपिमथले कुनै योजना विना जंगलमा बस्ने विभिन्न जीवजन्तुहरू बनाए । देवताहरूबाट प्राप्त विभिन्न गुणहरू प्रदान गरी अपिमथले पानीमा पौडिन सक्ने माछा बनाए, आकासमा उड्न सक्ने चराचुरूङ्गी बनाए । कसैलाई छिटो छरितो गुण दिए, कसैलाई बल र शक्ति दिए । कसैलाई तीखा तीखा दाँत दिए त कसैलाई लामा लामा नङ्ग्रा दिए । कसैलाई पखेटा दिए त कसैलाई ज्यान ढाक्ने बाक्लो भुत्ला दिए ।
भाइले उता स्वर्गबाट ल्याएका गुणहरू मनमौजी बाँढिरहेका बेला मातरिश्वन भने धर्तीकै सुन्दर सिर्जना मनुष्य बनाउन तल्लिन थिए । उनले माटोबाट स्वर्गका देवता जस्तै देखिने मुर्ती बनाए । देवेन्द्र पुत्री दुर्गाले त्यसमा प्राण भरिन् । मनुष्य तयार हुने बेलासम्म अपिमथले स्वर्गबाट ल्याएका सबै गुणहरू बाँढेर सकिसकेछन्, बाँकी केहि थिएन। धर्तीका अन्य जीवहरू बलिया र फुर्तिला भइसकेका बेला उनले सिर्जना गरेको मानव भने नाङ्गो र कमजोर थियो । मातरिश्वन विश्मयमा परे ।
आफ्नो सिर्जनालाई बचाउन मातरिश्वन आफैले मनुष्यलाई उठाएर देवता जस्तै दुई खुट्टाले उभिएर हिड्न सिकाए । उनले मनुष्यलाई आगो दिए । आगोसँगै मानवसभ्यता सूरु भयो । उनले मनुष्यलाई फलामबाट हातहतियार बनाउन सिकाए । हतियारको प्रयोग गरी वन्यजन्तुहरूसँग लड्न सिकाए । जाडोमा आगो तापेर शिशिर यामसँग जुध्न सिकाए । खेती गरेर उब्जनी लिन सिकाए । विस्तारै मनुष्यहरू अरू जीवहरूभन्दा उत्कृष्ट बन्दै गए ।
धर्तीका अन्य प्राणीहरू चार खुट्टाले हिड्ने गरेको देखिरहेका देवेन्द्रलाई मनुष्यले देवताहरू जस्तै दुई खुट्टाले हिँडेको पटक्कै मन परेन । देवता जस्तै देखिने हो भने मनुष्यले प्रत्येक सिकारको भोग पहिला आफुलाई लगाउनु पर्ने उर्दि जारी गरियो । आफ्ना काकाबाउहरूलाई देवेन्द्रले टार्टारस बन्दीगृहमा बन्दी बनाएका कारणले पनि होला मातरिश्वनलाई देवताहरूभन्दा मनुष्य अति प्रिय थियो । त्यसैले देवेन्द्रलाई सिकारको भोग लगाउँदा एउटा जुक्ती लगाए । एक भागमा हड्डीवरिपरि रसिलो बोसो लेपन गरे भने अर्को भागमा बाहिरी खोस्टा भित्र मासु नै मासु खाँदेर परिकार बनाए । अनि दुई भाग मध्ये एक रोज्न देवेन्द्रलाई दिइयो । देवेन्द्रले पहिलो भाग रोजे जुन बाहिर हेर्दा रसिलो भए पनि भित्र हड्डी नै हड्डी थियो । भविष्यमा पनि अब मनुष्यले आफुलाई हड्डी नै भोग लाउने भए भनेर देवेन्द्रले आफुमाथि छल भएको थाह पाए । मातरिश्वनसँग भन्दा मनुष्यसँग निकै क्रोधित भए । मनुष्यलाई सर्बोत्कृष्ठ प्राणी बनाएको यहि आगोले हो भनेर उनी मनुष्यहरूबाट आगो खोसेर स्वर्ग लिएर गए ।

