पृथ्वीको उत्पत्ती र देवेन्द्रको उदय

4 years ago
गफाडी गाइड

धेरै पहिलेको कुरा हो । विश्वब्रह्माण्ड पुरै अन्धकारमय र अस्तव्यस्त थियो । त्यहि अस्तव्यस्ताबाट पृथ्वी उत्पन्न भइन् । पृथ्वीले आफुलाई ढाक्नको लागि आकासलाई जन्म दिइन् जसले ब्रह्माण्डमा राज गर्न थाल्यो। पृथ्वीले आकाससँगको समागमबाट १२ जना टाइटनहरू, ३-३ जना सहस्त्रबाहु र एक आँखे असुरहरूको जन्म दिइन् । तर आकासलाई सँधै एउटा चिन्ताले पिरोलिरहन्थ्यो । ठूलो भएपछि आफ्ना सन्तानहरूले आफुलाई विस्थापित गर्लान् कि भनेर चिन्तित हुन्थे उनी । यसलाई रोक्न आकासले हरेक सन्तान जन्मिने वित्तिकै पृथ्वीकै गर्भभित्र धकेलिदिन्थे । यसरी ६ भाइ छोरा र ६ छोरी टाइटन सन्तानहरू पृथ्वीकै गर्भभित्रै ठूला हुन थाले । पृथ्वीलाई असह्य पिडा हुन थालेपछि आकासको बध गर्ने योजनाका साथ एउटा विशाल हँसिया निर्माण गरिन् ।

१२ जना टाइटनहरू मध्येको कान्छो कश्यप अरूभन्दा सुरा र बलिया थिए । माता पृथ्वीको योजना अनुसार आकास पृथ्वीसँग समागमका लागि आएका बेला कश्यपले गर्भ भित्रैबाट आकासको लिङ्ग छेदन गरे । त्यसपछि आकासको लिङ्गबाट रगत र वीर्य पृथ्वीमा मिल्न गयो । रगतबाट काली, भिमकाय र वनदेवी प्रकट भए भने वीर्यबाट उर्वशी उत्पन्न भइन् । पिता आकासले मृत्यु अघि कश्यपलाई “तेरो पनि मेरो जस्तै अन्त्य हुनेछ” भनेर श्राप दिए ।

आकासको बधपछि कश्यपले आफ्ना टाइटन दाजुदिदीहरूलाई पृथ्वीको गर्भबाट मुक्त गरे तर सहस्त्रबाहु र एक आँखे असुरहरूलाई भने क्याम्पे ड्रागनको सुरूक्षामा टार्टारस् बन्दीगृहमा राखिरहे। त्यसलगतै, बहिनी अदितीसँग विवाह गरेपछि अन्य टाइटनहरूसँग मिलेर उनले ब्रह्माण्डमा राज्य गरे । उनको शासनकालमा सृष्टि ठीकै चलिरह्यो तर पिताको श्रापले उनलाई बेला बेलामा पिरोलिरहन्थ्यो । आफ्ना सन्तानहरूले ठूलो भएपछि आफुलाई विस्थापित गर्लान् कि भनेर उनी चिन्तित भइरहन्थे । आफ्नो पिताकै जस्तो नियती आफुले पनि भोग्नु नपरोस् भनेर कश्यपले पत्नी अदितीबाट जन्मेका यम, समुद्र, देवी सची, सुरभि र कुमारी गरी सबै पाँचवटा बालदेवताहरूलाई पालैपालो निलिदिए ।

छैठौँ सन्तान गर्भमा आएपछि अदितीले उसलाई बचाउन माता पृथ्वीसँग मिलेर योजना बनाइन् । क्रेते टापुमा अदितीले देवेन्द्रलाई जन्म दिइन् । अदितीले देवेन्द्रलाई इदा पर्वतको गुफामा लुकाएर राखिन् जहाँ वनदेवीले उनलाई बाख्राको दूध पिलाएर हुर्काइन् । अनि कश्यपलाई छैठौँ सन्तानको रूपमा कपडामा बेरेको ढुङ्गाको बच्चा दिएर झुक्याइन् जसलाई उसले यसअघिका सन्तानहरूलाई जस्तै एकै गाँसमा निलिदिए ।

