मनुष्यको जन्म र पान्डोराको बाकस

4 years ago
गफाडी गाइड

टाइटनहरू माथि विजय प्राप्त गरेपछि सत्यवतीका पुत्रहरू मातरिश्वन र अपिमथलाई पृथ्वीमा जीवनको सिर्जना गर्ने जिम्मेवारी दिइयो । धर्तीमा सिर्जना हुने विभिन्न जीवहरूलाई दिनको लागि स्वर्गका देवीदेवताहरूले विभिन्न गुणहरू उनीहरूलाई प्रदान गरे ।

पृथ्वीमा पुगेपछि दुवैले आ-आफ्नो काम सुरू गरे । अपिमथ आफ्ना दाजु जस्ता तीक्ष्ण थिएनन् । अलि हडबढे स्वभाव भएका अपिमथले कुनै योजना विना जंगलमा बस्ने विभिन्न जीवजन्तुहरू बनाए । देवताहरूबाट प्राप्त विभिन्न गुणहरू प्रदान गरी अपिमथले पानीमा पौडिन सक्ने माछा बनाए, आकासमा उड्न सक्ने चराचुरूङ्गी बनाए । कसैलाई छिटो छरितो गुण दिए, कसैलाई बल र शक्ति दिए । कसैलाई तीखा तीखा दाँत दिए त कसैलाई लामा लामा नङ्ग्रा दिए । कसैलाई पखेटा दिए त कसैलाई ज्यान ढाक्ने बाक्लो भुत्ला दिए ।

भाइले उता स्वर्गबाट ल्याएका गुणहरू मनमौजी बाँढिरहेका बेला मातरिश्वन भने धर्तीकै सुन्दर सिर्जना मनुष्य बनाउन तल्लिन थिए । उनले माटोबाट स्वर्गका देवता जस्तै देखिने मुर्ती बनाए । देवेन्द्र पुत्री दुर्गाले त्यसमा प्राण भरिन् । मनुष्य तयार हुने बेलासम्म अपिमथले स्वर्गबाट ल्याएका सबै गुणहरू बाँढेर सकिसकेछन्, बाँकी केहि थिएन। धर्तीका अन्य जीवहरू बलिया र फुर्तिला भइसकेका बेला उनले सिर्जना गरेको मानव भने नाङ्गो र कमजोर थियो । मातरिश्वन विश्मयमा परे ।

आफ्नो सिर्जनालाई बचाउन मातरिश्वन आफैले मनुष्यलाई उठाएर देवता जस्तै दुई खुट्टाले उभिएर हिड्न सिकाए । उनले मनुष्यलाई आगो दिए । आगोसँगै मानवसभ्यता सूरु भयो । उनले मनुष्यलाई फलामबाट हातहतियार बनाउन सिकाए । हतियारको प्रयोग गरी वन्यजन्तुहरूसँग लड्न सिकाए । जाडोमा आगो तापेर शिशिर यामसँग जुध्न सिकाए । खेती गरेर उब्जनी लिन सिकाए । विस्तारै मनुष्यहरू अरू जीवहरूभन्दा उत्कृष्ट बन्दै गए ।