आगोविना मनुष्य फेरी कमजोरतुल्य भयो । आफ्नो सिर्जनाको यस्तो बेहाल देखेपछि मातरिश्वनले स्वर्गबाट आगो चोरेर मनुष्यलाई दिने निर्णय गरे । तर स्वर्गबाट चोरी गर्नु त्यति सजिलो कुरा थिएन । तर पनि उनले एउटा जुक्ति निकाले। स्वर्गका देवीदेवताहरू देवेन्द्रको सभामा रहेका बेला उनले सुनौलो रंगको स्याउलाई एउटा सूचना सहित सभाकोबीचमा फालिदिए, जसमा लेखिएको थियो, “सबैभन्दा सुन्दर देवीकोलागि” । त्यो देखेर स्वर्गका सबै देवीहरू स्याउ लिन तँछामछाड गरे । अनि देवताहरू पनि त्यस्तो दृश्य हेरेर रमाइलो लिइरहेका बेला विश्वकर्माको आरनबाट आगो चोर्न मातरिश्वन सफल भए । आगोलाई धर्तीमा ल्याएर उनले मनुष्यलाई फेरि दिए । धर्तीका मनुष्य कहाँ आगो फेरि पुगेको समाचार पाए पछि देवेन्द्र झनै क्रोधित भए । मातरिश्वन र मनुष्य दुवैलाई कठोर सजाय दिने निर्णयमा उनी पुगे ।
मातरिश्वनले धर्तीमा पुरुष मात्रै बनाएका थिए । देवेन्द्रले विश्वकर्मालाई स्त्री मनुष्य बनाउन लगाए जस्को नाम पान्डोरा राखियो। माटोबाट बनेकी पान्डोरालाई दुर्गाले सृंगार गरेर अति सुन्दर बनाइदिइन् । उर्वशीले पुरूषमा कामाक्षा उत्पन्न गराउने कला सिकाइन् । अन्य देवी देवताहरूले पनि उनलाई गरगहनहरू, मृदुस्वर, चञ्चलता, कोमलता र मोहिनी विद्या दिए । पृथ्वीमा पठाउनु अघि देवेन्द्रले उनलाई कहिले पनि नखोल्नु भनि एउटा बाकस दिएर अपिमथसँग गएर बस्ने आज्ञा दिए।
मातरिश्वनले भाइ अपिमथलाई देवताहरूले दिएको कुनै पनि कुरा ग्रहण नगर्नु भनि सम्झाएका थिए । तर पान्डोराको सौन्दर्यको अगाडी अपिमथको केहि सिप लागेन। अन्ततः उनले पान्डोरासँग विवाह गरे ।
दिनहरू बित्तै जाँदा पान्डोरालाई देवेन्द्रले दिएको बाकसको सम्झना आयो । देवेन्द्रले बाकस किन नखोल्नु भनेका होलान् भनेर कौतुहलता झन् झाङ्गिदै गयो। एकदिन कोहि नभएका बेला पान्डोराले बाकस विस्तारै खोलिन् । बाकसको ढकनी खोल्नासाथ भित्रबाट महामारी, भोकमरी, युद्ध, दुःख, पाप, अधर्म लगायत सबै नराम्रा विगतिहरू निस्किएर पृथ्वीभरि फैलियो ।आफ्नो गल्ति महसुस गरेपछि पान्डोराले बाकस बन्द गरिन् । तर त्यति बेलासम्म निकै ढिलो भइसकेको थियो। बाकसमा केबल आसा मात्रै बाँकी थियो ।

चित्रकारः John William Waterhouse(1849-1997)
उता देवेन्द्रले सजायस्वरुप मातरिश्वनलाई पनि ककस पर्वतमा विश्वकर्माले बनाएको बलियो साङ्लाले बाँधेर राख्न लगाए । प्रत्येक दिन एउटा बडेमानको चिल आई मातरिश्वनको छाती चिरेर कलेजो भोजन गर्थ्यो । मातरिश्वन अन्य देवीदेवताहरू जस्तै अमर रहेकाले प्राण भने जाँदैन थियो । अर्को दिन छातीभित्र कलेजो फेरि उम्रिन्थ्यो र चिलका लागि आहारा बन्ने गर्थ्यो । मातरिश्वनको ठाउँमा अरू कोहि मर्न तयार नभएसम्म र कुनै मनुष्यले त्यस चिलको बध गरी विश्वकर्माको त्यो बलियो साङ्लो नतोडेसम्म उनले सजाय अनन्तकालसम्म भोगिरहनुपर्ने देवेन्द्रको श्राप थियो ।
यता मातरिश्वन हरेक दिन चरम पिडामा थिए भने उता मनुष्यहरू पनि भोकमरी, महामारी, अधर्मबाट आक्रान्त बने। देवेन्द्रका श्रापका कारण मनुष्य र मातरिश्वनले यस्तो नियती भोग्नुपर्यो ।

मिथक पात्रहरूको परिचय
| ग्रीक नाम | नेपाली नाम | परिचय |
| Titan | टाइटन | आकास र पृथ्वीका सन्तानहरू, देवताहरूभन्दा अघिको पुस्ता । |
| Aphrodite | उर्वशी | आकासको वीर्य पृथ्वीका खसेपछि उत्पन्न भएकी अप्सरा |
| Zeus | देवेन्द्र | कश्यप र अदितीका कान्छा पुत्र, स्वर्गको राजा |
| Themis | सत्यवती | कश्यपको बहिनी र मातरिश्वनकी माता, न्यायकी देवि |
| Prometheus | मातरिश्वन | सत्यवतीका पुत्र, स्वर्गबाट अग्नी चोरेर मानवलाई दिएका देवता |
| Epimethus | अपिमथ | मातरिश्वनका भाइ |
| Hephaestus | विश्वकर्मा | देवी सचीका पुत्र, देवताहरूका प्रमुख कालिगढ |
| Athena | दुर्गा | देवेन्द्रकी पुत्री, ज्ञान र रक्षाकी देवी |
| Pandora | पान्डोरा | देवेन्द्रले सिर्जना गर्न लगाएकी पहिलो स्त्री मनुष्य |