देवेन्द्र ठूलो भएपछि आफ्ना दाजुदिदीहरूलाई पिता कश्यपले निलेको र ब्रह्माण्डमा अत्याचार मच्याएको कुरा बुझ्दै गए। ब्रम्हाण्डलाई कश्यपको अत्याचारबाट मुक्त पार्न उनीसँग युद्ध गर्नुपर्ने कुरा महसुस भयो । तर पिता कश्यपसँग सबै दाजु टाइटनहरूको साथ रहेकोले उनी एक्लैले युद्ध जित्न सक्ने सम्भावना थिएन । त्यसैले हजुरआमा पृथ्वीको सल्लाहमा एकदिन भेष बदलेर उनी पिता कश्यपको दरबारमा रक्सी र तोरीको झोल लिएर गए । उक्त मिश्रण खाए अजेय हुने कुरा भेष बदलेको देवेन्द्रबाट सुनेपछि कश्यपले हौसिएर एकै घुड्कीमा सबै सिद्धाए । उक्त मिश्रणको प्रतिक्रियास्वरूप कश्यपलाई बान्ता भयो र उनले धेरै पहिले निलेका सबै ५ बालदेवताहरू वयंस्करूपमा जीवितै बाहिर आए ।

त्यहाँबाट भागेर सबै देवाताहरू ओलम्पस पर्वतमा गए । देवताहरूवीच लामो छलफल भयो । आफ्नो हक अधिकार प्राप्तीका लाग पिता कश्यप र अन्य टाइटनहरू विरूद्ध देवताहरूले युद्धको शंखनाद गरे ।

टाइटन र देवताहरूको युद्ध, चित्रकारः Joachim Wtewael (1566–1638)
टाइटन र देवताहरूको युद्ध, चित्रकारः Joachim Wtewael (1566–1638)

युद्ध अवश्यम्भावी रहेपछि टाइटनहरूकावीच पनि खैलाबैला मच्चियो । सत्यवती सहित टाइटन दिदीबहिनीहरू र जेठो दाजुले युद्धमा भाग नलिने निर्णय सुनाए । सत्यवती पुत्र मातरिश्वन र अपिमथलाई पनि युद्धमा सहभागी हुन दिइएन । बरू भाइ कश्यपले छोराहरूमाथि अत्याचार गरेको निश्कर्ष निकाल्दै जेठा दाजुले आफ्ना छोरानातिहरूलाई देवेन्द्रको पक्षमा युद्ध लड्न पठाए । नाति विजय त देवेन्द्रको रथको सारथी भएर युद्ध लड्ने भए । उता टाइटनहरूका तर्फबाट पनि दोश्रो पुस्ताका एकलव्य प्रधानसेनापतिमा नियुक्त भए । युद्धका लागि देउताहरूले ओलम्पस पर्वतमा सिविर बनाए भने ओथ्रिस् पर्वतमा टाइटनहरूले किल्ला गाडे।

टाइटन र देवताहरू बीच भिषण महायुद्ध चल्यो । कहिले टाइटनको पल्ला भारी त कहिले देवताहरूको पल्ला भारी भयो । तर दस वर्षसम्म लगातार युद्ध गर्दा पनि कसैको जयपराजय भएन ।त्यसपछि पृथ्वीले देवेन्द्रलाई कश्यपबाट बन्दी भएका काकाहरू सहस्त्रबाहु र एकआँखे असुरहरूलाई रिहा गरे जित सुनिश्चत हुने सल्लाह दिइन् । देवेन्द्रले क्याम्पे ड्रागनको संहार गरी काकाहरूलाई टार्टारस् बन्दीगृहबाट मुक्त गरे जुन दसवर्षे युद्धको अ

न्त्य गर्न निर्णायक साबित भयो । हातहतियार बनाउन सिपालु एक आँखे असुरबाट देवेन्द्रले चट्याङ्ग प्रहार गर्ने बज्र, समुन्द्रले शक्तिशाली त्रिशुल र यमले अन्तर्ध्यान हुने मुकुट प्राप्त गरे ।