धर्तीका अन्य प्राणीहरू चार खुट्टाले हिड्ने गरेको देखिरहेका देवेन्द्रलाई मनुष्यले देवताहरू जस्तै दुई खुट्टाले हिँडेको पटक्कै मन परेन । देवता जस्तै देखिने हो भने मनुष्यले प्रत्येक सिकारको भोग पहिला आफुलाई लगाउनु पर्ने उर्दि जारी गरियो । आफ्ना काकाबाउहरूलाई देवेन्द्रले टार्टारस बन्दीगृहमा बन्दी बनाएका कारणले पनि होला मातरिश्वनलाई देवताहरूभन्दा मनुष्य अति प्रिय थियो । त्यसैले देवेन्द्रलाई सिकारको भोग लगाउँदा एउटा जुक्ती लगाए । एक भागमा हड्डीवरिपरि रसिलो बोसो लेपन गरे भने अर्को भागमा बाहिरी खोस्टा भित्र मासु नै मासु खाँदेर परिकार बनाए । अनि दुई भाग मध्ये एक रोज्न देवेन्द्रलाई दिइयो । देवेन्द्रले पहिलो भाग रोजे जुन बाहिर हेर्दा रसिलो भए पनि भित्र हड्डी नै हड्डी थियो । भविष्यमा पनि अब मनुष्यले आफुलाई हड्डी नै भोग लाउने भए भनेर देवेन्द्रले आफुमाथि छल भएको थाह पाए । मातरिश्वनसँग भन्दा मनुष्यसँग निकै क्रोधित भए । मनुष्यलाई सर्बोत्कृष्ठ प्राणी बनाएको यहि आगोले हो भनेर उनी मनुष्यहरूबाट आगो खोसेर स्वर्ग लिएर गए ।

मातरिश्वनले स्वर्गबाट आगो चोरेर धर्तीमा ल्याए चित्रकारः Jan Cossiers (1600–1671)
मातरिश्वनले स्वर्गबाट आगो चोरेर धर्तीमा ल्याए चित्रकारः Jan Cossiers (1600–1671)

आगोविना मनुष्य फेरी कमजोरतुल्य भयो । आफ्नो सिर्जनाको यस्तो बेहाल देखेपछि मातरिश्वनले स्वर्गबाट आगो चोरेर मनुष्यलाई दिने निर्णय गरे । तर स्वर्गबाट चोरी गर्नु त्यति सजिलो कुरा थिएन । तर पनि उनले एउटा जुक्ति निकाले। स्वर्गका देवीदेवताहरू देवेन्द्रको सभामा रहेका बेला उनले सुनौलो रंगको स्याउलाई एउटा सूचना सहित सभाकोबीचमा फालिदिए, जसमा लेखिएको थियो, “सबैभन्दा सुन्दर देवीकोलागि” । त्यो देखेर स्वर्गका सबै देवीहरू स्याउ लिन तँछामछाड गरे । अनि देवताहरू पनि त्यस्तो दृश्य हेरेर रमाइलो लिइरहेका बेला विश्वकर्माको आरनबाट आगो चोर्न मातरिश्वन सफल भए । आगोलाई धर्तीमा ल्याएर उनले मनुष्यलाई फेरि दिए । धर्तीका मनुष्य कहाँ आगो फेरि पुगेको समाचार पाए पछि देवेन्द्र झनै क्रोधित भए । मातरिश्वन र मनुष्य दुवैलाई कठोर सजाय दिने निर्णयमा उनी पुगे ।

मातरिश्वनले धर्तीमा पुरुष मात्रै बनाएका थिए । देवेन्द्रले विश्वकर्मालाई स्त्री मनुष्य बनाउन लगाए जस्को नाम पान्डोरा राखियो। माटोबाट बनेकी पान्डोरालाई दुर्गाले सृंगार गरेर अति सुन्दर बनाइदिइन् । उर्वशीले पुरूषमा कामाक्षा उत्पन्न गराउने कला सिकाइन् । अन्य देवी देवताहरूले पनि उनलाई गरगहनहरू, मृदुस्वर, चञ्चलता, कोमलता र मोहिनी विद्या दिए । पृथ्वीमा पठाउनु अघि देवेन्द्रले उनलाई कहिले पनि नखोल्नु भनि एउटा बाकस दिएर अपिमथसँग गएर बस्ने आज्ञा दिए।

मातरिश्वनले भाइ अपिमथलाई देवताहरूले दिएको कुनै पनि कुरा ग्रहण नगर्नु भनि सम्झाएका थिए । तर पान्डोराको सौन्दर्यको अगाडी अपिमथको केहि सिप लागेन। अन्ततः उनले पान्डोरासँग विवाह गरे ।