सहस्त्रबाहुको पराक्रम र एक आँखे असुरबाट प्राप्त बज्रको सहायताले पिता कश्यप र टाइटनहरूमाथि अन्ततः देवेन्द्रले विजय हासिल गरे अनि दस वर्षे युद्ध समाप्त भयो । युद्धमा भाग लिएका सबै टाइटनहरूलाई टार्टारस बन्दीगृहका बन्दी बनाएर राखियो जसको द्वारपालको रूपमा सहस्त्रबाहुलाई नियुक्त गरियो । टाइटनहरूको प्रधानसेनापति एकलव्यलाई अनन्तकालसम्म ब्रह्माण्डालाई आफ्नो काँधमा बोक्ने सजाय सुनाइयो । युद्धमा भाग नलिएका टाइटन दिदीबहिनीहरूलाई पुर्ववत् सम्मान दिइयो । त्यसैगरी, युद्धमा भाग नलिएका मातरिश्वन र अपिमथलाई पृथ्वीमा जीवन सिर्जना गर्न जिम्मेवारी दिइयो।

टाइटनहरूसँगको युद्ध समाप्त भएपछि देवेन्द्र र उनका दाजुहरू समुद्र र यमबीच ब्रह्माण्डमा अब कसले राज्य गर्ने भन्ने विषयमा छलफल भयो । छलफल पछि ब्रह्माण्डलाई आकास, पाताल र जल गरी तीनभागमा विभाजन गरी चिठ्ठा गर्ने सहमती भयो । पाताल यमराजलाई, जल समुद्रदेवलाई र आकास देवेन्द्रको भागमा पर्‍यो । पृथ्वीलाई भने भाग नलगाई तीनैजनाकै साझा हुने तय भयो। देवेन्द्रले दिदी देवी सचिलाई रानी बनाई ओलम्पस पर्वतमा स्वर्गको निर्माण गरी देवताहरूको राजा भएर बसे।

मातरिश्वनको सजाय चित्रकार Boris Vallejo(1988)
मातरिश्वनको सजाय चित्रकार Boris Vallejo(1988)

मिथक पात्रहरू परिचय

ग्रीक नाम नेपाली नाम परिचय
Uranus आकास टाइटन लगायत थुप्रै जीवहरूका पिता
Gaea पृथ्वी टाइटन लगायत थुप्रै जीवहरूका माता
Titan टाइटन आकास  र पृथ्वीका सन्तानहरू, देवताहरूभन्दा अघिको पुस्ता ।
Hekatonkheires सहस्त्रबाहु असुर आकास  र पृथ्वीका सन्तानहरू, टार्टारस् बन्दीगृहको द्वारपाल
Cyclopes एक आँखे असुर आकास  र पृथ्वीका सन्तानहरू, देवताहरूको हातहतियार निर्माणकर्ता
Cronus कश्यप कान्छो टाइटन, देवेन्द्रको पिता
Rhea अदिती कश्यपकी बहिनी र पत्नी, देवेन्द्रकी माता
Erinyes काली आकासको रगत पृथ्वीका खसेपछि उत्पन्न भएकी, प्रतिशोधकी देवी
Gigantes भिमकाय आकासको रगत पृथ्वीका खसेपछि उत्पन्न भएको प्राणी
Meliae वनदेवी आकासको रगत पृथ्वीका खसेपछि उत्पन्न भएकी, प्रकृतिकी परी
Aphrodite उर्वशी आकासको वीर्य पृथ्वीका खसेपछि उत्पन्न भएकी अप्सरा
Zeus देवेन्द्र कश्यप र अदितीका कान्छा पुत्र, स्वर्गको राजा
Hera देवी सची देवेन्द्रकी कान्छी दिदी र पत्नी, स्वर्गकी रानी
Poseidon समुद्रदेव देवेन्द्रका माहिला दाजु र समुद्रको राजा
Hades यमराज देवेन्द्रका जेठा दाजु र पातालको राजा
Hestia कुमारी देवेन्द्रकी जेठी दिदी र चुल्होकी देवी
Demeter सुरभि देवेन्द्रकी माइली दिदी, कृषि र फसलकी देवी
Themis सत्यवती कश्यपको बहिनी र मातरिश्वनकी माता, न्यायकी देवि
Prometheus मातरिश्वन सत्यवतीका पुत्र, स्वर्गबाट अग्नी चोरेर मानवलाई दिएका देवता
Epimethus अपिमथ मातरिश्वनका भाइ
Nike विजय जेष्ठ टाइटनका नाती, देवेन्द्रका सारथी
Atlas एकलव्य टाइटनहरूको सेनापती, ब्रम्हाण्डलाई काँधमा बोक्ने सजाय पाएका
Hephaestus विश्वकर्मा देवी सचीका पुत्र, देवताहरूका प्रमुख कालिगढ
ग्रीक मिथक