दिनहरू बित्तै जाँदा पान्डोरालाई देवेन्द्रले दिएको बाकसको सम्झना आयो । देवेन्द्रले बाकस किन नखोल्नु भनेका होलान् भनेर कौतुहलता झन् झाङ्गिदै गयो। एकदिन कोहि नभएका बेला पान्डोराले बाकस विस्तारै खोलिन् । बाकसको ढकनी खोल्नासाथ भित्रबाट महामारी, भोकमरी, युद्ध, दुःख, पाप, अधर्म लगायत सबै नराम्रा विगतिहरू निस्किएर पृथ्वीभरि फैलियो ।आफ्नो गल्ति महसुस गरेपछि पान्डोराले बाकस बन्द गरिन् । तर त्यति बेलासम्म निकै ढिलो भइसकेको थियो। बाकसमा केबल आसा मात्रै बाँकी थियो ।

कौतुहलता थाम्न नसकेपछि पान्डोराले बाकस खोलिन् चित्रकारः John William Waterhouse(1849-1997)
कौतुहलता थाम्न नसकेपछि पान्डोराले बाकस खोलिन्
चित्रकारः John William Waterhouse(1849-1997)

उता देवेन्द्रले सजायस्वरुप मातरिश्वनलाई पनि ककस पर्वतमा विश्वकर्माले बनाएको बलियो साङ्लाले बाँधेर राख्न लगाए । प्रत्येक दिन एउटा बडेमानको चिल आई मातरिश्वनको छाती चिरेर कलेजो भोजन गर्थ्यो । मातरिश्वन अन्य देवीदेवताहरू जस्तै अमर रहेकाले प्राण भने जाँदैन थियो । अर्को दिन छातीभित्र कलेजो फेरि उम्रिन्थ्यो र चिलका लागि आहारा बन्ने गर्थ्यो । मातरिश्वनको ठाउँमा अरू कोहि मर्न तयार नभएसम्म र कुनै मनुष्यले त्यस चिलको बध गरी विश्वकर्माको त्यो बलियो साङ्लो नतोडेसम्म उनले सजाय अनन्तकालसम्म भोगिरहनुपर्ने देवेन्द्रको श्राप थियो ।

यता मातरिश्वन हरेक दिन चरम पिडामा थिए भने उता मनुष्यहरू पनि भोकमरी, महामारी, अधर्मबाट आक्रान्त बने। देवेन्द्रका श्रापका कारण मनुष्य र मातरिश्वनले यस्तो नियती भोग्नुपर्‍यो ।

मातरिश्वनको सजाय चित्रकारः Theodoor Rombouts (1597–1637)
मातरिश्वनको सजाय चित्रकारः Theodoor Rombouts (1597–1637)

मिथक पात्रहरूको परिचय

ग्रीक नाम नेपाली नाम परिचय
Titan टाइटन आकास  र पृथ्वीका सन्तानहरू, देवताहरूभन्दा अघिको पुस्ता ।
Aphrodite उर्वशी आकासको वीर्य पृथ्वीका खसेपछि उत्पन्न भएकी अप्सरा
Zeus देवेन्द्र कश्यप र अदितीका कान्छा पुत्र, स्वर्गको राजा
Themis सत्यवती कश्यपको बहिनी र मातरिश्वनकी माता, न्यायकी देवि
Prometheus मातरिश्वन सत्यवतीका पुत्र, स्वर्गबाट अग्नी चोरेर मानवलाई दिएका देवता
Epimethus अपिमथ मातरिश्वनका भाइ
Hephaestus विश्वकर्मा देवी सचीका पुत्र, देवताहरूका प्रमुख कालिगढ
Athena दुर्गा देवेन्द्रकी पुत्री, ज्ञान र रक्षाकी देवी
Pandora पान्डोरा देवेन्द्रले सिर्जना गर्न लगाएकी पहिलो स्त्री मनुष्य
पान्डोरा